गरिव प्रदेशका धनी मुख्यमन्त्री; करोडको कार देखी गाई-बाख्रा सम्म



मुख्यमन्त्री नियुक्त भएको ६० दिनभित्र पेश गर्नुपर्ने प्रावधान रहे पनि कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीको सम्पत्ति विवरण ८३ दिनपछि सार्वजनिक भएको हो । गत कात्तिक १६ गते नियुक्त भएका मुख्यमन्त्री शाहीले सोमबार आफ्नो सम्पत्ति विवरण मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएका हुन् ।

 

 

शाहीले आफनो र श्रीमती बसन्ती कुमारी शाहीको नाममा विभिन्न ठाउँमा घरजग्गा, सुनचाँदी र शेर लागानी रहेको विवरण पेश गरेका छन् । उनले बैंकबाट ऋण लिएको पनि सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । व्यापार, जागिर र पुर्ख्‍यौली सम्पत्तिबाट प्राप्त गरी शाहीसँग ५६ तोला सुन, २ किलो चाँदी र तीन लाख बराबरको रप, औठी र नवरत्न सम्पत्ति छ । ९५ लाखको कार पनि रहेको उल्लेख गरेका छन् । व्यवसाय र जागिरबाट कार किनेको उल्लेख गरेका छन् । शाहीले पेश गरेको सम्पति विवरण अनुसार आफू र श्रीमतीको नाममा हुम्ला दुई र काठमाण्डौंमा एक गरी तीनवटा घर, हुम्ला, बाँके र काठमाडौंमा गरी पाँच ठाउँमा जग्गा रहेको उल्लेख गरिएको छ । विभिन्न ७ वटा बैंक तथा वित्तीय संस्थाहरुमा आफनो र श्रीमतीको नाममा १ करोड २० लाख रुपैयाँ बचत देखाएका शाहीसँग १३ हजार कित्ता शेयर रहेको छ । हालसम्म १ करोड ७२ लाख ऋण लिएको र किस्तामा तिरी रहेको समेत उल्लेख गरेका छन् । हुम्लामा चौरी, जुमा, गाई, गोरु गरेर १२ वटा, घोडा दुई वटा र भेडाबाख्रा ५० वटा रहेको र सबै आफ्नै घरमा पालेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

 

पाइलट, जिविस सभापतिदेखि मुख्यमन्त्रीसम्म

२०२१ फागुन २१ मा जन्मिएका शाहीले माध्यमिक शिक्षा काठमाडौंको बुढानिलकण्ठ स्कुलबाट प्राप्त गरे । काठमाडौंकै त्रिचन्द्र बहुमुखी क्याम्पसबाट आइएससी गरेका उनले राजनीतिशास्त्रमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरे ।  मुख्यमन्त्री शाही अमेरिकामा पाइलट कोर्स सकेपछि दुई वर्ष पाइलटका रुपमा कार्यरत थिए। यस पेसालाई बिट मार्दै २०४६ साल पछि राजनीतिमा लागेका थिए।

 

२०४९ मा नेकाको तर्फवाट जिल्लाविकास समितिको सभापति उम्मेदवार, २०५५ देखि २०७४ सम्म जिल्ला विकास समिति महासंघ केन्द्रीय सदस्य, २०५५ मा नेकाको तर्फबाट जिल्लाविकास समितिको सभापति, २०६४ मा संविधानसभा सदस्य उम्मेदवार हुँदै उनी राजनीतिमा खारिएका थिए । नेपाली कांग्रेस हुम्लाको संस्थापक सभापति (२०४६ देखि २०६२) हुँदै उनी कांग्रेसको ११औँ महाधिवेशनबाट नेपाली कांग्रेस प्रजातान्त्रिकको केन्द्रीय सदस्यमा निर्विरोध निर्वाचित भएका थिए । उनले २०६८ देखि २०७२ सम्म नेपाली कांग्रेस महाकालीको इन्चार्जको जिम्मेवारी निर्वाह गरेका थिए । २०७० मा हुम्ला जिल्लाबाट नेपाली कांग्रेसका तर्फबाट उनी संविधानसभा सदस्यमा निर्वाचित भएका थिए । २०७० देखि २०७४ सम्म संसदको विकास समिति सदस्य र कर्णाली विकास उपसमितिको संयोजक रहेर काम गरे । २०७३ मा नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री र खानेपानी तथा सरसफाइमन्त्री बनेका थिए ।

 

स्नोल्याण्ड एकीकृत विकास केन्द्र हुम्लाको संस्थापक अध्यक्ष, सामुदायिक रेडियो कैलाश हुम्लाको संस्थापक अध्यक्ष, शुभचिन्तक वचत तथा सहकारी संस्थाको संस्थापक, नेपाल रेडक्रस सोसाइटी हुम्लाको संस्थापक अध्यक्ष, दी रेयूकाइ नेपाल हुम्लाको संस्थापक हुँदै उनी १० वर्षसम्म मानसरोवर नमुना माविको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष भएका थिए ।

 

जीवनबहादुर शाही केन्द्रीय सदस्यमा मनोनित

१८ पुष २०७८: १४औं महाधिवेशनमा सहमहामन्त्रीमा बद्री पाण्डेसँग पराजित भएका जीवनबहादुर शाही लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम पौडेलसहित तीन जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेको जनाएका छन् ।

 

मुख्यमन्त्री शाहीद्वारा कांगे्रस सहमहामन्त्रीको उम्मेदवारी घोषणा

२१ मंसिर २०७८ (रासस) :  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले नेपाली कांगे्रसको १४औँ महाधिवेशनमा सहमहामन्त्री पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ । कांगे्रसका केन्द्रीयसमेत रहनुभएका मुख्यमन्त्री शाहीले पिछडिएको क्षेत्रको कोटाबाट उक्त पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो ।

 

प्रदेशसभामा कांगे्रसको ६ सिट मात्र भए पनि वर्तमान सत्ता गठबन्धन निर्माणको सुरुवात कर्णालीबाटै आफूहरुले गरेकाले पार्टी नेताहरुले उक्त भूमिकाको मूल्याङ्कन गर्दै सहमहामन्त्रीको जिम्मेवारी दिनुपर्ने शाहीको भनाइ छ ।

Comments Box