ताल मनाङको भानु माविलाई एग्रो मनाङको ‘हेभी टेन्ट’



मनाङको नासो गाउँपालिका १ तालगाउँमा रहेको भानु माध्यमिक विद्यालयलाई एग्रो मनाङ प्रालिले हेभी टेन्ट सहयोग गरेको छ ।

 


गत असार १ गतेको बाढीबाट प्रभावित बनेको विद्यालयलाई एग्रो मनाङ प्रालिले शुक्रबार ८ थान हेभी टेन्ट सहयोग गरेको हो ।

एग्रो मनाङ प्रालिका अध्यक्ष समराज गुरुङले विद्यालयमै पुगी प्रध्यानाध्यापक श्यामकृष्ण पन्त तथा नासो गाउँपालिका वडा १ का अध्यक्ष झलकबहादुर गुरुङलाई हस्तान्तरण गरे ।

सो अवसरमा बोल्दै विद्यालयका प्रध्यानाध्यापक पन्तले बाढीले भौतिक संरचनाको पूर्ण क्षति गरेको बताए । उनले पठनपाठनका लागि वैकल्पिक रुपमा बौद्ध गुम्बा परिसरमा टेन्टको प्रयोगमा कक्षा संचालन गर्दै आएको बताए ।

‘पहिला उपलब्ध टेन्टमा पानी चुहिने र च्यातिने समस्या आएको थियो, उनले भने, ‘मनाङका प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङलाई अनुरोध गरेपछि आज गुणस्तरिय टेन्ट प्राप्त भएको छ । यो ठुलो र गुणस्तरीय भएकाले उभिएर पढाउन मिल्छ ।’ उनले आवश्यक परेको समयमा टेन्ट उपलब्ध गराएको भन्दै सांसदप्रति आभार प्रकट गरे । प्रध्यानाध्यापक पन्तका अनुसार उक्त विद्यालयमा पछिल्लो समय ५० जना विद्यार्थी अध्यनरत छन् ।

त्यसैगरी एग्रो मनाङका अध्यक्ष समराज गुरुङले बाढीबाट प्रभावित बनेको विद्यालयमा टेन्टको आवश्यक परेको जानकारी पाएसँगै सहयोग गरेको बताए ।

पूर्ण रुपमा क्षति भएको स्कुलमा टेन्ट आवश्यक परेको थाहा पाएपछि पठनपाठन सुचारु गराउने उद्देश्य सहित सहयोग गरेको बताए । ‘विद्यार्थीको पठनपाठन रोकिनु राम्रो होईन । किनभने उनीहरु भविष्यका कर्णधार हुन्, गुरुङले भने, ‘उनीहरुको भविष्य समुदायको काधमा हुन्छ । त्यसैले टेन्ट अत्वाश्यक सामाग्री भएकाले तत्कालै उपलब्ध गराएको हो ।’

यसअघि बाढी गएलगत्तै उद्धार गरिएका तथा विस्थापित भएका करिब ३० बढि घरधुरीलाई प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङले तालक्षेत्रमा हेभी टेन्ट सहयोग गरिसकेका छन् ।

बाढी गएको तीन महिना बितिसक्दा समेत तालका केही बासिन्दाले सोही टेन्ट प्रयोग गर्दै आएको स्थानिय फुर्वा लामाले बताएका थिए । कुल ५६ घरधुरी रहेको सो तालगाउँको २२ घर बाढीका कारण पूर्ण क्षति भएको थियो ।

Comments Box