आगो ताप्दा सावधानी अपनाउन मन्त्रालयको अपिल



१५ पौष (रासस) :  स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा सावधानी अपनाउन अपिल गरेको छ ।

 

 

मन्त्रालयले आज सूचना जारी गर्दै केही दिनदेखि देशभर चिसो बढेको र जाडोयाममा शरीर वा कोठालाई न्यानो बनाइराख्न आगो ताप्ने, हिटर बाल्ने, गिजरको प्रयोग गर्नेलगायतका कार्य गर्दा अप्रिय घटना हुने भएकाले सावधानी अपनाउन अपिल गरेको हो ।

 

 

मन्त्रालयले कोठा न्यायो बनाउनका लागि हावा ओहरदोहर हुने ठाउँ वा कोठामा मात्र आगो ताप्ने, हिटर बाल्ने वा गिजर प्रयोग गर्न आग्रह गरेको छ । मन्त्रालयले कोइलाजन्य स्रोतबाट सकेसम्म आगो नताप्न, आगो ताप्दा वा हिटर बाल्दा कागज, कपडा जस्ता छिटो जल्ने खालका सामग्री नजिकै नराख्न अनुरोध गरेको छ ।

 

 

यसैगरी मन्त्रालयले आगो तापिसकेपछि त्यसलाई पूर्णरूपमा निभाउन, हिटरको प्रयोग गर्दा समय–समयमा चलिरहेको हिटरलाई बन्द गर्न, सुत्नुअघि अनिवार्यरूपमा हिटर निभाउन अनुरोध गरेको छ । मन्त्रालयले गिजरको मुख्य मेसिनलाई स्नानगृह बाहिर खुला ठाउँमा जडान गर्न र गिजर खोलेर लामो समयसम्म स्नानगृहमा नबस्न पनि आग्रह गरेको छ ।

 

 

आज नेपालगञ्जको भेरी अस्पतालको क्याटरमा कोठा न्यानो बनाउनका लागि कोइला बालेर सुत्दा एकै परिवारका चार जनाको निसास्सिएर निधन भएको थियो ।

Comments Box