आँटिली र विद्रोही मीना



 

एसएलसी दिन भनेर गाउँघरको स्कुलका विद्यार्थीहरु सदरमुकाम स्याङ्जा बजारमा डेराडन्डा जमाएर बसेका थिए । पढ्ने काम मुख्य थियो । कताकति बजारतिर निस्कने वा कुनै कार्यक्रम सभा समारोह भए हेर्न जाने पनि गर्थे विद्यार्थी । मुडफ्रेस हुन्थ्यो । एक दिन पञ्चायतकालका रवाफिला प्रधानमन्त्री सूर्यबहादुर थापा सदरमुकाम आए । उनलाई हेर्न भएभरका मान्छे जम्मा भए । प्रधानमन्त्री चढेर आएको हेलिकोप्टर हेर्न पाउनु पनि अहोभाग्य भइहाल्यो ! कति स्वागतको लाइनमा बसे । कति बारीको डिलैबाट हेर्दै थिए । जसै प्रधानमन्त्री थापा कार्यक्रमका लागि अघि बढे, बाजा बज्यो, फूलमाला बर्सिए, नमस्कार हात जोडिए । स्वागतकै भिडमा एउटी किशोरी पनि थिइन् । तिनका हातमा स्वागतका लागि फूल थिएनन् । नमस्तेका लागि पनि ती हात उठेनन् ।

 

 

किन, किन प्रधानमन्त्री थापाप्रति ती किशोरीलाई सम्मान जागेन । त्यसो त १० कक्षा पढिरहँदा उनलाई ती प्रधानमन्त्रीले जनताको हित गरेनन् र गर्ने शासन ल्याउन दिएनन् भन्ने ज्ञान भइसकेको थियो । स्याङ्दा फेदीखोलाको सिद्धार्थ माविका विद्यार्थीलाई पढाइसँगै राजनीतिमा चासो थियो । पाकिस्तानमा नेता जुल्फीकर अलि भुट्टोलाई फाँसी दिए अरे भन्ने खबरले काठमाडौंका विद्यार्थीमा आएको तरंग फेदीखोलासम्म आइपुगेको थियो । आन्दोलनको लहरमा मिसिएर फेदीखोलाका विद्यार्थीहरुले एकखाले तरंग गाउँमा पनि ल्याएका थिए । मट्टिखानतिरबाट त्यो स्कुलमा आउने एकजना विद्यार्थी हितकाजी गुरुङमा प्रशस्त राजनीतिक चेत विकास भइसकेको थियो । साथीभाइ सबैलाई उनले आफ्नो विचारबाट प्रशिक्षित गराइसकेका थिए । ती किशोरीलाई पनि । चेतन÷अवचेतन मनमा गढेको त्यही विचारका कारणले सदरमुकाम आएका प्रधानमन्त्रीको सम्मानमा ती किशोरी मीनाकुमारी गुरुङका हात उठेनन् ।

 

 

 

बाबु ब्रिटिस लाहुरे थिए । ब्रिटिस सेनामा पनि गोर्खा मेजर भएका । पोस्टिङ हङकङमा भएको थियो । जहान केटाकेटी त्यतै लगेका थिए । त्यसबीचमै २ वर्षलाई बेलायत सरुवा भयो । अनि परिवार नेपाल पठाए । छोरीलाई फेदीखोला राखेर पढाउने बन्दोबस्ती मिलाए । फूपूको घर बसेर मीनाले पढ्न थालिन् । संगत हितकाजी गुरुङहरुसँग भयो । राजनीतिक चेतना भरिँदै—भरिँदै गयो । स्कुलमा जतिजति राजनीतिक कुराकानी र गतिविधि हुन थाले उनलाई हङकङको याद पनि आयो । सत्तरीको दसकतिर हङकङमा उनी घरमा श्यामश्वेत टिभी हेर्थिन् । टिभीमा दिनमा पाँचपटक एकैजना व्यक्ति आइरहन्थे । मान्छेका हुल बाँधेर कुटोकोदालो गरेको, गैंचीबेल्चा समाएको केके, केके देखाइरहन्थ्यो चिनियाँ टिभीले । उनले हङकङ छँदा टिभीमा देखिरहने ती त ठूलो नेता पो रहेछन् भन्ने मेसो पाइन् । पछि मीनालाई थाहा भयो, ती मान्छे त महान् कम्युनिस्ट नेता माओत्सेतुङ रहेछन् ।

 

एसएलसी पास भएर जसै पृथ्वीनारायण क्याम्पस भर्ना भइन्, झन् राजनीतिक माहोलमा परिन् । साथी त उही हितकाजीहरु नै भए । अनि थपिए अरु नेताहरु पनि । २०३६ देखि सुरु भएको विद्यार्थी आन्दोलन मत्थर भएको थिएन । ३७ सालमा जनमत संग्रह नै गराए पनि आन्दोलनको राँको निभेको थिएन । झन्झन् चर्किंदै गएको थियो । जनमत संग्रहका बेला गाउँ गएर हजुरआमा र घरका अरुलाई बहुदलको पक्षमा भोट हाल्न सिकाइसकेकी थिइन् ।

 

 

 

हजुरबा मुखिया थिए । घरमा गाउँघरका मानिसहरुको आउजाउ बाक्लो हुन्थ्यो । अरुहरुका काममा सरसहयोग गरिदिने हजुरबाको गुण मीनाका बा दिलबहादुर गुरुङमा पनि सरेको थियो । हजुरआमा छोराछोरी र नातिनातिनालाई नयाँनयाँ काम गर्न हौस्याउँथिन् । टाठोबाठो भएको हेर्न चाहन्थिन् । मीनाको स्वभाव हजुरआमाले चाहेजस्तै थियो । बाहिरफेरको काममा सक्रिय, देशदुनियाँका बारेमा चासोखाँचो । ३ बिसे हिउँदबर्खामध्ये जीवनको ऊर्जाशील समय मीनाले गाउँसमाज र देशदुनियाँकै काममा सक्रिय भएर बिताएकी छिन् ।

 

 

मीनाको हुलिया छुट्टिने पहिलो तत्व उनको थाइकट कपाल हो । उनकै नाम अरुसँग जुध्दा चिन्ने भनेको त्यही कपाल र चर्काे चर्काे स्वर । थाइकटवाला मीना पनि भन्छन् कतिजना त । आजको जमानामा त केटाकेटी जो कोहीको पनि कपाल छोटोछोटो हुनसक्छ । तर त्यो जमाना बेग्लै थियो । मीना जमानाभन्दा बेग्लै थिइन् । थाइकट कपाल राख्थिन् । आज पनि उनको हुलियाको एउटा चिनो थाइकट कपाल हो । अरु केटीहरु दुईचुल्ठी बाटेर हिँड्थे । मीना भने कपाल काटेर ।

 

 

थाइकट कपाल अनि टिसर्ट र जिनको पाइन्ट । त्यसमाथि बोल्ड । उनको जामाना भनेको केटी मान्छे लजालु हुनुपर्छ । घरभित्रका काममा पोख्त हुनुपर्छ भन्ने हो । तर, उनी परिन् विद्रोही । त्यसमाथि नातिनीको जो इच्छा भनिदिने घरमा हजुरआमा छँदै थिइन् । बा त आफ्नी आमाको कुरा कत्ति काट्दैनथे । आमाले भनेपछि मर्न जा भने पनि जाने खालका उनका बाजस्ता छोरा मीनाले आजसम्म अरु देखेकी पनि छैनन् ।

 

अर्काे एउटा हुलिया नै हुने डाम उनको जिउमा प्रष्ट देखिन्छ । पछाडिपट्टि घाँटीमुनि एउटा डाम बसेको छ । त्यसको एउटा कथा छ । पृथ्वीनारायण क्याम्पसमा आन्दोलन भइरहने । जोकोहीसँग ठाडठाडो कुरा गर्न सक्ने पनि मीना । ढुंगामुढा गर्न तम्सने पनि मीना । क्याम्पस प्रमुख गणेशबहादुर गुरुङ थिए । मीनालाई भान्जी भन्थे । भान्जी पुलिस आउँछ बाहिर ननिस्क है, समातेर लान्छ भनेर सम्झाइरहन्थे । मीना त्यस्ता कुरा टेरपुच्छर लाए पो । जुन दिन पुलिस आउँछ ननिस्क भन्यो त्यही दिन बरु निस्केर आन्दोलन मच्चाउन अग्रसर भइहाल्ने ।

 

 

एक दिन त्यसै गरी आन्दोलनमा लाग्दा पुलिसले कटबाँसको लौरो मीनाको गर्धनमै सुम्ल्याए । खाल्टै प¥यो । साथीहरुले हतारहतार घिसारेर क्याम्पसभित्रै लगे । मलमपट्टि गरे । घाउ गहिरै परेछ । सुर्खेततिर गएर सिएमए पढेर आएका थिए कृष्ण थापा । उनले मीनाको घाउ सफा गर्ने औषधी लाउने गरेर महिनादिनसम्म उपचार गरे । भन्छिन्, ‘बाहिर निस्के पुलिसले समाउँथ्यो, होस्टेलमै बसियो, पानी तताएर सेक्दै, सुई लगाउँदै गरी गरी निको त भयो तर खाल्डो पुरिएन ।’

 

दिउसोफेर पार्टीका कार्यक्रम हुँदैनथे । विद्यार्थीका अधिवेशन पनि रातिराति लुकीलुकी गाउँघरतिर हुन्थे । एकपटकको अधिवेशन घाचोकको भलाबोटमा थियो । मीना साथीभाइ बटुलेर रातिराति त्यता गइन् । बिचबाटोमै पानी प¥यो । पुरुन्चौर र घाचोक जोड्ने साँघु पालैपालो साथीहरुलाई कटाइन् । त्यता कुन्नि कुन प्रोजेक्ट चलिरहेको रहेछ, आर्मीले सुरक्षा दिँदोरहेछ । मीना पानीमा भिजिरहेकी थिइन् । आर्मी छाता ओढेर ड्युटीमा रहेछन् । एकजनाले ओ भाइ किन रुझेको हो भन्दै च्याम्प समातेर तान्यो र छाताको ओत दियो । मीना भने चुप्पै । बोले केटी रहेछ भन्ने थाहा पाउला भन्ने डर । त्यसमाथि अखिलको अधिवेशनमा हिँडेको भन्ने पत्तो पाए ज्यानैसम्म पो जाने हो कि !

 

त्यो अधिवेशनबाट मीना एकताको पाँचौ अखिलको जिल्ला कोषाध्यक्ष भइन् । त्यो ४२ सालको कुरा हो । त्यसअघि नै उनी पृथ्वीनारायण क्याम्पसको स्ववियु सदस्य निर्वाचित भइसकेकी थिइन् । पछि अखिलको प्रारम्भिक कमिटी अध्यक्ष भइन् । अरु छोरी मान्छेले त्यसरी नेतृत्व त्यसअघि गरेका थिएनन् ।

 

 

२०४२ जेठमा पार्टीको प्रशिक्षण वेगनासका गोकर्ण तिवारीको घरमा थियो । गोकर्णका बाले कम्युनिस्टलाई सधैं सेल्टर दिन्थे । एकपटक नेकपा मालेको प्लेनम पनि उनको घरमा भएको थियो । जहाँ सिपी मैनाली, झलनाथ खनाल र मदन भण्डारी पनि आएका थिए । मीनाचाहिँ अर्काे त्यस्तै प्रशिक्षणका क्रममा तिवारी सेल्टरमा पुगेकी हुन् । प्रशिक्षण हुने भएपछि पिएन क्याम्पसबाट कमरेड मानबहादुर जिसीले विद्यार्थीको अगुवाइ गरेर लैजाने भए । फेरि सुरु भयो रातिको यात्रा । टर्च लाइटको भरमा टोली बेगनास हिँड्यो । पोखराबाट काहुँखोला, विजयपुर, काफलघारी, कालिका र माझठाना हुँदै बेगनास पुगे उनीहरु । आजको दिनमा पनि काहुँखोला हुँदै विजयपुर कटेर कालिका उक्लिँदै बेगनास पुग्न डेढ घन्टै लाग्छ मोटरमा । रातिराति हिँडेरै उनीहरु बेगनास पुगे ।

 

 

भूमिगत जामाना । रातिराति पुगे । उज्यालो हुँदा नि बाहिर कोही निस्केनन् । प्रशिक्षण चल्यो, दिनरात । बाहिर निस्कनु त परै घरकै आँटीमा कोपरामा दिसापिसाब ग¥यो, रातिराति निस्किएर फाल्यो । सहभागी ३० जिना थिए । उनीहरुलाई सतर्क बनाउन एउटा घन्टी गोकर्णका बाले राखेका थिए । बाहिरफेर नचिनेको वा शंकास्पद मान्छे आए त्यो घन्टीले संकेत गथ्र्याे ।
प्रशिक्षण सकेपछि केटीहरुलाई एउटा र केटाहरुलाई अर्कै बाटो पठाइएको थियो । जंगलको बाटो, त्यसमाथि अँध्यारो । कटुसको जंगलमा झुसिलकीरा र कमिलाको राज थियो । झुसिलकीरा बिझेर अनुहारै नचिन्ने भएको थियो मीनाको । बेगनास ताल किनारको खुदीको मुहान झरेर बस चढ्दा त फुलेको, सुन्निएको अनुहार के पुलिस के अरु कसैले पत्तै पाएनन् ।
२०४३ को निर्वाचनमा मालेले आफ्ना केही कमरेडहरुलाई जनपक्षीय भनेर उम्मेदवार बनाएको थियो । कास्कीबाट सोमनाथ अधिकारी प्यासी उम्मेदवार थिए । लमजुङमा पृथ्वीसुब्बा गुरुङ । विभिन्न जिल्लामा विभिन्न नेताहरु । त्यो चुनावमा कास्कीको तयारी भेला लामाचौरमा कुनै गौतम कमरेडको घरमा थियो । कमरेड शारद सुवेदी (विनय कमरेड) ले ल कमरेड तपाईंको अक्षर राम्रो छ यो नोट र पोस्टर लेख्नुस् भनेर मीनालाई भने । उनले लेखिन् । चुनावी प्रशिक्षण पनि भयो । बास त्यही घरमा थियो । प्रशिक्षणपछि कमरेडहरु ठाउँ रोजीरोजी सुतेछन् । मीनालाई पोस्टर लेख्दालेख्दै ठाउँ खोज्ने ध्यानै भएन । काम सकिँदा त कमरेडहरु आआफ्नो बन्दोबस्ती गरिसकेका । अँगेनको छेउमा गइन् । ओढ्ने ओछ्याउने केही भेटिनन् । फ्रकभित्र लगाएको स्याक्स फुकालेर आढ्दै भुइँमै पल्टिइन् । बिहान घरभेटी कमरेड भैंसी दुहुन छिटै उठीहाले । मीना पनि उ¥याकजुरुक उठ्दा त लगाएका कपडा सबै माटैमाटो ।
अखिल हुँदा देउसी भैलो खुब खेल्थे । भैलोको टोली नेता मीना हुन्थिन् । बगरबाट ड्यामसाइडसम्म पैदलै गएर भैलो खेल्थे । बाबाका साथीहरु लाहुरेहरु थिए । तिनैतिनैकहाँ गएर भैलो खेलेसि पैसा धेरै उठ्थ्यो । भन्छिन्, ‘सय रुपैयाँको हरियो नोट देख्दा साथीहरु जिब्रो निकाल्थे, त्यो बेला सय रुपैयाँ देख्न मुस्किल ।’ त्यसमाथि सबैतिर गरेर एउटा वर्ष ३ दिन ३ रात भैलो खेलेर २७ हजार रुपैयाँ जम्मा पारेको याद उनलाई अझै ताजा छ । त्यसैबाट केही पैसाले लुगाफाटा किनेर कास्की जेलमा रहेका नेता केपी ओलीलाई दिएको मीना सम्झिन्छिन् । त्यो वर्षको भैलोको एउटा किस्साले त्यतिबेला अखिलहरु कति अनुशासित र किफायती थिए भन्ने देखाउँछ । भैलो खेल्दै ड्यामसाइड पुगेको टोली बस चढेर क्याम्पस भए ठाउँ बगर आउने कुरा भएन । कम्युनिस्टहरु बिलासी र सुखभोगी हुनुहुँदैन भन्ने मतले जितेछ । खगराज अधिकारी भने अघि नै क्याम्पसको होस्टेल पुगेर खाना पकाउन गएछन् । उनी भएभरका साथीभाइका लागि खानासाना पकाएर पर्खिरहेका थिए । यता भैलो टोली भने भैलो खेल्दैखेल्दै माथि आएछ । त्यसो गर्दा त उनीहरु क्याम्पस पुग्दा रातिको ३ बजिसकेको थियो । ‘खगराज कमरेड त साथीहरुलाई कुर्दाकुर्दा चउरमै निदाउनुभएको,’ ती दिन सम्झेर मीनाका आँखा ठूला हुन्छन् ।

 

 

क्याम्पसको स्ववियुमा सँगै सदस्य भएका ओम गुरुङसँग पार्टीले उनको बिहे गरिदिइसकेको थियो । बेला कस्तो थियो भने बिहे पनि पार्टीको अनुमति र स्वीकृतिमा हुन्थ्यो । तर उनीहरुले जनवादी टाइपको बिहेचाहिँ गरेका होइनन् । न जनवादी, न लभम्यारिज न परम्परागत । सायद सबैको मिक्स । ओम देउसी भैलोमा बाजा निकै बजाउन जान्ने कलाकार थिए । भैलोमा उनीहरुका गीत हुन्थेः लहै लहै संगी ज्यू….गरिबका दिन….। २०४१ देखि ४४ सम्म मीनाको नेतृत्वमा अखिलले भैलो खेल्यो । भैलो खेल्ने बेला पृथ्वीनारायण क्याम्पसको छात्रावासको व्याइज होस्टेलको कोठा नम्बर ३० छात्राहरुको कब्जामा हुन्थ्यो । सिनियर छात्र, छात्रा पनि फलानो सरले पढाउनु भएन भन्दै दुखेसो पोख्न आउँथे । मीना त्यस्ता सरलाई डाकाले टिप्थिन् । अनि त सबै थरर ।

 

 

 

 

२०४६ सालपछि मीनाकुमारीले पार्टीको नगर कमिटीमा जिम्मेवारी पाइन् । ३ कार्यकाल एमाले पोखरा नगर कमिटीकै जिम्मेवारी आयो । त्यसपछि २ कार्यकाल जिल्ला कमिटीमा पुगिन् । प्रदेश कमिटीको खुड्किलो पनि पार गरेर मीनाकुमारी एमालेको दसौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य निर्वाचित भएकी छिन् । लगायत ४ दसक पार्टी काममा समर्पित भएर पनि सार्वजनिक जिम्मेवारी भने मीनालाई आइलागेको छैन । २०६४ मा पार्टीले संविधान सभाको समानुपातिक सूचीमा राखेको थियो । तर पार्टी महासचिव माधव नेपाल, नेता केपी ओलीदेखि थुप्रै नेताहरु हारे । पार्टीलाई समानुपातिक भोट पनि कम आयो र मीना संविधान सभा सदस्य हुन पाइनन् । २०७४ सालको प्रदेश सभा निर्वाचनमा साविक प्रदेश ४ को प्रदेश सभा सदस्यको समानुपातिक सूचीमा उनको नाम थियो । तर प्रदेश सांसद हुने अवसर उनलाई जुरेन । मीनासँगै राजनीति गरेका वा उनीपछि लागेकाहरुले सार्वजनिक पदको जिम्मेवारी पाइसकेका छन् । त्यो बेलाका सहकर्मीहरुमध्ये छुटेकी उनीमात्रै एक्ली हुन् ।

 

 

पार्टी पटकपटक सत्तामा पनि गयो । मीना ल्याऊ भन्न गइनन् । पार्टीले लेऊ भनेन । हरेकजसो निर्वाचनमा उनको नाम चर्चामै हुन्छ । तर पालो आउँदैन । नेताका घरदैलो चहार्न जानिनन् वा पार्टीको पुरानो योगदान कसैले सम्झिएन । मीना गुनासो र दुखेसो गर्नेखालकी भने होइनन् । तर अब त उमेर पनि घर्किएर अबअबका चुनावमा पनि पालो नआउने हो कि सार्वजनिक पदमा बसेर आफूले विचार र योजनालाई कार्यान्वयन गर्न नपाइने हो कि ! कताकता मनमा यस्तो विचार पनि नआउने होइन । तर जे छ पार्टीकै भर विश्वास छ उनलाई । यो वर्ष स्थानीय, प्रदेश र प्रतिनिधि सभा निर्वाचन हुँदैछ । फेरि मीना चर्चामा छिन् । स्थानीय तहको निर्वाचन मुखैमा आइपुग्दा उनी पोखरा महानगरपालिकाको सम्भावित मेयरको सूचीमा देखिन्छिन् । यो उनले भनेको कुरा होइन, राजनीतिक वृत्तले नै उनको नाम भनिरहेको छ । ‘पार्टीले विश्वास गरे, पोखराको नेतृत्व लिन सक्छु, पोखरा बनाउने भिजन छ,’ उनी भन्छिन्, ‘तर सबै कुरा पार्टीकै हातमा छ, मौका पाएमात्रै मैले नगरबासीको सेवा गर्ने हो ।’

 

 

बाल्यकालै हङकङमा बिताएकी मीनालाई देशविदेशको विकास देखेर आरिस लाग्छ । हाम्रो पोखरा पनि त्यस्तै हराभरा, सफासुग्धर र व्यवस्थित बनाउन पाए हुन्थ्यो भन्ने लाग्छ । शिक्षा र स्वास्थ्य जस्ता आधारभूत विषयमा कम्युनिस्ट विचार अनुसारै जनतालाई सेवा दिन पाए हुन्थ्यो भन्ने लाग्छ । काममा कुशलतापूर्वक लाग्ने मीनालाई जनप्रतिनिधि भएर पोखरालाई समृद्ध सहर बनाउने मौका मिल्छ कि मिल्दैन ? त्यो समयकै गर्भमा छ ।