राइनास बहुप्राविधिक शिक्षालय भवन बन्दै



सङ्घीय सरकारको लगानीमा राइनास बहुप्राविधिक शिक्षालयको भवन निर्माण अघि बढेको छ । लमजुङको राइनास नगरपालिका–८ कुसुण्डेचौरमा सरकारको रु चार करोड ३३ लाखमा ३२ कोठे भवन निर्माण हुन लागेको शिक्षालयका प्रमुख ईश्वरीचन्द्र देवकोटाले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) को नाममा रहेको २३ रोपनी जग्गा, स्थानीयबाट उपलब्ध आठ रोपनी, राइनास नगरपालिकाले दिएको दुई रोपनी र वीरभक्ति माध्यमिक विद्यालयले भोगचलनका लागि दिएको २३ रोपनी गरी ५६ रोपनी जग्गामा भवनलगायत संरचना निर्माण हुन लागेको छ ।”

 

राइनास प्राविधिक शिक्षालयले वि संं २०७७ असोज १५ गतेदेखि प्रशिक्षण सुरु गरेको थियो । देशभरका १३८ जना विद्यार्थी उक्त शिक्षालयमा तीनवर्षे प्रमाणपत्र तहको वन विज्ञान (रेन्जर) र आइएसस्सी एजी (बाली विज्ञान) पढिरहेका छन् । उक्त शिक्षालयमा हाल १२ जना प्रशिक्षक रहेका छन् ।

 

शिक्षालयले थप व्यवस्थापनका लागि स्थानीय महादेव सामुदायिक वनसँग भोगाधिकारका लागि ८० रोपनी जग्गाको सम्झौता गरेको छ । यसको प्रक्रिया मन्त्रालयमा पुगेको बताइएको छ । हाल नर्सरी, ग्रिनहाउस, टनेलको व्यवस्थापन गरेकाले विद्यार्थीले आफैँ काम गरेर कमाउन सक्ने उक्त शिक्षालयले जनाएको छ ।

 

राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले वर्तमान समयमा सीपमूलक र रोजगारमूलक शिक्षाको आवश्यकता रहेको बताउनुभयो । प्राविधिक शिक्षाले सीपसँगै रोजगारको अवसर दिने भएकाले प्राविधिक शिक्षाको महत्व रहेको उहाँको भनाइ छ ।

 

रोजगारीका लागि शिक्षाभन्दा सीप बढी महत्वपूर्ण: डा शर्मा

२७ चैत्र २०७७: प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम परिषद् (सिटिइभिटी) का संस्थापक अध्यक्ष तथा शिक्षाविद् डा सुरेशराज शर्माले नेपालमा बेरोजगारी समस्या समाधानका लागि शिक्षाभन्दा सीप बढी महत्वपूर्ण भएको बताउनुभएको छ ।

 

सिटिइभिटीद्वारा आज राजधानीमा आयोजित एकदिने गोष्ठीमा डा शर्माले युवालाई गुणस्तरीय प्राविधिक शिक्षा दिई रोजगार प्रदान गर्नु आजको प्राथमिकता हुनुपर्छ भन्नुभयो । शिक्षालाई हेर्ने दृष्टिकोण पुनर्विचार गरिएन भने यसले विकास र समृद्धिमा टेवा नपुग्ने उहाँको जिकीर छ । “हामी कहाँ योजना बने पनि कार्यान्वयन पक्ष अत्यन्त कमजोर छ । त्यसैले योजना तयारीमै धेरै ध्यान दिनुपर्दछ”, उहाँको जोड छ । ‘समृद्धिका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको सुधार’ नामक गोष्ठीमा सिटिइभिटीका सदस्य सचिव डा पुष्पराज वाग्लेले आधारभूत, मध्यम र उच्चसीपयुक्त जनशक्ति उत्पादनमा सिटिइभिटी अहोरात्र खटिरहेको जानकारी दिनुभयो । “विज्ञ, नीति निर्माता, उद्योगी र युवाको संलग्नता र सहयोगमा राष्ट्रको विकासका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालीम ९टिभेटको बलियो उपस्थिति आवश्यक छ”, उहाँले भन्नुभयो । सिटिइभिटीका अन्य क्रियाकलापबारे जानकारी दिँदै उहाँले बदलिँदो परिस्थितिमा सिटिइभिटीको ऐन परिमार्जन गर्नु उत्तिकै आवश्वयक रहेको धारणा व्यक्त गर्नुभयो ।

Comments Box