यो वर्ष माघ महिनासम्म पनि ठूलो हिमपात भएन

अघिल्ला वर्षहरुमा पुस लाग्ने बित्तिकै हिमपातले गाउँबस्ती सेताम्य देखिने गर्थे



हिमाली जिल्ला हुम्ला सिमकोट क्षेत्रमा यो वर्षकै पहिलो हिमपात भएको छ । बिहीबार मध्याह्नदेखि मौसममा बदली भइ रातिदेखि सिमकोट, बरगाउँ, बुराउसे, डाँडाफया लगायतका बस्तीहरुमा भारी हिमपात भएको छ ।

 

गत वर्षहरुमा पुस लाग्दा बित्तिकै धेरै पटक हिमपात हुने हुम्लामा यो पटक भने माघ पहिलो सातामा हिमपात भएको हो । हिमाली जिल्ला हुम्लामा यो वर्षकै पहिलो हिमपात भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले बताइन् ।

 

 

 

 

तस्वीर : दाने बोहरा , रासस

 

माघ महिनाको हिमपातले गर्दा हुम्लाको एक मात्र हवाई यातायात सेवा पनि अवरुद्ध हुने भएको छ । हुम्लाको माथिल्लो क्षेत्र नाम्खा गाउँपालिका लिमी, यारी क्षेत्रमा पनि भारी हिमपात भएको छ ।

 

माघमा हिउँ परेपछि अन्नबाली, फलफूल र जडिबुटीको सुबिकाल हुने आशामा किसान उत्साहित भएका छन् । यता मुगुको उच्च लेकाली क्षेत्रमा भने हल्का हिमपात भएको छ । अघिल्ला वर्षहरुमा कर्णालीका हुम्ला, मुगु, जुम्ला, डोल्फा पुस लाग्ने बित्तिकै हिमपातले गाउँबस्ती सेताम्य देखिने गर्थे भने यो वर्ष माघ महिनासम्म पनि अझै ठूलो हिमपात हुन सकेको छैन ।

Comments Box