पौडेललाई देउवाको प्रश्न- हरेक कुरामा भागबण्डा किन खोज्नुहुन्छ ?



काठमाडौं, ६ वैशाख : नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले के गल्ती गरेको भन्दै प्रश्न गरेका छन् । नेविसंघको ५३औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा देउवाले आफूले पार्टीलाई सत्तामा ल्याएर निर्वाचनमा होमिएको बताए ।

 

 

अहिले हरेक प्रदेशमा नेपाली कांग्रेस सरकारमा सहभागी रहेको उनले जनाए । ‘मैले के गल्ती गरे‌ ? कांग्रेस पार्टीलाई सत्तामा ल्याउनु मेरो गल्ती हो ? मैले के बिगारेको छु, झन् रामचन्द्रले त मलाई धन्यवाद भन्नुपर्ने हो,’ देउवाले भने ।

 

पार्टीभित्र हरेक क्षेत्रमा भागबण्डा नखोज्न वरिष्ठ नेता रामचन्द्र पौडेलललाई उनले आग्रह पनि गरे । ‘हरेक कुरामा भागबण्डा किन खोज्नुहुन्छ ? सबै कुरामा भागबण्डा खोज्नुहुन्छ । निर्वाचन गरेर स्वस्थ्य प्रतिस्पर्धा गरेर अघि बढौं । जसले जित्छ त्यसैले नेतृत्व लिन्छ,’ देउवाले भने ।

 

नेविसंघका नेताहरूलाई उनले पढाईमा पनि अब्बल हुन निर्देशन दिए । ‘अत्यन्तै प्रतिस्पर्धाको जमाना आयो । पढाईमा फेल हुने, अनि नेता बन्ने । यसरी कसरी देश हाक्न सक्नुहुन्छ ?,’ देउवाले भने ।

 

अब देश नेविसंघको हातमा आइसकेको भन्दै उनले देश हाक्ने तयारी गर्न निर्देशन दिए । सबैभन्दा ठूलो कुरा एकता भएको भन्दै उनले भने, ‘असमझदारी हुन्छ । एकआपसमा मनमुटाव हुन्छ । त्यसलाई बिर्सिनुपर्‍यो नि । चुनाव हारेको भाेलिपल्ट त्यसलाई बिर्सिहाल्नुपर्‍यो । हार स्वीकार्दैनन कहाँबाट हुन्छ ।’


१९ माघ २०७८

प्रधानमन्त्री देउवाद्वारा ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’ नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा नुवाकोटका किरण गजुरेललाई नियुक्त गर्नुभएको छ । प्रधानमन्त्री देउवाले गजुरेललाई प्रधानमन्त्रीको ‘भाषण, मन्तव्य तथा वक्तव्य विज्ञ’मा मङ्गलबार नियुक्त गर्नुभएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 

त्रिभूवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर गजुरेल राजनीतिक विचार लेखन तथा प्रशिक्षणमा विशेष दखल राख्नुका साथै अनुसन्धानात्मक कार्यमा सक्रिय हुनुहुन्छ । उहाँका विभिन्न अनुसन्धानात्मक कृति प्रकाशित छन् । यसअघि नेपाली कांग्रेसको स्थानीय तह समन्वय विभागको सदस्य रहनुभएका गजुरेलले नेपाली कांग्रेसको १३औँ र १४औँ महाधिवेशनमा कांग्रेस सभापति देउवाको जनसम्पर्क कार्यालयमा रहेर काम गर्नुभएको थियो ।

 

बाढीपीडित युवा – ‘प्रधानमन्त्रीज्यू, अलि ठूलो स्वरमा बोलिदिनुस् न’, प्रधानमन्त्री – ‘ए भाइ, बढ्ता बोल्दैहुनुहुन्छ, चुप लाग्नुस्’

५ कार्तिक २०७८ (नयाँ पत्रीका): बाढीपहिरो प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि भन्दै हेलिकोप्टरमा सुदूरपश्चिम पुगेका प्रधानमन्त्री शेरबहादुर देउवा बिहीबार करिब पाँच बज्नै लाग्दा कञ्चनपुरको दोधाराचाँदनी नगरपालिका– ९ स्थित अम्बिका माविमा आयोजित कार्यक्रममा सहभागी भए ।

 

करिब १३ मिनेट कार्यक्रममा बसेका उनले डेढ मिनेट सम्बोधन गरे । त्यही क्रममा पनि एक पीडितलाई हप्काए । प्रधानमन्त्री देउवा सम्बोधन गर्न थालेपछि मञ्चको अगाडि बसेका एक पीडित युवाले गुनासो गर्दै भने, ‘सुनिएन प्रधानमन्त्रीज्यू, अलि ठूलो स्वरमा बोलिदिनुस् न’ भनेका थिए । प्रधानमन्त्री देउवा त्यतिमै जंगिए र भने, ‘ए भाइ, तपाईं बढ्ता बोल्दै हुनुहुन्छ, चुप लाग्नुस् ।’ प्रधानमन्त्रीले माइकबाटै हप्काएपछि ती युवा चुपचाप बसे ।

 

सम्बोधनको क्रममा प्रधानमन्त्री देउवाले भने, ‘बाढीपहिरोले देशभर पीडा दिएको छ । धेरै धनजनको क्षति भएको छ । यो टोली काठमाडौं फर्किएपछि सरकारले राहत र पुनस्र्थापनाको प्याकेज ल्याउँछ, पीडितको पीडा सम्बोधन गर्छ । कटान, पटान, डुबान क्षेत्रका जनताको समस्या समाधान गर्न सरकार तयार छ ।’ यति भनिसकेपछि ‘अबेर भइसक्यो, अब म लागेँ’ भन्दै प्रधानमन्त्री विद्यालय प्रांगणमै रहेको हेलिकोप्टर चढेर कैलालीको धनगढीतर्फ लागे ।

Comments Box