नरभक्षी बाघ नियन्त्रणमा



बाँकेमा पाँचजनाको ज्यान लिएको नरभक्षी बाघलाई नियन्त्रणमा लिइएको छ । वन डिभिजन कार्यालय बाँकेले राप्ती सोनारी गाउँपालिका ६ राप्ती पिडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिइएको हो । वन डिभिजन कार्यालय बाँकेका सूचना अधिकारी गणेशबहादुर खड्काले कार्यालयको जनशक्ति, नेपाली सेना, नेपाल प्रहरी, बाँके राष्ट्रिय निकुञ्ज र स्थानीय सामुदायीक तथा उपभोक्ता समुहको सहयोगमा बाघलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।

 

 

‘‘गत नौ गतेदेखि वनमा डार्ट राखेका थियौँँ । त्यसयता बाघको निगरानी गरिरहेका थियौँ । गएराति डार्ट लाग्यो । त्यसपछि बिहान साढे ९ बजे खोरमा हालेर नियन्त्रणमा लियौँ,” उनले भने, “हामी अहिले बाँके राष्ट्रिय निकुञ्जमा बुझाउन आएका छौँ । राष्ट्रिय निकुञ्जले बाघलाई कहाँ राख्ने भन्ने ठेगान लगाउने छ ।”

 

 

बर्दियाको बाघ सदर चिडियाखानामा कैद

बर्दिया राष्ट्रिय निकुञ्जबाट नियन्त्रणमा लिइएको नरभक्षी बाघलाई ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानामा राखिएको छ । यही चैत २२ गते डार्ट गरी नियन्त्रणमा लिइएको अन्दाजी १० वर्षको भाले बाघलाई चिडियाखानामा आज ल्याईएको हो । निकुञ्जमा कार्यरत हात्तीका पछुवा पुलिसराम थारुको राष्ट्रिय गैँडा गणना कार्यक्रम–२०२१ मा सहभागी भइरहेकै अवस्थामा सोही बाघको आक्रमणबाट यही चैत २२ गते मृत्यु भएको हो ।

 

उक्त बाघलाई त्यसैदिन बेलुका ८ बजे नियन्त्रणमा लिइएको थियो । केही महिनायता बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र र खाता जैविकमार्ग वरपर सिलसिलाबद्ध रूपमा भएका मानव–बाघ द्वन्द्वका घटनाले मानवीय क्षति व्यहोर्नुपरेको थियो । चालु आर्थिक वर्षमा मात्र बाघको आक्रमणबाट १० जना मानिसको मृत्यु हुन पुगेको छ । जसमध्ये तीन निकुञ्जभित्र, पाँच जैविक मार्ग क्षेत्रमा र दुई मध्यवर्ती क्षेत्रको जङ्गलमा भएका हुन् । सिलसिलाबद्ध रूपमा मानव–बाघ द्वन्द्व बढिरहेका बेला सरोकारवाला निकायलाई यो द्वन्द्वको तत्काल समाधान गर्न दबाब बढिरहेको छ । यसै सिलसिलामा गत एक वर्षभित्रमा बर्दियाको विभिन्न स्थानबाट मान्छे खान पल्किएका चार बाघलाई बर्दिया राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेपाली सेना, देवीदत्तगण र नेपाल प्रहरीको संयुक्त प्रयासमा नियन्त्रणमा लिइएको छ ।

 

त्यसमध्ये एक बाघलाई आज चिडियाखानामा ल्याइएको, एक बाघ बर्दियामै राखिएको, एक बाघ केही दिन बाँकेमा राखिएको अवस्थामा फुत्किएर पुनः जङ्गलमै फर्किएको र एक बाघ बूढो भएको र नियन्त्रणमै रहेको अवस्थामा मरेको चिडियाखानाका सूचना अधिकारी लिना चालिसेले जानकारी दिनुभयो ।

Comments Box