श्रावण देखी सन्चालनमा आएको न्यू खिम्ती सवस्टेशन आज प्रम देउवाले उद्घाटन गर्दै



स्वदेशी लगानीमा बनेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना (४५६ मेगावाट) अन्तर्गत बनेको नयाँ खिम्ती सबस्टेसनको आज उद्घाटन हुने भएको छ । शनिबार प्रधानमन्त्री देउवा बालुवाटारबाट दोलखाको बिगु गाउँपालिकास्थित माथिल्लो तामाकोसी जलविद्युत आयोजनातर्फ हेलिकप्टरमार्फत निस्किएका छन्। कूल ४५६ मेगावाट क्षमताको सो आयोजनाको अवलोकन र न्यू खिम्ती सब–स्टेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ ।

 


सञ्चालनमा आयो न्यू खिम्ती सवस्टेशन, माथिल्लो तामाकोशीको बिजुली काठमाडौँ ल्याउन सहज

२४ श्रावण २०७८ (रासस) : माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले उत्पादन गरेको बिजुली न्यू खिम्ती सवस्टेशनमा चार्ज गरिएको छ ।स्वदेशी लगानीमा निर्मित देशको हालसम्मकै ठूलो आयोजनाको बिजुली काठमाडौँ उपत्यका भित्र्याउनका लागि महत्वपूर्ण मानिएको उक्त सवस्टेशन सफलतापूर्वक चार्ज भएको माथिल्लो तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।

 

रामेछापको फुलासीमा निर्माण गरिएको उक्त सवस्टेशनको क्षमता २२०÷१३२ केभीको छ । “सवस्टशेन आज चार्ज भई काठमाडौँसम्म बिजुली जोडिएको छ । यो आयोजनाका लागि अर्को महत्वपूर्ण सफलता हो”, श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार ढल्केबरपछि यो सवस्टेशन अर्को ठूलो हो । ढल्केबर ४०० केभी र न्यू खिम्ती २२० केभी क्षमताको हो । प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले लामोसाँघु–काठमाडौँ प्रसारण लाइनमार्फत तत्काल ९० मेगावाट बिजुली प्रवाह गरिएको बताउनुभयो ।

 

कूल ४५६ मेगावाट क्षमताको तामाकोशीका हाल चार युनिट सञ्चालनमा आएका छन् । एउटा युनिटको क्षमता ७६ मेगावाटको छ भने हाल त्यहाँबाट ३०४ मेगावाट बिजुली उत्पादन गरिएको छ । अन्य दुई युनिट पनि छिट्टै सञ्चालनमा ल्याइने तयारीे छ ।

 

उक्त सवस्टेशनमा १०० केभी क्षमताको चार वटा पावर ट्रान्सफर्मर जडान गरिएको छ । जडान गरिएका ट्रान्सर्फरमध्ये तीन वटा नियमित सञ्चालनमा ल्याइने र एउटा जगेडामा राखिनेछ । माथिल्लो तामाकोशीको बिजुली हाल खिम्ती– ढल्केबर प्रसारण लाइनमार्फत ढल्केबर पुगेपछि देशभर वितरण हुन्छ । आयोजना झण्डै ११ वर्षपछि सम्पन्न भएको हो ।

 

शुरुआती लागत रु ३५ अर्ब भए पनि प्राकृतिक विपत्ति, भारतको सीमानाकामा अवरोध तथा डिजाइनमा भएको परिवर्तन, अमेरिकी डलरमा भएको मूल्यवृद्धि तथा ठेकेदारको बदमासीका कारण लागत बढेर रु ८४ अर्बको हाराहारीमा पुगेको छ । यो आयोजनाले स्वदेशी लगानीमै ठूला आयोजना निर्माण गर्न सकिन्छ भन्ने विश्वास दिलाएको छ ।

Comments Box