मनाङमा बलिउड फिल्म छायाङ्कन ‘प्याक अप’; अब नेपाली सिने जगत जाने कि ?



गत कार्तिक २ गते काठमाडौंमा दुई दिनको छायाङ्कन सकाएपछि, भारतीय चलचित्र ‘उचाइ’को छायाङ्कन टोली माथिल्लो मनाङ ओर्लिएको थियो भने अहिले मुख्य छायाङ्कन सकाएर प्रमुख कलाकारहरुले मनाङ छोडेका छन ।

 

 

नेपालका विभिन्न स्थानमा भारतीय चलचित्र ‘उचाइ’को छायाङ्कन गत ४ अक्टोबरदेखि भइरहेको छ । चलचित्रमा माथिल्लो मनाङ क्षेत्रलगायत लुक्ला, नाम्चेजस्ता विभिन्न ठाउँका रमणीय दृश्यलाई कैद गरिने छ ।

सो चलचित्र अमिताभ बच्चन, डेनी डेन्जोङ्पा, अनुपम खेर, बोमन इरानी, परिणीति चोपडालगायतका कलाकारको अभिनय छ । नेपालमा अमिताभ बच्चन भने आउनुभएको छैन । स्वास्थ्यले साथ नदिएका कारणले उहाँ आउन नसकेको ‘मुभिमेकर’का एक सदस्यले बताउनुभयो । छायाङ्कनका क्रममा अमिताभको नक्कलसँगै अनुपम खेर र बोमन इरानी देखिनुभएको छ । चार जनाको मित्रताका कथामा आधारित चलचित्रमा नेपालको हिमाली भेगमा बसोबास गर्ने डेनीसँग जोडिएर सुरु हुने जनाइएको छ । अमिताभको नक्कल (डुप्लिकेट)को भूमिका राजा चौधरीले निभाइरहनुभएको बताइएको छ ।

 

बलिउडको प्रसिद्ध ब्यानर राजश्री प्रोडक्सनले निर्माण तथा सुरज बडजात्याको निर्देशनमा सो चलचित्र निर्माण भइरहेको छ । नेपालमा ४० देखि ४५ दिन छायाङ्कन सेड्युल रहेको नेपालको लाइन प्रोड्युसर कम्पनी थ्री ह्विलर्स फिल्मस्का सुरज आचार्यले जानकारीदिनुभयो । चलचित्रको लागि नेपालका प्रोडक्सन म्यानेजर अरुण रेग्मी रहनुभएको छ । हिमाली भेगमा छायाङ्कनका लागि ट्रेकिङ गाइड तिलकराम राईले सहयोग गरिरहनुभएको  छ। माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिका वरपरका विभिन्न स्थानमा चलचित्र छायाङ्कन गरिएको छ ।

 

जिल्लामा चलचित्र छायाङ्कनका लागि उपयुक्त स्थान भए÷नभएको अवलोकनका लागि गत भदौ २३ गते चलचित्र निर्माता, निर्देशक तथा छायाँकारहरुको टोली आएका थिए ।

 

मनाङका साम्सद पोल्देन छोपाङ गुरुङले भने, ‘मनाङ निकै सुन्दर भएको र चलचित्र छायाँङ्कनको लागी उत्तम ठाउँ रहेकोले गर्दा अरु स्वदेशी तथा विदेशी सिनेमा तथा छायाँकनको टोली मनाङ आउने विश्वास छ ।’

 

यस चलचित्र छायाङ्कनले कोभिडले गर्दा थला परेको पर्यटन व्यवसाय क्षेत्रलाई सहयोग पुग्ने र चलचित्र प्रदर्शनपश्चात् मनाङमा भारतीय पर्यटक तथा चलचित्र निर्माणमा आकर्षण बढ्न सक्ने अनुमान गरिएको छ ।

मनाङमा छायाँकन हुनुले आफ्नो पालिका र मनाङ जिल्लाको मात्र नभई सारा नेपालीको नै शिर उचो भएको मनाङ ङिस्याङ गाउँपालिकाका अध्यक्ष कान्छा घले ले बताउनु भयो ।

 

Comments Box