महाकालीमा पुल बनाउन भारत सहमत



दार्चुलाको नेपाल–भारत सीमामा पर्ने महाकाली नदीमा पुल बनाउन भारत सरकार सहमत भएको समाचार आजको कान्तिपुर दैनिक ले प्रकाशित गरेको छ । भारतको मन्त्रिपरिषद् बैठकले बिहीबार उक्त निर्णय गरेको विदेशमन्त्री एस जयशंकरले ट्वीटमार्फत जानकारी दिएका छन् । ‘यो एउटा महत्त्वपूर्ण कदम हो, यसले हाम्रो मित्रवत् सम्बन्धलाई थप गहिरो बनाउनेछ,’ जयशंकरले ट्वीटमा उल्लेख गरेका छन् ।

 

 

महाकालीमा पुल नहुँदा सीमा वारपार गर्न समस्या छ । दार्चुलाका बासिन्दाले नेपालबाट नेपालकै भूमि आउन पनि तुइनको भर पर्नु परिरहेको छ । तुइन वारपार गर्दा कतिपयको ज्यानै जाने गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित तुइनको सहारामा महाकाली तर्ने क्रममा स्थानीय जयसिंह धामी नदीमा बगेर गत साउन १५ देखि वेपत्ता छन् । नेपालको गृह मन्त्रालयले गरेको अनुसन्धानमा धामी तर्दै गरेका बेला भारतीय एसएसबीका जवानले तुइन काटिदिएको पाइएको थियो । त्यसपछि परराष्ट्र मन्त्रालयले चासो राख्दै भारतलाई कूटनीतिक नोट पठाएको थियो । तर उक्त कूटनीतिक नोटको जवाफ भारतले दिएको छैन ।

 

 

नेपाल सरकारले धेरै समयदेखि दार्चुलास्थित महकाली नदीमा पुल बनाउने विषयमा सहमतिका लागि भारतलाई आग्रह गर्दै आएको थियो । तर भारत तयार भएको थिएन । भारतीय मन्त्रिपरिषद्ले बिहीबार दुई देशबीच पुल बनाउने विषयमा सम्झौतापत्रमा हस्ताक्षर गर्ने अनुमति दिएको छ । केन्द्रीय सूचना एवं प्रसारणमन्त्री अनुराग ठाकुरले सम्झौतापत्रमा छिट्टै हस्ताक्षर हुने जानकारी दिए ।

 

 

पुलको निर्माण आगामी ३ वर्षमा पूरा हुने उनको भनाइ छ । ‘पुलबाट भारतको उत्तराखण्ड र नेपालका बासिन्दालाई लाभ पुग्नेछ । दुई देशबीचको व्यापार, भाइचारा सम्बन्ध थप बलियो हुनेछ,’ उनले भनेका छन् ।

Comments Box