भक्तपुरमा फोहर पानी प्रशोधन केन्द्र निर्माणको कार्य सुरु



१३ फागुन (न्युज कारखाना) :  भक्तपुर नगरपालिका–७ को हनुमानघाटमा फोहर पानी प्रशोधन केन्द्र निर्माण कार्यको सुरु गरिएको छ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड अयोजना कार्यान्वयन निर्देशनालय, काठमाडौँ उपत्यका फोहर पानी व्यवस्थापन आयोजना र भक्तपुर नगरपालिका–७ को संयोजनमा उक्त निर्माण कार्य सुरु गरिएको हो ।

 

प्रशोधन केन्द्र निर्माणको भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आइतबार उद्घाटन गरेका हुन् । आयोजनाका टोली उपप्रमुख प्रेम श्रेष्ठले प्रशोधन केन्द्रको क्षमता १० लाख लिटर प्रतिदिन र ११।५७ लिटर प्रति सेकेन्ड रहेको बताए ।

हनुमानघाट क्षेत्रमा नदीको जलस्तर उकास्न र वातावरणीय अवस्था सुधार्न नदीको तीन स्थानमा होचो बाँधसमेत निर्माण गरिने उनले बताए । उनले प्रशोधन केन्द्रको निर्माण ६ मार्च २०२२ बाट सुरु भई १५ महिनामा निर्माण सम्पन्न गरी निर्माण कम्पनीले नै पाँच वर्ष सञ्चालन तथा मर्मत सम्भार गर्ने बताए ।

 

आयोजना प्रमुख चन्द्रकुमार पाँ श्रेष्ठले १ एमएलडी क्षमता भएको फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिने र प्रशोधन केन्द्र एमबीबीआर प्रविधिबाट सञ्चालन गरिने जानकारी गराए । उनले अनुमानघाटस्थित पुरानो फोहर पानी प्रशोधन केन्द्रको आधुनिकीकरण तथा क्षमता अभिवृद्धि गर्न यो आयोजना प्रस्ताव गरिएको बताए ।

 

कार्यक्रममा नगर प्रमुख प्रजापतिले स्थानीय तहको निर्वाचनमा भक्तपुरको घोषणापत्रमा दुईवटा पोखरी पुनः सञ्चालन गर्ने उल्लेख गरेको बताउँदै हनुमानघाट फोहर पानी प्रशोधन केन्द्र निर्माणपछि हनुमन्त्ते खोला सुधारसँगै सिंगो भक्तपुरकै स्वरुप फेरिने विश्वास व्यक्त गरे ।

 

प्रशोधन केन्द्रको काम इमानदारीपूर्वक निर्धारित समयभित्र कार्य सम्पन्न हुने आशा व्यक्त गर्दै उनले आयोजना सम्पन्न भइसकेपछि पनि तालिम प्राप्त जनशक्तिबाट यसको नियमित मर्मत सम्भार र सुपरीवेक्षण हुन जरुरी रहेको बताए ।

डिप बोरिङ बाट उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने ?

11 Nov 2021 : काठमाडौँ उपत्यकाभित्रै दैनिक एक करोड लिटर पानी उपलब्ध हुने गरी योजना बनाइएको छ ।

उपत्यकामा मेलम्चीको पानी आउन समय लाग्ने देखिएकाले त्यसको विकल्प खोज्न लागिएको छ । उपत्यकामा भएका स्रोतको संरक्षण र विभिन्न स्थानमा डिप बोरिङ खन्न लागिएको हो । मेलम्ची नआउँदासम्म भएका खानेपानीको स्रोत परिचालन गरेर वितरण गरिने योजना बनाएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी निर्देशक मिलन शाक्यले बताउनुभयो ।

 

 

उहाँका अनुसार अहिले भइरहेका मुहान संरक्षण गरेर त्यहीँबाट बढी पानी लिन लागिएको छ । पुराना ट््युववेल संरक्षण गर्न थालिएको छ । उपलब्ध पानीको परिमाण बढेपछि तालिका हेरफेर गरेर वितरण गरिने उहाँले बताउनुभयो ।

 

 

उपत्यकामा कतिपय स्थानका सेवाग्राहीले आफ्नो घरमा पानी नआएको भनी गुनासो गर्दै आएका छन् । उहाँले भन्नुभयो, “ती स्थानमा पनि ट्याङ्करबाट सार्वजनिक ट््याङ्कीमा भरेर सुख्खा व्यवस्थापन गरिनेछ ।” लिमिटेडले उपत्यकाभित्रै खानेपानीको क्षमता बढाउन १० स्थानमा ट्युववेल खन्न लागेको छ ।

 

भइरहेका मुहान बढाउँदा र डिप ट््यववेल गरी हाल भइरहेको पानीमा एक करोड लिटर थप हुनेछ । हाल उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग छ । वर्षामा झण्डै १७ करोड र हिउँदमा त्योभन्दा कम उपलब्ध गराउन सकिएको लिमिटेडले जनाएको छ ।

 

हिउँद लागेसँगै अहिले पानीको उपलब्धता घटेर दैनिक आठदेखि नौ करोड लिटर पानी वितरण भइरहेको छ । लिमिटेडअन्तर्गत सम्बन्धित शाखाले आफ्नो क्षेत्रमा कुनकुन बार र कति बजे पानी वितरण गरिने भनी फेसबुक पेजबाट तालिका राख्ने गरेको छ ।

 

 

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले वैकल्पिक पानीको स्रोतको पनि अध्ययन गरिरहेको छ । सिस्नेरी, कुलेखानीलगायतका पानीको स्रोतको पनि सम्भाव्यता अध्ययन भइरहेको छ ।

 

लिमिटेडले उपत्यकामा जग्गा उपलब्ध हुनसक्ने ठाउँमा डिप वेल निर्माण गरिरहेको छ । सानेपा–बल्खुमा एउटा निर्माण सकिएको छ भने गोकर्ण, भक्तपुरलगायतका ठाउँमा निर्माण भइरहेको छ ।

 

स्थानीय तहले सार्वजनिक जग्गा उपलब्ध गराउँदा अध्ययन गरेर सम्भावना भएमा खन्ने गरिएको छ । काठमाडौँ उपत्यकामा दशकौंदेखि खानेपानीको समस्या छ । पानीको समस्या हटाउन मेलम्चीको पानी ल्याउन लागिएको थियो ।

 

 

मेलम्चीमा भएको दुर्घटनाका कारण पानी आउन रोकिएपछि पुनः समस्या बढेको छ ।

Comments Box