सर्वसाधारणका लागि कहिले खुल्लान रत्नमन्दिर र हिमागृह ?



११ फाल्गुन २०७७, मंगलवार: फेवातालको किनारैमा छ, पोखराको राजदरबार । जसलाई रत्नमन्दिर र हिमागृह भनेर चिनिन्छ । राजा महेन्द्रले श्रीमती रत्न राज्यलक्ष्मी शाहको नाममा विसं. २०१३ सालमा बनाउन शुरू गरेका रत्नमन्दिर दरबार २०१५ सालमा बनाउन सकिएको थियो ।

 

कास्की, ९ मङसिर । पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीबाट देखिएको फेवातालको सुन्दर दृश्य । तस्वीर ः कृष्ण दवाडी, रासस

 

राजा महेन्द्रका माइला भाइ हिमालय वीर विक्रम शाहले २०३६ मा हिमागृह बनानुभएको थियो । यी दुई दरबार लेकसाइडमा घुम्ने धेरैले नदेखेको हुनुपर्छ । किनकी, फेवातालको बाराहीघाट गएका जो कोहीले पनि नेपाली सेनाको क्याम्प र ड्युटी बसिरहेका सैनिक देख्न सक्छन् । सेनाले सर्वसाधारणलाई भित्र छिर्न दिँदैनन्, सर्वसाधारण भित्र छिर्न पाउने प्रावधान ट्रष्टले बनाइसकेको छैन । अग्लो पर्खालबीच नेपाली सेनाका जवान ड्युटी बसेको ठाउँबाट रत्नमन्दिर जाने बाटो छ । त्यसभन्दा माथि सडक छ । सडकलाई पर्खाल बनाएर सेना बस्ने ३८ कोठे भवनले छेकिदिएको छ ।

 

यो दरबारभित्र छिर्ने अर्को गेट फेवातालमा माछापुच्छ्रेको छाया हेर्न जाने बाटो बसुन्धारा पार्क जाने बाटोमा छ । यहाँ पनि गेटमै नेपाली सेनाले सुरक्षा दिएको छ । त्यसकारण, यो दरबारभित्र जानु त के बाहिरबाट पनि सर्वसाधारणले देख्न पाएका छैनन् । अहिले पर्यटकलाई विचरण गराउन यो खुला हुनुपर्ने आवाज उठिराखेको छ । पोखरा महानगरपालिका र गण्डकी प्रदेश सरकार आ–आफूले उपयोगमा ल्याउन पाउनुपर्ने अडान राखिरहेका छन् । हुनत् एक वर्ष अघिदेखि रत्नमन्दिर सर्वसाधारणका लागि शुल्क लिएर खुला गर्ने तयारी अन्तिम चरणमा भएको भनेर निकै प्रचार गरियो ।

 

सर्वसाधरण र पर्यटन व्यवसायीले पनि स्वागतयोग्य कदम भनेर प्रशंसा गरे, तर व्यवहारमा त्यो कार्यान्वयन भएन । पोखराको फेवा किनारमा रहेको रत्नमन्दिर भ्रमण वर्ष २०२०लाई लक्षित गर्दै सर्वसाधारणलाई खुला गर्ने भनेर जिम्मेवार पदमा रहेका व्यक्तिले पटकपटक भन्दै आए । गण्डकी प्रदेशका वन, पर्यटन, उद्योग तथा वातावरणमन्त्री विकास लम्सालले नेपाल ट्रष्टसँग सहमति भएको र भ्रमण वर्ष २०२० मा सर्वसाधारणका लागि खुला गरिने गत वर्ष पुसको १० गते रासससँगको कुराकानीमा बताउनुभएको थियो । मन्त्री लम्सालले तत्कालीन नेपाल ट्रष्टका सचिव गजेन्द्र ठाकुरसँगको सहमतिसँगै भ्रमण वर्षमै सर्वसाधारणका लागि खुला गर्ने जानकारी दिनुभएको थियो । नेपाल ट्रष्टका तत्कालीन सचिव ठाकुरले पनि भ्रमण वर्ष २०२० लाई नै लक्षित गरेर रत्नमन्दिर खुलाउन तयारी गरिएको जानकारी गराउनुभएको थियो ।

 

“राजा वीरेन्द्र र उहाँको परिवारको सम्पत्ति नेपाल ट्रष्टमा आएसँगै सर्वसाधारणको हितका लागि यो सम्पत्तिको उपयोग गर्ने हो । यसैअनुरुप रत्नमन्दिर खुल्छ, सञ्चालनको अधिकार सबै नेपाल ट्रष्ट अन्तर्गतनै हुन्छ”, उहाँले गत पुस १० गते नै राससलाई भन्नुभएको थियो । जुन सामाचार ‘भ्रमण वर्षमा रत्नमन्दिर खुला गरिने’ शीर्षकमा छापिएको थियो । उहाँले स्थानीय र प्रदेश सरकारले आफू मातहतमा हुनुपर्छ भने पनि अहिले दिन मिल्ने अवस्था नरहेको बताउँदै भन्नुभएको थियो । “अहिले नै यसको सम्पत्ति हस्तान्तरण हुँदैन । कानूनले दिएको अधिकार ट्रष्टले उपयोग गर्दै आफै मातहतबाट रत्नमन्दिरको सम्पूर्ण व्यवस्थापकीयदेखि अन्य कार्य सञ्चालन हुन्छ”, सो समाचारमा उल्लेख छ । त्यस यता कोभिड– १९ को असरले सबै कुरा ठप्प भयो । भ्रमण वर्ष पनि प्रभावित हुने नै भयो । योसँगै पर्यटन मन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका भानुभक्त ढकाल गत माघ १ गते पोखरा आउनुभएको थियो ।

 

पोखरा पर्यटन परिषद्ले समसामयिक पर्यटनको बारेमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पनि रत्नमन्दिरको बारेमा भन्नुभयो, “पोखरामा रत्नमन्दिरको विषयमा पनि धेरै कुरा उठेको रहेछ, रत्नमन्दिर खुला गर्न, कहाँ गाँठो परेको हो, म फुकाउने प्रयास गर्छु ।” उहाँ मञ्चमा भाषण गरेर गएको पनि एक महिना बढी समय भइसकेको छ, जहाजबाट उडेसँगै उहाँले फेरि रत्नमन्दिर सम्झनुभयो वा भएन अझै पोखरेलीले भेउ पाएका छैनन् । यसैगरी यही फागुन २ गते नेपाल ट्रष्टका अध्यक्षसमेत रहनुभएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले पनि रत्नमन्दिर र हिमागृहको अवलोकन गर्नुभयो । रत्नमन्दिर सर्वसाधरणका लागि खुला गर्नुपर्छ भनेर निकै पहल गरिरहनुभएका गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारी र अन्य सरोकारवालाबीच पनि उपप्रधानमन्त्रीले उस्तै आश्वासन दिनुभयो । यसअघि पनि तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईलेलगायत उच्च पदस्थ सबैले शानका साथ रत्ममन्दिर घुम्ने र आश्वासन दिने गरेका थुप्रै उदाहरण छन् ।

 

तर व्यवहारमा बन्द को बन्द छ रत्नमन्दिर । नेपाल ट्रष्टका उपसचिव रेवतीरमण शर्माले पोखराको फेवा किनारस्थित रत्नमन्दिरको अध्ययनको सम्पूर्ण प्रतिवेदन आइसकेको र परामर्श दाताको प्रस्तुतिपछि यस विषयमा निर्णय गरिने र अहिले अरु कुरा भन्न नसकिने जानकारी दिनुभयो । फेवा किनारको रमणीय वातावरणमा करीब १११ रोपनी क्षेत्रफलमा फैलिएको रत्नमन्दिरमा तत्कालीन राजा महेन्द्रले पोखरा घुम्न आएको बेला त्यो ठाउँ मन परेर २०२९ सालतिर रानी रत्न राज्यलक्ष्मीको नाममा बनाउनुभएको थियो । उक्त भवनमा ११ कोठा छन् । प्रशासनिक भवन, फेवातालसँगै तालघर, नेपाली सेनाका लागि ३८ कोठे लामो भवन रहेको छ । यहाँ राजपरिवारका सदस्य पोखरा आउँदा बस्ने गर्दथे । बङ्गला शैलीको रत्नमन्दिरमा दक्षिण भारतबाट ल्याइएका बेतका खाटलगायतका सामग्रीसहित कलात्मक किसिमले सजावट गरिएको छ । राजा महेन्द्रका माइला भाइ हिमालय वीरविक्रम शाहले पनि रत्नमन्दिर नजिकै बनाएको हिमागृह त्यहाँ देख्न सकिन्छ । यसका अतिरिक्त बैठक कोठा छुट्टाछुट्टै छन् भने भान्छा पनि अलग्गै छन् ।

 

 

दरबारभित्र रहेका सबै सामग्री सुरक्षित राखिएका छन् । सबै सिसी क्यामेराको निगरानीमा छन् । रत्नमन्दिर परिसरबाट फेवाताल पारी रानीवन र माथि विश्वशान्ति स्तुप सुन्दर दृश्य देख्न सकिन्छ । रत्न मन्दिरमा नेपालका पहिलो जननिवार्चित प्रधानमन्त्री बिपी कोइराला पुगेको कुरासमेत बिपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा उल्लेख गर्नुभएको छ । विसं २०५८ मा राजदरबार हत्या काण्ड हुँदा राजा ज्ञानेन्द्र रत्नमन्दिरमै हुनुहुन्थ्यो । यो भवन हाल नेपाल ट्रष्ट मातहतमा छ । नेपाल ट्रष्ट ऐन २०६४ को संशोधित व्यवस्थामा ‘ट्रष्टको सम्पत्ति राष्ट्रियहित अनुकूल तथा ट्रष्टलाई फाइदा हुनेगरी पर्यटकीय र व्यवसायिक कार्यमा सञ्चालन गर्न सकिने’ उल्लेख छ । सो रत्नमन्दिरको ऐतिहासिक महत्व रहेको र यसलाई पर्यटन ‘प्रोडक्ट’ को रुपमा ल्याएर सर्वसाधारणका लागि खुला गर्नुपर्ने भन्दै पर्यटन व्यवसायीले लामो समयदेखि माग गर्दै आएका छन् । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले रत्नमन्दिरको बारेमा पटकपटक आवाज उठाए पनि सम्बन्धित निकायले चासो नदिएको बताउनुभयो । “हामीले निकै लामो समयदेखि आवाज उठाउँदै आएका छौं, सबै नेता मन्त्री आउनुहुन्छ, अवलोकन गर्नुहुन्छ , आश्वासन दिएर जानुहुन्छ तर कार्यान्वयन हुँदैन”, उहाँले भन्नुभयो, “नेपाल ट्रष्टअन्तर्गत रहेका अन्य ठाउँका ऐतिहासिकस्थल सञ्चालनमा आएको तर पोखराको रत्नमन्दिर र हिमागृह सञ्चालनमा देखिएको सुस्तताले हामीमा केन्द्रीकृत मानसिकता नहटेको प्रष्ट हुन्छ ।” उहाँले कोभिड–१९ ले शिथिल बनेका पर्यटनलाई चलायमान बनाउन नयाँनयाँ पर्यटकीय गन्तव्यको खाँचो औल्याउँदै अहिले रत्नमन्दिर खोल्नु निकै उपयुक्त हुने धारणा राख्नुभयो । “अहिले आन्तरिक पर्यटकको चहलपहल बढिरहेको छ । पोखरा नेपालगञ्ज सिधा उडानले पनि ‘कनेक्टिभिटि एक्सेस’ बढाएको छ, हामीले जति सक्दो उति पर्यटकीय गतिविधि र गन्तव्यको प्रचार गर्न सक्यौँ, त्यति लाभ लिन सकिन्छ”, उहाँले भन्नभयो, “रत्नमन्दिर खुला गरेर यसलाई आकर्षक पार्कसँगै तत्कालीन राजाका विभिन्न कुरालाई डकुमेन्ट्रीमार्फत देखाउन सकियो भने इतिहास बुझ्ने अध्ययन थलोको रुपमा यसलाई विकास गर्न सकिन्छ ।” उहाँले पारिवारिक भ्रमणका लागि निकै आकर्षकस्थल हुने जनाउँदै यसले पर्यटकको बसाइँ लम्बाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । तत्काल लाभ लिन सकिने यस्ता ठाउँको निर्णयलाई महत्वदिएर अघि बढ्न सरोकारवाला निकायलाई उहाँको आग्रह छ ।

 

 

गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीले लामो समयदेखि सर्वसाधारणले यसका अवलोकन गर्न पाउनुपर्छ भनेर आफूले पहल गरिरहेको बताउनुभयो । “नेपाल भ्रमण वर्ष २०२० को उद्घाटनबाटै खोल्ने तयारी थियो, केही प्राविधिक कारणले पर स¥यो, त्यसलगत्तै कोभिड– १९ असर प¥यो, अब भने सर्वसाधारणले रत्नमन्दिर र हिमागृहको अवलोकन गर्न छिट्टै पाउनुहुनेछ भन्ने आशा लागेको छ”, उहाँले भन्नुभयो, “ट्रष्टका अध्यक्ष एवं उपप्रधानमन्त्री ईश्वरले पोखरेलले हालै यसको अवलोकन गरेर निकै चासो दिएकाले पनि अब छिट्टै खुल्नेमा आफूहरु आशावादी रहेका छौं ।” उहाँले रत्नमन्दिरमा आकर्षक पार्क बनाउनका लागि आफ्नो संसदीय विकास कोषबाट रु २५ लाख रकम छुट्टाइए पनि रत्नमन्दिर खुला हुन नसक्दा फ्रिज भएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल रत्नमन्दिर हिमागृृह संरक्षणका लागि प्रदेश सरकराले रु एक करोड बजेट छुट्टाएको छ ।

Comments Box