डा हर्क गुरुङ उद्यान निर्माणका लागि सहयोग



भूगोलविद् डा हर्क गुरुङको जन्मगाउँ मस्र्याङ्दी गाउँपालिका–७ मा ‘डा हर्क गुरुङ उद्यान’ निर्माण हुने भएको छ । यसका लागि ल्हेंगे तमु समाज बेलायतले डा हर्क गुरुङ प्रतिष्ठानलाई रु आठ लाख सहयोग गरेको छ ।

 

 

समाज संस्थापक अध्यक्ष मेजर खुसीमान गुरुङ र उहाँकी धर्मपत्नी मञ्जु ले मस्र्याङ्दी –७ का वडाध्यक्ष युवा घलेलाई शनिबार सो रकम हस्तान्तरण गर्नुभयो ।उद्यान निर्माणका लागि आगामी दिनमा समेत सहयोग गर्ने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । तत्कालिन संविधानसभा सदस्य तथा सो उद्यानका संरक्षक जमिन्द्रमान घलेले उद्यान निर्माणका लागि सहयोग गर्न सबैसँग आग्रह गर्नुभयो ।

 

प्रतिष्ठानका अध्यक्ष तिलबहादुर गुरुङले उद्यानसँगै अन्य संरचना निर्माणका लागि करिब रु ६० लाख लाग्ने अनुमान रहेको बताउनुभयो । पुस्ताकालय, शालिक, सङ्ग्राहलय, सामग्री प्रदर्शन कक्ष, सभाहल, फूल बगैँचा, मौलिक गुरुङ घरलगायतका संरचना तथा उद्यान निर्माण गर्ने प्रतिष्ठानले जनाएको छ ।

 

के थिए हर्क गुरुङ ?

मस्र्याङ्दी –७ तराँचे ताङ्लीचोकमा विसं १९९५ पुस २१ गते डा गुरुङ जन्म भएको थियो । विश्व वन्यजन्तु कोष नेपालले आयोजना गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र आयोजना स्थानीय समुदायलाई हस्तान्तरण गर्ने कार्यक्रममा भाग लिएर फर्कने क्रममा विसं २०६३ असोज ७ गते हेलिकोप्टर दुर्घटना हुँदा डा गुरुङ सहित २४ जनाको निधन भएको थियो ।

 

हर्क गुरुङको जन्म सन् १९३५ मा लमजुङ जिल्लाको मस्र्याङ्दी नदीको देब्रे पाखामा अवस्थित तराँचे गाउँमा सुबेदार परसाई गुरुङ र माइसेवो गुरुङको कोखबाट भएको हो । तराँचे गाउँ बेंसीसहरबाट मनाङ जाने मूल बाटोमा पर्छ । उहाँका पिताजी प्रथम विश्वयुद्धमा फ्रान्स र प्यालेस्टाइनको धावामा संलग्न गोर्खा सिपाही हुनुहुन्थ्यो । नौ वर्षको उमेरमा पढाइका निम्ति डा. गुरुङ काठमाडौं आउनुभयो । सो यात्राको मार्मिक वर्णन उहाँले आफ्नो पुस्तक भिगनेटस् अफ नेपाल को शुरूमा गर्नुभएको छ । पछि भारतको जालन्धरस्थित किङ जर्जेस मिलिटेरी स्कूलबाट उहाँले स्कूल अध्ययन पूरा गर्नुभयो । स्कूल तहमा उहाँ प्राज्ञिक विशिष्टता, खेलकुद र अपरम्परागत विचारका लागि नामी हुनुहुन्थ्यो । हर्क गुरुङले त्रिचन्द्र कलेजबाट आईए (सर्वप्रथम) र पटना कलेजबाट सन् १९५९ मा भूगोलमा प्रथम श्रेणी अनर्स सहित बीएको अध्ययन पूरा गर्नुभयो । स्कटल्यान्डको एडिनबरा विश्वविद्यालयबाट सन् १९६५ मा विद्यावारिधि (पीएचडी) गर्नुभयो । केही समय स्कूल अफ अफ्रिकन एन्ड ओरिएन्टल स्टडिज, लन्डनमा अनुसन्धाताका रूपमा पनि सम्बद्ध रहनुभयो । नेपालमा उहाँले भूगोल शिक्षकका रूपमा त्रिभुवन विश्वविद्यालयबाट पेशागत जीवन शुरू गर्नुभयो । तर उहाँ विश्वविद्यालयमा लामो समय रहनु भएन । राष्ट्रिय योजना आयोगमा सात वर्ष (१९६९­१९७५) (पहिला सदस्य र पछि उपाध्यक्ष रहेर) रहेर उहाँ शिक्षा, उद्योग तथा वाणिज्य (सन् १९७५–७७) र पर्यटन र यातायात राज्यमन्त्री (१९७७­–७८) पनि हुनुभयो । १९८४–­८५ मा इस्ट वेस्ट पपुलेसन इन्स्टिच्युट, हवाईमा रिसर्च फेलो रहेर नेपालको आन्तरिक बसाइँ­सराइ सम्बन्धी अनुसन्धान गर्नुभयो । सन् १९९३–९८ मा एसिया प्रशान्त क्षेत्र विकास केन्द्र, क्वालालम्पुरको निर्देशक रहनुभयो ।

 

 

डा. गुरुङ बहुआयामिक व्यक्तित्व हुनुहुन्थ्यो— विद्वान्, शिक्षक, विकास योजनाकार, मन्त्री, प्रशासक, घुमक्कड, फोटोग्राफर, चित्रकार, खेलाडी, अल्पमत तथा आदिवासी जनजाति अधिकारका सशक्त प्रवक्ता र रक्षक ।

 

नेपालको सबैभन्दा बढी पैदल यात्रा गरेका, हिमाल सम्बन्धी सबैभन्दा बढी ज्ञान राख्ने विद्वान्का रूपमा उहाँ अन्तर्राष्ट्रिय रूपमै सुपरिचित हुनुहुन्थ्यो । नेपालको विकास सम्बन्धी कुनै पनि क्षेत्र उहाँका निम्ति पराई थिएन ।