बेनी–बगरफाँट–भकिम्ली सडकको स्तरोन्नति



१५ पौष (रासस) :  म्याग्दीको सदरमुकाम बेनी हुँदै हाँडेभिर–बगरफाँट–भकिम्ली जोड्ने सात किलोमिटर कृषि सडकको स्तरोन्नतिको काम सुरुआत भएको छ ।

 

 

ट्रयाक खुलेको १६ वर्षपछि भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयको ४८ लाख ५० हजार र स्थानीय जनसहभागिताबाट चार लाख ९५ हजार गरी कूल रु ५३ लाखको लागतमा स्तरोन्नतिको काम सुरु गरिएको हो । विसं २०६३ मा यो सडकको ट्रयाक खुलेको थियो । हाँडेभिरदेखि बगरफाँटको बुद्ध एकेडेमीसम्म करिब दुई किलोमिटर क्षेत्रमा सडक कालोपत्र गर्नका लागि बाटो विस्तार र स्तरोन्नतिको काम पनि भइरहेको छ ।

 

 

जिसी निर्माण सेवाले निर्माणको जिम्मा लिएको सो सडकको स्तरोन्नति कार्य ढिला भएको भनी स्थानीयवासीले असन्तुष्टि जनाउँदै आएका थिए । सडक फराकिलो बनाउने, जमिनमा ढलान गर्ने र तीन ठाउँमा नयाँ ट्रयाक खोल्ने काम भएको उपभोक्ता समितिका अध्यक्ष पूर्णबहादुर गुरुङले बताउनुभयो ।

 

 

उहाँका अनुसार सो सडक खण्डअन्तर्गत नयाँ पुलमा सय मिटर, बाहुनडाँडामा ६५० मी र थामडाँडामा १०० मिटर नयाँ बाटो खोलिएको छ । सडकको मापदण्डअनुसार नै निर्माण भएको यो सडक पश्चिम म्याग्दीको विकासका लागि कोशेढुङ्गा सावित हुने स्थानीयवासीले बताएका छन् । यो सडक बेनी नगरपालिका–२ बगरफाँट हुँदै पश्चिम म्याग्दीको मालिका गाउँपालिका–४ ओखरबोटको सोलेडाँडा भएर बागलुङको तमान, लामेलासम्म विस्तार गर्ने लक्ष्य रहेको अध्यक्ष गुरुङले जानकारी दिनुभयो । सडकको स्तरोन्नति नहुँदा यस क्षेत्रका बासिन्दाले सास्ती खेप्दै आएका थिए ।

Comments Box