उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम सुरु



रक्षा मन्त्रालय र नेपाली सेनाले संयुक्त रुपमा सञ्चालन गरेको उच्चस्तरीय राष्ट्रिय सुरक्षा तालिम उद्घाटन गरिएको छ । आइतबार शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा रक्षा सचिव किरणराज शर्माले तालिमको शुभारम्भ गरेका हुन् ।

 

सो समारोहमा बोल्दै शर्माले राष्ट्रिय सुरक्षा, राष्ट्र निर्माण र बृहत्तर राष्ट्रिय हितका आयामहरूबारे ज्ञान र बुझाई आदानप्रदान गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको बताए ।  यस प्रकारको उच्च तहको तालिमले राष्ट्रिय रणनीतिक योजना तथा नीतिहरू तर्जुमा गरी कार्यान्वयन गर्ने तथा राष्ट्रिय सुरक्षाका लागि जनता र सुरक्षासँग सम्बन्धित निकायहरूबीचको समझदारी अभिवृद्धि गर्ने पनि उनले विश्वास व्यक्त गरे ।

 

आगामी चैत्र ११ गतेसम्म सञ्चालन हुने तालिममा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग, विभिन्न मन्त्रालय एवं नेपाल रेडक्रसका वरिष्ठ अधिकारीहरु र संचारकर्मीहरु गरी जम्मा २७ जनाको सहभागिता रहेको सेनाले जनाएको छ ।

Comments Box