महिला सशक्तिकरणको नेतृत्व अनेमसङ्घले लिनुपर्छ : पोखरेल



२७ मंसिर (रासस) :  नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले महिला सशक्तिकरण नेतृत्व अखिल नेपाल महिला सङ्घ (अनेमसङ्घ)ले लिनुपर्ने बताउनुभएको छ ।

 

 

अखिल नेपाल महिला सङ्घले आज यहाँ आयोजना गरेको ‘एमाले १०आँै राष्ट्रिय महाधिवेशनको सन्देश स् समावेशितासहित एक तिहाइ महिला सहभागिता’ विषयक कार्यक्रममा उहाँले वैशाखमा स्थानीय तहको निर्वाचन हुने सम्भावना रहेकाले महिला सङ्घले सङ्गठन विस्तारलाई ध्यान दिनुपर्ने बताउनुभयो ।

 

 

“हरेक घरमा महिला सङ्घ पुग्नुपर्दछ । महिलाका मुद्दामा महिला सङ्घभन्दा अरू छैन भन्ने अनूभूति हरेक महिलाले गर्नुपर्दछ,” उहाँले भन्नुभयो, “सदस्यता विस्तार र कमिटी निर्माणतिर लाग्नुपर्दछ ।” उहाँले आगामी वैशाखमा स्थानीय तहको निर्वाचन हुने भएकाले त्यसभन्दा अघि नै सबै जनवर्गीय सङ्गठनको फागुन मसान्तभित्र महाधिवेशन सक्न निर्देशन दिएको बताउनुभयो ।

 

 

महासचिव पोखरेलले समाजका सबै तहमा महिलालाई योग्य बनाउने सके मात्रै अनेमसङ्घको सान्दर्भिकता र सार्थकता पुष्टि हुने बताउनुभयो । आर्थिक क्रियाकलापमा सहभागिमा न्यून रहेको भन्दै उहाँले उत्पादनमा सहभागिता, सम्पत्ति आम्दानी बनाउने जस्ता क्रियाकलापमा सहभागी गराउनुपर्ने उहाँले बताउनुभयो । सामाजिक आन्दोलनले समाजलाई बदल्ने सक्ने उहाँको भनाइ थियो ।

 

 

निर्वाहमुखी कृषि, व्यापारजस्ता पछौटेपनले समाजवादको आधार तयार गर्न नसक्ने भनाइ राख्नुभयो । उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिला आन्दोलनलाई थप सशक्तिकरण गर्नुपर्ने धारणा राख्नुभयो । एमालेको १०औँ राष्ट्रिय महाधिवेशनमा दुई पदाधिकारीसहित ११७ जना महिला केन्द्रीय कमिटीमा निर्वाचित हुनुभएको छ ।

 

उपाध्यक्षमा अष्टलक्ष्मी शाक्य र सचिवमा पद्मा अर्याल निर्वाचित हुनुभएको छ । एमाले पोलिटब्यूरो सदस्य सुजिता शाक्यका अनुसार ६ जना स्थायी कमिटी सदस्य र १८ पोलिटब्यूरो सदस्यमा निर्वाचित भएका छन् । स्थायी कमिटीमा उपाध्यक्ष शाक्य, सचिव अर्यालसहित डा शिवमाया तुम्बाहाम्फे, थममाथा थापा, सीता पौडेल र विन्दा पाण्डे रहनुभएको छ ।

Comments Box