मापदण्ड लत्याउँदै सहरी विकास मन्त्री झाँक्रीको भिडभाडको पत्रकार सम्मेलन



माघ ३, २०७८: सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सरकारले तोकेको कोभिड रोकथाम सम्बन्धी मापदण्ड उल्लङ्घन गरेकी छिन् । कोभिड सङ्क्रमणको तेस्रो लहर ह्वात्तै बढिरहेका बेला सोमबार मन्त्री झाँक्रीले भिडभाड गरेर पत्रकार सम्मेलन गरेकी हुन् । सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा भेला हुन रोक लगाइरहेका बेला आफूले मन्त्रालय सम्हालेको सय दिन पुगेको अवसरमा मन्त्रालयले गरेको कामको जानकारी गराउन उनले पत्रकार सम्मेलन डाकेकी हुन् ।  

 

 सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल भने अघिल्लो दिनमात्र कोभिड सङ्क्रमण भएपछि सम्मेलनमा सहभागी हुन सकेनन् । उनी कोभिड सङ्क्रमण भएपछि घरै आराम गरिरहेका गरिरहेका छन् । 

 

राष्ट्रपति संस्था र व्यक्तिप्रति आफ्नो सदैव सम्मान रहेको लिखित प्रतिबद्धता जनाएपछि रामकुमारी झाँक्री रिहा

काठमाडौँ, २९ माघ,  २०७७ (रासस): राज्यविरुद्धको अपराधको आरोपमा पक्राउ पर्नुभएकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले आजै साँझ रिहा गरेको छ।

राष्ट्रपति संस्था र व्यक्तिप्रति आफ्नो सदैव सम्मान रहेको लिखित प्रतिबद्धता जनाएपछि उहाँलाई छाडिएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिनुभयो। उक्त कसुर गरेको आरोपमा महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले झाँक्रीलाई काठमाडौँ महानगरपालिका–३१ स्थित शङ्खमूलस्थित निवासबाट पक्राउ गरेको थियो। यसअघि गोरखाको एक कार्यक्रममा राष्ट्रपतिविरुद्ध ‘अशोभनीय’ टिप्पणी गरेपछि उहाँको आलोचना हुँदै आएको थियो । सत्तारुढ नेकपानिकट अखिल नेपाल महिला सङ्घले झाँक्रीलाई कारवाहीको माग गर्दै सरकारलाई ज्ञापनपत्र बुझाएको थियो । सोही निवेदनको आधारमा प्रहरीले अनुसन्धानका लागि उहाँलाई नियन्त्रणमा लिइएको प्रवक्ता कुँवरले बताउनुभयो ।

रिहापछि झाँक्रीले प्रतिक्रिया दिँदै राष्ट्रपति संस्थाप्रति आफ्नै सधैँ सम्मान रहेको बताउनुभयो ।

झाँक्रीलाई अविलम्ब रिहा गर्न माग

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले विघटित प्रतिनिधिसभा सदस्य तथा पार्टीका केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई निःशर्त र अविलम्ब रिहा गर्न माग गरेको छ ।

झाँक्रीले राज्यविरुद्धको अपराध गरेको जनाउँदै प्रहरीले आज अपराह्न उहाँको निवासबाटै पक्राउ गरेको थियो । नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज प्रेस विज्ञप्ति जारी गरी लोकतन्त्रमा राजनीतिमा संलग्न कुनै पनि व्यक्ति वा संस्था आलोचनाभन्दा माथि हुन नसक्ने जनाउनुभएको छ ।

उहाँले राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसूर देख्नु स्वेच्छाचारिता भएको टिप्पणी गर्नुभयो । झाँक्रीको गिरफ्तारीले संविधानले प्रत्याभूत गरेको अभिव्यक्ति स्वतन्त्रताको खिल्ली उडाएको प्रवक्ता श्रेष्ठद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले देशका विभिन्न स्थानमा आयोजना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा झाँक्रीले राष्ट्रपतिविरुद्ध अभिव्यक्ति दिनुभएको थियो ।

Comments Box