मोफसलमा फुटबल; मनाङ मर्स्याङ्दी क्लब इटहरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा



मनाङ मर्स्याङ्दी क्लब अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मनाङले आइतबार कञ्चनजंघा फुटबल क्लब दार्जिलिङलाई २–० को गोल अन्तरले पराजित गर्‍यो ।

 

 

इटहरी रंगशालामा भएको दोस्रो क्वाटरफाइनलमा अफेज ओलावाले गरेको दुई गोल मद्दतमा मनाङ अन्तिम चारमा स्थान बनाउन सफल भयो । पहिलो हाफको १६ औं मिनेटमा शिशिर लेखीबाट पाएको बललाई सदुपयोग गर्दै ओलावाले पेनाल्टी बक्सभित्रबाट प्रहार गरेको बल गोलमा परिणत भयो । दोस्रो हाफको ३३ औं मिनेटमा ओलावाले अर्को गोल गरे ।

 

२७ औं मिनेटमा कमल श्रेष्ठको वान टच प्रहार कञ्चनजंघाका गोलरक्षक निगम सिंहले उत्कृष्ट बचाउ गरे । ३९ औं मिनेटमा ओलावाले नितिश थापाको पासमा गरेको प्रहार असफल भयो । खेलको अन्तिम समयमा अञ्जन बिस्टले गरेको प्रहारले पनि सही दिशा लिन सकेन ।

 

पहिलो खेलको तुलनामा कञ्चनजंघाले खेल सुधार गरे पनि केही राम्रो अवसर सदुपयोग गर्न सकेन । खेलको सातौं मिनेटमा कञ्चनजंघाका अमिर लामाको प्रहार पोस्ट नजिकबाट बाहिरियो । दोस्रो हाफको २९ औं मिनेटमा अनित राईले दिएको पास उत्तम राईले फिनिसिङ गर्न नसक्दा गोल हुन सकेन । मनाङका अलावाले प्लेयर अफ द म्याचमा चुनिँदै १० हजार रुपैयाँ पाए ।

 

मनाङका प्रशिक्षक राजेन्द्र तामाङले शनिबार परेको झरीका कारण खेल सन्तुलित नभएको बताए । एकपछि अर्को गर्दै प्रतिस्पर्धामा सहभागी भइरहेका कारणले खेलाडी थकित भएकाले खेल सोचेजस्तो नभएको थपे । कञ्चनजंघाका खेलाडीहरूमा फिटनेसको समस्या भएका कारण जित निकाल्न सहज भएको उनले बताए ।

 

कञ्चनजंघाका प्रशिक्षक डिनकेर क्षेत्रीले खेलाडीहरूले राम्रो खेल प्रदर्शन गरे पनि स्कोर गर्न चुक्दा पराजित हुनुपरेको बताए । डिफेन्डिङ खेल्दै अट्याक गर्दै खेल्ने रणनीतिअनुसार खेले पनि स्कोरमा चुक्दा प्रतियोगिताबाट बाहिर हुनुपरेको बताए ।


१५ चैत्र २०७८, मंगलवार

दमक गोल्डकपको फाइनलमा मनाङ

मनाङ मस्र्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । दमक-३ स्थित प्रस्तावित मदन भण्डारी रंगशालामा मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १-० को गोल अन्तरले पराजित गर्दै मनाङले फाइनलको यात्रा तय गरेको हो ।

 

मनाङको जितका लागि अफिज ओलावलेले एक गोल गरे । उनले खेलको २९औं मिनेटमा गोल गरेका थिए । ओलावलेले गरेको गोल नै निर्णायक भयो । खेलमा मनाङले थप गोल गर्ने प्रयास गरे पनि सफल हुन सकेन । मानेभञ्ज्याङले खेलमा गोल गर्ने प्रयास गरे पनि सफल भने हुन सकेन ।  मंगलबारको खेलको म्यान अफ दि म्याच अफिज ओलावले भए । उनले नगद दश हजार पुरस्कार पाए । म्यान अफ द म्याजको प्रायोजन इर्क स्पोर्टस् वेर दमकले गरेको हो ।

 

दमक नगरपालिकाको नगर खेलकुद विकास समितिको आयोजनामा भएको प्रतियोगिताको फाइनल खेल शुक्रबार हुनेछ । अब फाइनल प्रवेशका लागि बुधबार गोर्खा ब्वाइज रुपन्देही र डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लबबीच हुने खेल संयोजक मोहन मगरले जानकारी दिए । बुधबार विजयी हुने टिमले फाइनलमा मनाङ मस्र्याङ्दी क्लबसँग खेल्नेछ ।

 

प्रतियोगिताको विजेताले १३ लाख ११ हजार तथा उपविजेताले ६ लाख ११ हजार नगदसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीलाई एक थान मोटरसाइकल दिइने दमक खेलकुद विकास समितिका अध्यक्ष भीमराज चम्लागाईले जानकारी दिए । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, प्रशिक्षक र फरवार्डले जनही नगद २१ हजार रुपैयाँ प्राप्त गर्ने छन् ।


२९ फाल्गुन २०७८

मनाङ पुन: खप्तड गोल्डकप च्याम्पियन

सुदूरपश्चिमको धनगढीमा सञ्चालित खप्तड गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले जितेको छ । शनिबार धनगढी रंगशालामा भएको फाइनल खेलमा मनाङले फ्रेन्डस क्लबलाई ३-१ ले हराउँदै उपाधि जितेको हो । उसले पहिलो संस्करणको पनि उपाधि जितेको थियो । उपाधिसँग मनाङले २१ लाख रुपैयाँ पाएको छ भने उपविजेता फ्रेन्डसले १० लाख रुपैयाँ पाएको छ ।

 

खेलको २२औं मिनेटमा मनाङले दिनेश राजवंशीको गोलमा अग्रता लिएको थियो । ३० यार्ड टाढाबाट पाएको फ्रिकिकमा दिनेशले सुन्दर गोल गरे । ५१ औं मिनेटमा फ्रान्स्वाँले गोल गर्दै फ्रेन्डसलाई १-१ को स्थितिमा ल्याए । तर ७१ औं मिनेटमा ओलावाले आफिज र इन्जुरी समयमा मौसा अवागानाले गोल गर्दै मनाङको जित निश्चित गरे । फ्रेन्डसले खेलको १७ औं मिनेटमा पाएको पेनाल्टीमा फ्रान्स्वाँले गरेको प्रहार मनाङका गोलरक्षक विशाल सुनारले रोकेका थिए । खेलको ८६ औं मिनेटमा मैदानमा उत्पन्न भएको तनावका कारण मनाङका रुपेश केसी र फ्रेन्ड्सका श्यामबाबु क्याप्छाकीले रातो कार्ड पाएका थिए ।

 

मनाङका शिशिर लेखी सर्वोत्कृष्ट खेलाडी भए । उनले एक लाख रुपैयाँ प्राप्त गरेका छन् । मनाङकै विशाल सुनार उत्कृष्ट गोलरक्षक, राजेन्द्र तामाङ उत्कृष्ट प्रशिक्षक, मौसा अवगाना उत्कृष्ट मिडफिल्डर भए । फेन्ड्सका सुरज विश्वकर्मा उत्कृष्ट रक्षक र फेन्ड्सकै जमोउल एन्थोनी फ्रान्कोइस सर्वाधिक गोलकर्ता भए । सुदूरपश्चिम ११ का फागुराम चौधरी उदयमान खेलाडी भए । उनीहरूले जनही २० हजार रुपैयाँ प्राप्त गरेका छन् ।

 

मनाङ मर्स्याङ्दी क्लबले पाँचौं संस्करणको मुख्यमन्त्री सुदूरपश्चिम खप्तड गोल्डकप फुटबलमा विजयी सुरुआत गरेको थियो। धनगढी रंगशालामा बिहीबार उद्घाटन खेलमा मनाङले भारतको दिल्ली फुटबल क्लबलाई २–१ गोलले पराजित गरेको थियो । जितसँगै मनाङले सेमिफाइनल पक्का गरेको थियो ।

 

सुदूरपश्चिम–११ स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगितामा १० टिमको सहभागिता थियो ।


घरेलु टिम झापा गोल्डकपको सेमिफाइनमा

घरेलु टोली झापा–११ फुटबल क्लब पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वार्टर फाइनलमा पाहुना टोली सिक्किमको रेडपान्डा फुटबल क्लबलाई ५–१ को गोल अन्तरले पराजित गर्दै झापा ११ सेमिफाइनलमा प्रवेश गरेको हो ।

 

 

योसँगै पाँचौँ संस्करणको झापा गोल्ड कपको क्वार्टर फाइनलको समीकरणका खेल पूरा भएका छन् । जीतसँगै झापाले शनिबार संकटा क्लबसँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्नेछ । शुक्रबारको पहिलो सेमिफाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र सातदोबाटो युथ क्लबबीच हुने आयोजक समितिका अध्यक्ष विनोद बस्नेतले बताएका छन् ।


मोफसलमा फुटबल; बूढासुब्बा गोल्डकप चैत्र २६ गतेदेखि

अन्तर्राष्ट्रिय आमन्त्रण बुढासूब्बा गोल्डकप प्रतियोगिताको २३औं संस्करण आगामी चैत अन्तिम साता हुने भएको छ । आयोजक धरान फुटबल क्लबले बुधबार धरानमा पत्रकार सम्मेलन गर्दै चैत २६ गतेदेखि वैशाख ३ गतेसम्म प्रतियोगिता सञ्चालन गर्ने जानकारी दिएको हो ।

 

 

धरान–१६ स्थित रंगशालामा हुने प्रतियोगितामा आयोजक टिमसहित ८ टिम सहभागी हुने छन् । प्रतियोगितामा काठमाडौंमा हालै सम्पन्न भएको शहिद स्मारक लिगको उत्कृष्ट ३ वटा टिम सहभागी हुने छन् भने भारतका २ वटा क्लब र मोफसलका अन्य २ उत्कृष्ट क्लब पनि प्रतियोगितामा सहभागी गराउने तयारी भइरहेको छ ।

 

प्रतियोगिताको कुल पुरस्कार राशि १८ लाख १५ हजार रुपैयाँ रहेको छ । आयोजक क्लबका महासचिव प्रताप तामाङका अनुसार उपाधि विजेताले ट्रफी र मेडलसँगै नगद १० लाख रुपैयाँ पाउनेछ । उपविजेताले नगद ५ लाख रुपैयाँ र उत्कृष्ट खेलाडीले नगद १ लाख ५० हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १० हजार रुपैयाँ, प्रतियोगिताको सर्वाधिक गोलकर्ताले नगद २० हजार रुपैयाँ, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही नगद १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

 

आहा रारा गोल्डकप : मनाङ मर्स्याङदीलाई टाई ब्रेकरमा हराउँदै उपाधि एपीएफलाई

मनाङ मर्स्याङदीलाई टाई ब्रेकरमा ५-४ गोल अन्तरले हराउँदै पोखरामा सम्पन्न आहा रारा गोल्डकपको २०औं श्रृंखलाको उपाधि एपीएफले उचालेको हो ।

 

 

निर्धारित ९० मिनेटको खेल २-२ गोलको बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा धकेलिएको थियो । पोखरामा शनिबारको फाइनल खेल अवलोकन गर्न दर्शकको घुइँचो लागेको थियो । कोरोना संक्रमण जोखिमका कारण आयोजकले यसअघिका सबै खेलमा दर्शकहरूलाई प्रवेश दिएको थिएन ।

 

मनाङले त्रिभुवन आर्मी क्लबलाई जितेर फाइनलमा प्रवेश गरेको थियो भने एपीएफले मछिन्द्र क्लबलाई जितेर फाइनलमा प्रवेश गरेको हो ।

आहा रारा गोल्ड कपको ६ वटा उपाधि उचालिसकेको मनाङले यसपटक एपीएफलाई पराजित गर्न सकेन । यससँगै एपीएफको यो पहिलो उपाधि हो । साथै १४ वर्षपछि पहिलो पटक फाइनलमा प्रवेश गरेको हो ।

Comments Box