उपत्यकाभित्र बर्डफ्लू (HP1-Subtype F5F1)



भक्तपुरमा बर्डफ्लू भेटिएको छ। सूर्यविनायक नगरपालिका-१० स्थित तीन वटा पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको पाइला अग्रिकल्चरल फार्म, शिवराम कवाँको शिखर पोल्ट्री फार्म र हरिकृष्ण कवाँको अजिमा पोल्ट्री फार्ममा बर्डफ्लू भेटिएको हो। ती पोल्ट्री फार्मका कुखुरामा बर्डफ्लू भेटिएको केन्द्रीय पशुपंक्षी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वरले पुष्टि गरेको हो। प्रयोगशालाका अनुसार ती फार्मका कुखुरामा एच पी वानको सवटाइप एफ फाइभ एफ वान भाइरस देखा परेको हो।

 

 

भक्तपुरमा बर्डफ्लू भेटिएको पुष्टि भएसँगै जिल्ला प्रशासन कार्यालयमा बसेको सुरक्षा समितिको बैठकले बर्डफ्लू भेटिएका फार्मका पंक्षी र पक्षीजन्य वस्तु नष्ट गर्ने निर्णय गरेको छ। समितिले सूर्यविनायक–१० स्थित पूर्वमा अजिमा इँटा उद्योगसँगै अरनिको राजमार्ग जाने सडक, पश्चिममा शिखर पोल्ट्री फार्मसँगै रहेको बाटो, दक्षिणमा अरनिको राजमार्गको उत्तरी सिमाना र उत्तरमा पानी ट्याङ्की जाने बाटोको चार किलाभित्रको पंक्षी तथा पक्षीजन्य वस्तुहरू दाना, सुली, अण्डालगायत वस्तुहरू नष्ट गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी माधवप्रसाद शर्माले जानकारी दिए। समितिले भक्तपुरलगायत काठमाडौं उपत्यका भित्रिने नाकाका साथै स्थानीयस्तरमा पनि पशु सेवा विज्ञ केन्द्र ललितपुर, पशु सेवा विभाग, स्थानीय तहको सहकार्य र समन्वयमा पंक्षी, पंक्षीजन्य वस्तुहरू ओसारपसारमा निगरानी बढाउने निर्णय गरेको सहायक प्रजिअ शर्माले बताए।

जाजरकोटमा पनि भेटियो बर्डफ्लु

२६ फाल्गुन २०७७: जाजरकोटको भेरी नगरपालिका–३ सियाँलाका किसानले पालेको लेयर्स कुखुरामा बर्ड फ्लु देखिएको छ । ती कुखुराको नमूना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालाका पिसिआर परीक्षण गर्दा बर्ड फ्लु देखिएको हो ।

बर्ड फ्लु पुष्टि भएपछि उक्त क्षेत्रबाट रोग अन्यत्र फैलिन नदिई तत्काल नियन्त्रण गर्नका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट जनशक्ति परिचालन गरिएको छ ।

पशु सेवा विभागका वरिष्ठ पशु विकास अधिकृत चन्द्र ढकालले रोग नियन्त्रण कार्यलाई सहजीकरण गर्न पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतबाट पशु चिकित्सकको विज्ञ टोली जाजरकोट पठाइएको जानकारी दिए ।

योसँगै माघयता नेपालमा पाँचपटक बर्ड फ्लु देखिएको हो । यसअघि काठमाडौँको तारकेश्वर–१ मा दुईपटक र वडा नं ७ मा एकपटक र सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा एकपटक बर्ड फ्लु देखिएको थियो ।

बर्ड फ्लु देखिएको क्षेत्रका रहेका सम्पूर्ण घरपालुवा पन्छी तथा रोग सार्न सक्ने अन्य वस्तुसमेत नष्ट गरिएको छ । उनका अनुसार रोग नियन्त्रणका क्रममा त्यहाँ रहेका ३०० ब्वायलर कुखुरा, ३३१ लेयर्स कुुखुरा, ७० लोकल कुखुरा, ८८३ अण्डा र २५१ केजी दाना, २०० वटा अण्डाको केटसमेत नष्ट गरिएको छ ।

विभागले रोग देखापरेको क्षेत्रलाई पूर्ण निसङ्क्रमणसमेत गरिएको उनले बताए। विभागले बर्ड फ्लु रोगको सघन निगरानी कार्यलाई नियमित सञ्चालन गर्दै आइरहेको छ । यसअघि पशुपन्छीमा लाग्ने बर्ड फ्लु नेपालमा सन् २००९ देखि देखिन थालेको हो ।

Comments Box