म्याग्दीको टोड्केमा ‘हाइ अल्टिच्युड’ खेलमैदान निर्माण सुरु



म्याग्दीको पर्यटकीयस्थल टोड्केमा ‘हाइ अल्टिच्युड’ उच्च स्थानको खेलमैदान निर्माण सुरुआत भएको छ । समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा रहेको सो स्थानमा रघुगङ्गा गाउँपालिकाले खेलमैदान बनाउन लागेको हो ।

 

म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६, पर्यटकीयस्थल घोडेपानी ।तस्बिर: सन्तोष गौतम/रासस

 

उच्च स्थानका भूगोलमा खेलकूद प्रतियोगिता र प्रशिक्षण सञ्चालन तथा खेल पर्यटनको विकास गर्ने उद्देश्यले खेलमैदान बनाउन लागिएको रघुगङ्गा–५ का वडाध्यक्ष मनबहादुर शेरपुञ्जाले जानकारीदिनुभयो । “गत कात्तिकमा सम्झौता गरेका ठेकेदारले खेलमैदान बनाउन एक्साभेटर परिचालन गरेर जग्गा व्यवस्थापन थालेका छन्,” उहाँले भन्नुभयो “थप पूर्वाधार निर्माण सुरु गर्न ताकेता र समन्वय गरेका छौ ।” टोड्केमा हाई अल्टिच्युड खेलमैदान बनाउन बेनपा–१ को मनिषा निर्माण सेवासँग रु २३ लाख २३ हजार ९१४ मा ठेक्का सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो । खेलमैदान निर्माण गर्न रु ५१ लाख २० हजार ८८० लागत अनुमान गरिएको थियो । ठेक्कामार्फत जग्गा सम्माउने, ग्याबिन पर्खाल निर्माण हुने भएको छ । क्रमागत योजनाको रुपमा आगामी वर्ष थप बजेट विनियोजन गरेर खेलमैदान निर्माणलाई पूर्णता दिइने गाउँपालिकाले जनाएको छ ।

 

रघुगङ्गा, मङ्गला, गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा अवस्थित टोड्केमा हिमाल हेर्दैं खेलकूद प्रतियोगिता र प्रशिक्षण सञ्चालन गर्न मिल्ने गरी आधुनिक तथा व्यवस्थित मैदान निर्माणको कार्य सुरू भएको हो । गुराँसको जङ्गलको बिचमा अवस्थित टोड्केबाट सूर्योदय, धवलागिरि, अन्नपूर्ण रेञ्जका १५ भन्दा बढी हिमाल म्याग्दी, पर्वत र बागलुङको पहाडी भूगोलको मनोरम दृष्य अवलोकन गर्न सकिन्छ । धवलागिरि सेञ्चुरी पदमार्गको प्रवेश विन्दुमा पर्ने टोड्केमा स्वर्गद्वारी आश्रमको शाखा र शिव मन्दिर पनि भएकाले यसको धार्मिक पर्यटकीय सम्भावना समेत छ । स्वर्गद्धारीको शाखा र शिव मन्दिरको जीणोद्वार गर्न विस्तुत परियोजना प्रतिवेदन बनाएर पुरातत्व विभागमा प्रस्ताव गरिएको रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो । टोड्केमा पूर्वाधार बनाउन रघुगङ्गा गाउँपालिकाले खेलमैदानसहित चालू आर्थिक वर्षमा रु एक करोड दुई लाख ८९ हजार ६७७ को लागतमा पदमार्ग, उद्यान र सडक निर्माण सुरु गरेको छ ।

 

 

झिँ गाउँदेखि टोड्के जोड्ने सिद्ध फुटस्टेप र पार्क निर्माण योजनाका लागि गत साउनमा बेनीको खुसी होम बिल्डर्स प्रालिले भ्याट रकमसहित रु ५८ लाख दुई हजार ७३२ मा ठेक्का सम्झौता गरेको थियो । योजनाको कूल लागत अनुमान रु एक करोड एक लाख गरिएको थियो । गाउँपालिकाका इञ्जिनीयर सुदिप गौतमले उकालो बाटोमा दुई मिटर फराकिलो ४२५ मिटर पक्की पदमार्ग, दुई वटा प्रतिक्षालय र दृष्य अवलोकन गर्नेस्थल सहितको उद्यान बनाउन लागिएको जानकारी दिनुभयो । यसैगरी रु ३८ लाख ८० हजार लागत अनुमान गरिएको झिँ–टोड्के सडक निर्माणका लागि बेनीको सम्मान कन्ट्रक्सनसँग रु २१ लाख ६३ हजार ३१ मा ठेक्का सम्झौता भएको छ । सडकलाई फराकिलो बनाउने, ग्रेड, घुम्ती सुधार तथा नाली बनाउने, ढुङ्गा विच्छ््याएर सोलिङ गर्ने योजना छ ।

 

 

पोखरामा ‘सेमी हाइ अल्टिच्युड’ खेल मैदानको शिलान्यास

पोखरा महानगरपालिकाको सबैभन्दा उचाइमा अवस्थित वडा नं २० को मौजामा पूर्वाधारयुक्त ‘सेमी हाइ अल्टिच्युड’ खेल मैदानलगायतका संरचना निर्माण हुने भएको छ ।

 

 

समुद्री सतहबाट एक हजार ६५० मिटर उचाइमा निर्माण गरिने उच्च पर्वतीय खेल मैदानको शनिबार महानगरपालिका प्रमुख मानबहादुर जिसी र गण्डकी प्रदेशसभा सदस्य विन्दुकुमार थापाले एक कार्यक्रमका बीच संयुक्तरूपमा शिलान्यास गर्नुभयो । पोखरा महानगरपालिकाले उच्च पर्वतीय खेल मैदान पूर्वाधार निर्माण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकूदको अभ्यासस्थलका रूपमा विकास गर्ने गरी चालु आर्थिक वर्षमा विनियोजित बजेटबाट काम शुरु गरेको हो । महानगरले पर्वतीय खेल मैदानलाई महानगर गौरवको योजनाका रूपमा लिएको छ । मौजाको तोयँढापडाँडाको ५६ रोपनी क्षेत्रफल जमिनमा महानगरपालिकाले फुटबल, भलिबल, बास्केटबलसहितका खेल पूर्वाधार निर्माणका लागि रु १६ करोडको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरेको महानगर प्रमुख जिसीले जानकारी दिनुभयो । फुटबल मैदान (इलाभेन साइड), बास्केटबल कोर्ट, भलिबल कोर्ट, कपडा फेर्ने कोठा (चेञ्जिङ रुम), दुई हजार दर्शक क्षमताको प्राकृतिक प्यारापिट, चमेनागृह, शौचालयलगायतका पूर्वाधार निर्माण गरिने डिपिआरमा उल्लेख छ । चालु आवमा खेल मैदानका लागि रु ५० लाख बजेट विनियोजन गरिएकामा सो बजेटबाट खेल मैदान सम्याउने र तारबारको काम गरिने प्रमुख जिसीले बताउनुभयो । उहाँले भन्नुभयो, “विश्वकै उत्कृष्ट ठाउँमध्ये पोखरामा खेलकूदको माध्यमबाट पर्यटन प्रवद्र्धनका लागि खेल मैदानले सघाउने छ । सजिलो रूपमा पहुँच पुग्न सक्ने यस ठाउँमा खेल मैदानको निर्माणमा सहयोग गर्र्नु सबै पोखरेलीको दायित्व हो ।” मैदानबाट माछापुच्छ«े तथा अन्नपूर्ण हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ । पोखरा बजार क्षेत्र, मादी गाउँपालिकाको सुन्दरबस्ती तथा हरियाली जङ्गलको सुन्दरताले यस क्षेत्रमा पुग्ने पर्यटक मोहित हुने गरेकाले खेल पर्यटनको विकासमा कोसेढुङ्गा सावित हुने महानगरले जनाएको छ । गण्डकी प्रदेशसभा सदस्य थापाले खेल मैदानका लागि प्रदेश सरकारको तर्फबाट आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयोे ।

 

प्राकृतिकरूपमा सुन्दरस्थलमा खेल पूर्वाधार निर्माण हुँदा यससँगैका छिमेकी वडामा समेत विकासको ढोका खुल्ने भनाइ उहाँको थियो । खेल मैदान निर्माण सम्पन्न गरेर राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण गराउने आफूहरुको योजना रहेको सोही वडाका वडाध्यक्ष सीम गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “हिमालको काखमा ग्रामीण परिवेशमा जैविक परिकारका साथमा फुटबल प्रशिक्षण गराउने योजना छ । यसबाट नेपालको फुटबलमा सकारात्मक नतिजा दिन्छ भन्नेमा विश्वस्त छौैँ ।”

 

महानगर योजना महाशाखा प्रमुख इञ्जिनीयर शारदामोहन काफ्लले बहुवर्षीय योजनाका रूपमा खेल मैदान निर्माण अघि बढाइने बताउँदै बर्सेनि बजेट विनियोजन गरिने जानकारी दिनुभयो ।

Comments Box