तीन वर्ष पहिले ठेक्का भए पनि कोटेश्वर चोकमा आकाशे पुल निर्माण अझै सुरु भएन



झण्डै तीन वर्ष पहिले ठेक्का भए पनि कोटेश्वर चोकमा आकाशे पुल निर्माण अझै सुरु हुनसकेको छैन ।

 

सङ्घीय सरकारले पुल निर्माणका लागि छानेको ठाउँ परिवर्तन गर्न स्थानीस्तरबाट माग भएसँगै आकाशे पुल निर्माण अघि बढ्न नसकेको हो । आकाशे पुल निर्माणको लागि ठाउँ अझै छान्न नसकिएमा ठेक्का नै रद्द गरिने डिभिजन सडक कार्यालय काठमाडौँले जनाएको छ । कार्यालयले पहिले कोटेश्वर चोक नजिकै (तीनकुने जाने सडकतर्फ) पुल बनाउन भने पनि त्यहाँ स्थानीयवासीको विवादका कारण बन्न नसकेको कार्यालयका सूचना अधिकारी सुमित केसीले बताउनुभयो ।

 

पुल निर्माणका लागि कतिपयले सुरुकै ठाउँ ठीक छ त्यही गर्नुपर्छ भनेका छन् भने कतिपय स्थानीयवासीले परिवर्तन गर्नुपर्ने भनिरहेका छन् । उहाँले भन्नुभयो, “पहिले भनिएको भन्दा केही तलमाथि भए पनि बनाउन सकिन्छ ।”आकाशे पुल निर्माण गर्दा ठाउँ परिवर्तनको माग गर्दै वडा कार्यालयले माग गरेपछि अहिले त्यो फाइल सडक विभाग पठाइएको कार्यालयले जनाएको छ । स्थान परिवर्तन गर्नु ठीक छ छैन भनी विभागले निर्णय गर्ने सूचना अधिकारी केसीले बताउनुभयो ।

 

स्थानीयस्तरमा सहमति हुने अवस्था नभएमा ठेक्का नै रद्द हुनसक्ने उहाँले बताउनुभयो । कार्यालयले तीन वर्ष पहिले नै नयाँ बानेश्वर र कोटेश्वर गरी दुई स्थानमा आकाशे पुल निर्माणका लागि प्रक्रिया अघि बढाएको थियो । नयाँ बानेश्वरमा विभिन्न कारणले केही ढिलाइ भए पनि केही समय पहिले सम्पन्न भएर प्रयोगमा आइसकेको छ । यो ठाउँमा भने अवधि सकिँदासम्म पनि कहाँ बनाउने भन्ने समेत टुङ्गो लाग्न सकेको छैन ।

 

एकातिर भक्तपुर र ललितपुरतर्फ जाने सवारीसाधन र अर्कातिर काठमाडौँ उपत्यका बाहिर जाने नाकाका रुपमा कोटेश्वरमा सवारीसाधन र यात्रुको चाप रहेको छ । वाग्मती प्रदेशका विभिन्न जिल्लासँगै मधेस प्रदेश र प्रदेश १ का धेरै यही बाटो भएर ओहोरदोहोर गर्छन् । छोटो र लामो दूरीका सवारीसाधन रोक्ने स्टेशन हुँदा यहाँ आकाशे पु्ल आवश्यक भएको आवाज वर्षाैँदेखि उठिरहेको छ ।

 

चीन सरकारले निर्माण गरेको कलङ्की–कोटेश्वर सडकमा चीन सरकारले नै निर्माण गरेका तीन आकाशे पुलमध्ये एक कोटेश्वर चोक नजिकै छ । कोटेश्वरबाट बालकुमारीतर्फ आकाशे पुल छ भने कोटेश्वरबाट तीनकुनेतर्फ यात्रु सडकबाटै वारपार गर्दा यहाँ जाम अझै बढिरहेको छ ।

 

 

तीनकुने पुन नयाँ डिजाइनमा बनाइने

२९ श्रावण २०७८ (रासस) :  झण्डै सात वर्षदेखि अलपत्र बनेको तीनकुने (वाग्मती) पुल नयाँ डिजाइनमा नयाँ ठेक्कामार्फत निर्माण अघि बढाउन प्रक्रिया थालिएको छ । ‘आर्स एन्ड ब्रिज’ प्रविधिबाट निर्माण गर्न लागिएको पुल यसअघि निर्माणको जिम्मेवारी पाएको पप्पु कन्सट्रक्शन प्रालिको लापरबाहीका कारण अलपत्र बनेको थियो ।

 

सो कम्पनीले डिजाइनभन्दा फरक गरी निर्माण गरेको र त्रुटि सच्याउनभन्दा नमानेकाले त्यसलाई तोडिएको काठमाडौँ उपत्यका सडक विस्तार योजनाले जनाएको छ । सो कम्पनीसँगको ठेक्का तोडिएपछि नयाँ प्रक्रिया सुरु गरिएको हो । सडक विभागले विसं २०७१ मा तीनकुने पुल र बिजुलीबजारस्थित पुल एउटै समयमा सुरु गरेकामा बिजुलीबजारस्थित धोबीखोला पुल दुई वर्षपहिले देखि नै सम्पन्न भएर सञ्चालनमा छ । यो पुल निर्माण व्यवसायीको बेवास्ताका कारण अघि बढ्न सकेको थिएन । विसं २०७५ मा निर्माण सम्पन्न हुनुपर्ने पुल अहिले आएर पुनः निर्माण सुरु गर्न परेको योजनाले जनाएको छ ।

 

पहिलेको कम्पनीले बनाएको संरचनामध्ये एउटा फाउन्डेशन स्वीकार गरेर बाँकी सबै भत्काएर नयाँ ठेक्कामार्फत निर्माण हुने योजनाले जनाएको छ । नयाँ डिजाइन र नयाँ वातावरणीय प्रभाव मूल्याङ्कन ९ईआईए० गरेर निर्माण अघि बढाउन लागिएको योजनाका सूचना अधिकारी अशोक यादवले बताउनुभयो । उहाँका अनुसार पहिले जसरी नै अहिले पनि निर्माण व्यवसायी आफैँले डिजाइन गर्ने गरी ९डिजाइन एन्ड बिल्ड० मार्फत निर्माण अघि बढाउन लागिएको हो । सो पुल पुल डिजाइन र निर्माण गरी झण्डै ४२ महिना लाग्ने उहाँले बताउनुभयो । यसअघि पुल निर्माणस्थलमा खानेपानी, विद्युत् लगायतका संरचना हटाउन समय लागे पनि अहिले त्यो समस्या हटिसकेको छ । उहाँले भन्नुभयो, “निर्माणस्थल खाली नै भएकाले व्यवसायीले सरासर काम गर्न सक्नेछ ।” दुई सातापहिले बोलपत्र आह्वान भएकामा ठेक्का सम्झौता हुन प्रक्रियामा नै झण्डै दुई महिना लाग्ने योजनाले जनाएको छ ।

 

यसअघि पप्पु कन्सट्रक्शनसँग रु २१ करोडमा ठेक्का भएको थियो । अहिले ठेक्का आह्वान भएकाले कति रकममा कबुल हुन्छ त्यसैका आधारमा यसको बजेट थाहा हुने उहाँले बताउनुभयो । योजनाले पहिलेको कम्पनीले बनाएको संरचना सबै मान्यता नदिएको भत्काउने निर्णय गरेको सूचना अधिकारी यादवले बताउनुभयो । कम्पनीले दुई ‘फाउन्डेशन स्ट्रक्चर’ बनाएकामा एउटा काम लाग्ने भएकाले स्वीकार गरिएको र अर्को भत्काउने निर्णय गरेको थियो । यसअघि कम्पनीसँगको ठेक्का तोडेर नयाँ ठेक्कामा जान झण्डै एक वर्ष लागेको छ ।

 

कम्पनीले प्राविधिक नभई काम गर्ने ढलानलगायत निर्माणको काम गरेको सूचना अधिकारी यादवले बताउनुभयो । उन्तीस मिटर पाइल राख्नुपर्नेमा २५ मिटर राखेकाले सच्याउनभन्दा पनि कम्पनीले मानेको थिएन । पप्पुको स्वीकार भएको संरचनाको भुक्तानी भइसकेको उहाँले बताउनुभयो । त्यसबाहेक भत्काउनुपर्ने संरचनाको रकमसमेत निर्माण व्यवसायीबाट नै असुल गर्ने नियम छ । उहाँले भन्नुभयो, “कति रकम असुल गर्नुपर्ने हो भनी यकिन गरेर चिट्ठी लेखिनेछ ।” यसअघि निर्माण व्यवसायीले लापरबाही गरेको भन्दै निर्माणको काम सुरु भएको केही समयमा नै रोकिएको थियो । प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिले पुल निर्माणमा समस्या देखिएको भन्दै त्यसलाई अघि नबढाउन र निर्माण व्यवसायीलाई कारबाही गर्न निर्देशन दिएको थियो ।

 

जगको काम हुँदा नै समस्या भएकाले त्यो अघि बढ्न नसकेको सूचना अधिकारी यादवले बताउनुभयो । निर्माण कम्पनीले डिजाइनअनुसार काम नगरेको भन्दै सडक विभागले त्यसलाई सच्याउन भने पनि उसले अटेर गरेकाले ठेक्का तोडिएको थियो । उहाँले भन्नुभयो, “अहिले पनि कम्पनी कालोसूचीमा नै रहेको छ ।” यसअघि पनि पुल निर्माण कम्पनी आफैँले डिजाइन गर्ने ९डिजाइन एन्ड बिल्ड० गरी भएको सम्झौता भएकामा अहिले पुनः सोही प्रक्रियाबाट निर्माणमा जान लागिएको हो । यसअघि निर्माणको काम गरेको कम्पनीसँग ठेक्का अन्त्य भएपछि मात्रै नयाँ प्रक्रियामा जान बाटो खुलेको आयोजनाले जनाएको छ । नयाँ ठेक्कामा जाँदा पनि पुनः डिजाइन गर्नुपर्ने भएकाले साढे तीन वर्ष लाग्ने सूचना अधिकारी यादवले जानकारी दिनुभयो । सरकारले यसअघि नै कम्पनीले निर्माणका लागि लिएको दुई किसिमका बैंकको जमानत फिर्ता लिइसकेको छ । कार्य सम्पादन जमानतमार्फत राखिने पाँच प्रतिशत रकम सरकारको खातामा फिर्ता ल्याइएको छ । आवश्यक रकम पेस्की पहिले कम्पनीलाई उपलब्ध गराइएकामा त्यो पनि फिर्ता भइसकेको छ ।

 

यसअघि पुलको निर्माणमा ढिलाइ भएको र भएका काम गुणस्तरीय नभएर सरकारले गत आर्थिक वर्षमा ठेक्का तोडेको थियो । विसं २०७१ पुसमा सडक विभागले सो कम्पनीसँग साढे तीन वर्षमा निर्माण सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । आयोजनाले काठमाडौँको व्यस्त सडकमा भएको सवारी चाप कम गर्न र सहर सुन्दरता बढाउन भन्दै ‘आर्स एन्ड ब्रिज’ निर्माण अघि बढाएको थियो । मुख्य सडकका दायाँबायाँ दुई–दुई पुल निर्माण गर्न एउटै निर्माण कम्पनीसँग सम्झौता गरिएको थियो । बिजुली बजारस्थित पुल निर्माण सम्पन्न भएर प्रयोगमा आइसके पनि यो पुल निर्माण अघि बढ्न सकेको थिएन । नेपालमा नयाँ प्रविधिबाट सो पुल निर्माण गरिने गरी सम्झौता गरिएको थियो । अरू सामान्य पुलमा तल्लो भागमा भार भए पनि यसमा भार माथिल्लो भागमा पर्ने विभागले जनाएको छ । अरू पुलको तुलनामा यसको अवधि लामो हुने विभागले जनाएको छ । काठमाडौँ उपत्यकाको सवारी चाप बढी रहेको सडकमा माइतीघर–कोटेश्वर सडक छ । एक दशक पहिले छ लेनमा सडक विस्तार भएको थियो । सडक विस्तार भए पनि त्यहाँ पर्ने धोबीखोला र वाग्मती पुल साँघुरो भएकाले सवारी चाप कम नभएको भन्दै विभागले मुख्य पुलको दुवैतर्फ पुल निर्माणको योजना अघि सारेको हो ।

 

Comments Box