मुक्तिनाथको भेटी करिव ७ करोड

बैंकमा जम्मा भएको ६ करोड ७२ लाख ७६ हजार, सटही नभएको ११ लाख ४९ हजार र बैंकमा जम्मा भएको ब्याज जोडेर समितिको कोषमा उक्त रकम



मुस्ताङको मुक्तिनाथ विकास समितिको कोषमा ६ करोड ९१ लाख आर्थिक मौज्याद रहेको छ। जसमध्ये जसमध्ये बैंकमा जम्मा भएको ६ करोड ७२ लाख ७६ हजार, सटही नभएको ११ लाख ४९ हजार र बैंकमा जम्मा भएको ब्याज जोडेर समितिको कोषमा उक्त रकम मौज्याद रहेको हो।

 

मुक्तिनाथ विकास कोष अन्तर्गत आर्थिक वर्ष २०७८/०७९ मा नगदी रसिद काटेकोबाट १ करोड ३ लाख २९ हजार रकम जम्मा भएको थियो। यस्तै,गत आर्थिक वर्षको चैत्र ७ गते  मुक्तिनाथ विकास समितिको दानपेटीका गणना हुँदा १० लाख ८४ हजार जम्मा भएको थियो भने असारको ६ गते दान पेटिकाको भेटी गणना हुँदा ७ लाख ५३ हजार ७ सय नेपाली रुपैयाँ र ६ लाख ३५ हजार भारतीय रुपैयाँ गरी १७ लाख ६९ हजार रकम दान पेटिकामा संकलन भएको मुक्तिनाथ विकास समितिका सदस्य सचिव हरि भुजेलले जानकारी दिए।

 

मुक्तिनाथ मन्दिरमा नगद रसिद काटेर दान गरेको र त्यहाँ राखिएको भेटी बाकसमा दान गरेको रकम मुक्तिनाथ विकास समितिको कोषमा जम्मा हुन्छ। २०६४ सालको सेरोफेरामा तत्कालीन प्रजिअको अध्यक्षतामा मुक्तिनाथ विकासको तदर्थ समिति गठन गरिएको थियो। तर यो समिति अझै तदर्थ समितिमै सीमित छ। मुक्तिनाथ मन्दिरको विकास ,संरक्षण,व्यवस्थापन र भक्तजनले दान गरेको रकम सही सदुपयोग गराउने उद्देश्यले मुक्तिनाथ विकास समिति गठन गरिएको थियो। तर,समिति गठन भएको विगत ३ वर्ष अघिदेखिबाट मुक्तिनाथको आम्दानी र खर्च सार्वजनिक गर्न थालिएको हो। मुक्तिनाथ रेखदेखका लागि स्थानीय बासिन्दा बेग्लै मुक्तिनाथ स्थानीय संरक्षण समिति पनि गठन भएको छ।

 

२०७६ सालको मंसिरसम्म मुक्तिनाथ विकास समितिको कोषको रकम कुल ४ करोड २४ लाख २५ हजार रहेकोमा अहिले क्रमश: वृद्धि हुँदै झन्डै डेढ करोड रकम थपिएको छ। मुक्तिनाथ विकास समितिले जिल्लाको ५ वटा बैंकमा खाता खोलेर मुक्तिनाथको भेटी जम्मा गरिरहेको समितिका सदस्य सचिव भुजेलले जानकारी दिए।

 

पछिल्लो समय मुक्तिनाथ मन्दिरमा प्रमु बैंकले क्यूआर कोड सेवा सञ्चालन गरेपछि उक्त मन्दिरमा नगद कारोबार विस्थापित गर्दै चन्दा दातालाई सिधैं डिजिटल भुक्तानी मार्फत बैंकको खातामा नगद जम्मा गर्न सहज भएको छ। मुक्तिनाथमा भक्तजनका लागि भेटी दान गर्न ५ वटा बाकस समेत राखिएको छ। त्यहा समितिले एक जना कर्मचारीलाई रसिद मार्फत सहयोग संकलन गर्न कर्मचारी खटाएको छ।

 

मुक्तिनाथ मन्दिरमा एकजना पुजारीसहित ४ जना कर्मचारीको त्यहाँको व्यवस्थापनमा खटाइएको छ। जसमा एकजना रसिद काट्ने कर्मचारी र अन्य २ जना सरसफाईकर्मी खटाइएको सदस्य सचिव भुजेलले उल्लेख गरे। उनीहरुको लागि बर्सेनि ८ लाख १५ हजार खर्च हुने गरेको उनले बताए।

 

मुक्तिनाथ मन्दिरमा कर्मचारीले रसिद काटेको रकम र भेटी बाकसमा चढाइएका पैसा मात्र समितिको कोषमा जम्मा हुने गर्छ। मन्दिर भित्र चढाइएका नगद र गरगहनाहरु समितिको कोषमा जम्मा हुँदैन। मन्दिर भित्र चढाइएको नगद र गरगहना परापूर्वकालदेखि नै त्यहाँ कार्यरत आनीभुमाहरुले संकलन गर्ने गरेका छन्।

 

मुक्तिनाथमा चढाइएको सबै प्रकारको भेटी समितिको कोषमा एकद्वार प्रणालीबाट जम्मा गर्नुपर्ने भन्दै एक दशकअघि उच्च अदालत बाग्लुङमा मुद्धा परेको थियो। अदालतले मन्दिरको सबै प्रकार भेटी समितिले जम्मा गर्ने र त्यहाँका आनी झुमाहरुको वृद्धि विकास र व्यवस्थापनमा अधिकतम सहयोग गर्नुपर्ने फैसला सुनाएको थियो। तर सो फैसला अझै कार्यान्वयनमा आउन सकेको छैन।

Comments Box