मनाङमा वाढी पहिरो ले अवरुद्ध गरेको सडक खुल्यो



वर्षायाममा आएको वाढी पहिरो कारण विगत तीन महिनादेखि अवरुद्ध मनाङको सडकखण्ड सुचारु भएको छ । चामे गाउँपालिका र मनाङ ङिस्याङ गाउँपालका जोड्ने भ्राताङ भिरको सडक मर्मत पश्चात आज (आईतबार) देखि औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

 

सडकखण्ड खुला भएको सन्देश दिन भ्राताङ भीरमा आयोजित कार्यक्रमम
मार्फत मनाबबासीले पर्यटकलाई निम्तो दिएका छन् ।

 

मनाङ ङिस्याङ गाउँपालिकाका प्रमुख कान्छा घलेले तिलिचो न्यूजसँग भने, ‘असारमा परेको अविरल वर्षाका कारण भ्राताब भिरमा बाटो बन्द भएको थियो । हाम्रो पालिका र पेमा छिरिङ एण्ड छुन्ता गुरुङ फाउण्डेशनको आर्थिक व्यवस्थापनमा बाटो खुलाएका छौ, अब पर्यटकलाई स्वागत गर्न हामी तयार छौ ।’ उनले उक्त सडकखण्ड विगत तीन महिना देखि बन्द रहेको बताउदै प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुबको नेतृत्वमा ४५ दिनमै बाटो खुलाईएको बताए । ‘अवरुद्ध बाटो खुलाउन माननीयको योगदान निकै ठुलो छ, उनले भने, ‘छन त माननीयहरु अरु पनि हुनुहुन्छ । गर्नुपर्ने त सबैले हो तर अहिले अरुको उपस्थिति देखिएन । आगामी दिनमा गर्नुहोला भन्ने अपेक्षा छ ।’

 

 

प्रमुख घलेले उक्त सडकखण्ड अबरुद्ध हुदा दैनिक उपभोग्य सामाग्रीको ढुवानीमा कठिनाई भएको बताए । ‘खाद्यान्न र औषधिजन्य सामाग्रीको आपुर्तीमा समस्या थियो । हेली चार्टर गर्ने सबैको अवस्था छैन, उनले भने, ‘माननीयको अगुवाईमा जिल्ला प्रशासन कार्यालय मनाङ, नेपाली सेना, सशत्र प्रहरी बल र नेपाल पुलिस तथा स्थानियको पहलमा बाटो खुलाईयो । अहिले स्थानीय खुशीयाली छाएको छ ।’ उनले मनाङमा कोरोना भाईरसको महामारी न्यूनीकरण भएको बताउदै नागरिक तथा पर्यटन व्यवसायीहरु सुरक्षित रहेको बताए । ‘हाम्रो जिल्लामा सबैले खोप लगाएको अवस्था छ । हामी सबै सुरक्षित छौ, घलेले भने, ‘तपाईहरु ढुक्क भएर आउँदा हुन्छ । हामी तपाईहरुकै पर्खाईमा छौ ।’

 

त्यसैगरी प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुले सामाजिक उत्तरदायित्व वहन गर्दै बाटो खुलाउन नेतृत्व गरेको बताए । ‘यो बाटो मनाङको लाईफलाईन हो । बाटो नखुल्दा दैनिक उपभोग्य सामाग्री र बिरामीलाई अस्पताल पुर्याउन अप्ठेरो थियो, उनले भने, ‘केन्द्र र प्रदेश सरकारले कुनै बजेट विनियोजन नगरेकाले गाउँपालिका र मेरो वुवा आमाको फाण्डेशनले आर्थिक व्यवस्थापन गरेर आज बाटो खोल्न सफल भएका छौ ।’ सांसद गुरुङले विगतमा सोही स्थानमा बाटो खुलाउन १४ महिना लगाएको टिप्पणी गर्दै भने, ‘७ वर्ष पहिलो यही ठाउँमा बाटो बनाउन १४ महिना समय लागेको थियो । अहिले ४५ दिनमा नै सम्पन्न भएको छ र तुलनात्मक रुपमा लागत पनि निकै कम लागेको छ ।’

 

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले भ्राताङ–पिसाङ विचमा सडकखण्ड खुलेपछि पर्यटकहरुलाई सहज हुने बताए । सिडियो लामिछानेले अवरुद्ध रहेको एक्लोभट्टी र तलेखुँको सडकखण्ड छिटै खुल्ने बताए । उनका अनुसार सो सडकखण्ड सुचारु भएपछि मनाङ जिल्लाका सडकखण्ड पूर्ण रुपमा खुल्नेछन् ।

Comments Box