कांग्रेसको महिला केन्द्रीय सदस्यमा चित्रलेखा विजयी



३ पौष (रासस) :  नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदको मतगणना शुक्रबारदेखि सुरु भएको छ । सबै पदाधिकारीको मतगणना सम्पन्न भएपछि सुरु गरिएको केन्द्रीय सदस्य प्रदेश नं २ (महिला) एक पदमा चित्रलेखा यादव विजयी हुनुभएको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।

 

 

यादवले दुई हजार ७३१ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिस्पर्धी गीता चौधरीले एक हजार ८८५ प्राप्त गर्नुभएको समिति संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिनुभयो । मतदानमा जम्मा चार हजार ६६२ मत खसेको र त्यसमध्ये ४६ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार प्रत्येक प्रदेशबाट तीन जनाका दरले निर्वाचित हुने केन्द्रीय सदस्यमध्ये केन्द्रीय सदस्य प्रदेश नं २ का ९पुरुष० दुई पदमा यसअघि नै रमेश रिजाल र आनन्दप्रसाद ढुङ्गाना निर्विरोध निर्वाचित भइसक्नुभएको छ ।

 

 

शुक्रबार सबै पदाधिकारीको मतगणना सम्पन्न भएपछि सदस्यको मतगणना सुरु गरिएको हो । आइतबार बिहान १० बजेदेखि खुलातर्फका केन्द्रीय सदस्य ९३५० जनाको मतगणना सुरु हुने समितिले जनाएको छ । कांग्रेसको महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा हालसम्म सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्रीको मतपरिणाम सार्वजनिक भइसकेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३४ पदका लागि भएको मतदानमा जम्मा ४८७ ले उम्मेदवारी दिनुभएको थियो । कांग्रेसमा जम्मा महाधिवेशन प्रतिनिधि ९मतदाता० चार हजार ७४३ रहेका छन् ।

 

 

केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री र समावेशीका विभिन्न आठ क्लष्टरअन्तर्गत आठ सहमहामन्त्रीको निर्वाचन हुने व्यवस्था छ । कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्य मध्येबाट निर्वाचित हुने व्यवस्था छ ।

 

 

यसैगरी ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, प्रत्येक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी÷जनजाति १५, खस÷आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गतताबाट एक सदस्य गरी कूल १३४ पदाधिकारी तथा सदस्यको निर्वाचन हुने कांग्रेसको विधानको व्यवस्था छ । जम्मा १६७ सदस्यीय केन्द्रीय समितिमा केन्द्रीय सभापतिले ३३ सदस्य मनोनीत गर्ने विधानमा उल्लेख छ ।

Comments Box