शिक्षक तथा कर्मचारी क्षेत्रीय प्रतिनिधि; अदालतले भन्यो- राजनीतिक दलका कुनै पनि कार्यक्रममा सहभागी नहुनु नगराउनु



शिक्षक सङ्घमा आवद्ध कुनै पनि शिक्षकलाई मतदान अधिकृतको रुपमा नखटाउने – अध्यक्ष शिक्षक सङ्घ

 

(सोलुखुम्बु) नेपाल शिक्षक सङ्घले शिक्षकलाई नेपाली कांग्रेसको १४औँ महाधिवेशनका सन्दर्भमा हुने कुनै पनि निर्वाचनको मतदान अधिकृतमा नखटाउने निर्णय गरेको छ । शिक्षक सङ्घका अध्यक्ष लालप्रसाद बाँस्तोलाले आज प्रेस विज्ञप्ति जारी गर्दै शिक्षक सङ्घमा आवद्ध कुनै पनि शिक्षकलाई मतदान अधिकृतको रुपमा नखटाउने बताउनुभयो ।

 

 

कांग्रेसका नेताबाट शिक्षकमाथि गालीगलौजका साथै मुद्दा हाली तारेख खेपाउन उद्दत देखिएकाले विज्ञप्तिमार्फत दुःख व्यक्त गर्दै त्यस्ता कार्यमा संलग्न व्यक्तिलाई यथोचित कारवाहीको माग गरिएको छ । विगतदेखि नै देशका सबै जिल्लामा शिक्षक क्षेत्रीय प्रतिनिधिका रुपमा निर्वाचित हुँदै आएको र सोही अनुसार जिल्लामा समेत निर्वाचित भएको भन्दै शिक्षा ऐन २०२८ को दफा १६ (ङ) को (छ) ले समेत कार्यकारिणी पदबाहेकमा बन्देज नगरेको दाबी गरिएको छ ।

 

 

क्षेत्रीय प्रतिनिधि कार्यकारिणी नभए पनि निम्छारो शब्द प्रयोग गरी आम शिक्षकको मानमर्दन हुने गरी पेशागत मर्यादालाई नजर अन्दाज गरिएको विज्ञप्तिमा उल्लेख छ ।

 

जिल्लाबाट करिब ३० जना शिक्षक तथा निजामती कर्मचारी क्षेत्रीय प्रतिनिधिका रुपमा निर्वाचित भएका छन् । तीमध्ये रिट परेका पाँच जना प्रतिनिधिविरुद्ध उच्च अदालत विटराटनगर अस्थायी इजलास ओखलढुङ्गाले शुक्रबार अल्पकालीन आदेश जारी गर्दै राजनीतिक दलका कुनै पनि कार्यक्रममा सहभागी नगर्न नगराउन भनेको छ ।

 

 

जिल्ला प्रशासन कार्यालयसमेतलाई विपक्षी बनाइ मिलन बस्नेतद्वारा दायर रिटमाथि सुनुवाइ गर्दै न्यायधीश ठाकुरप्रसाद शर्मा पौडेलको इजलाशले अल्पकालीन आदेश जारी गरेको हो । जिल्लाभरि चार शिक्षक र एक निजामती कर्मचारी मात्रै क्षेत्रीय प्रतिनिधि नभइ करिब ३० भन्दा बढी निर्वाचित भएका सन्दर्भमा अदालतको आदेशपछि कांग्रेसभित्र तरङ्ग पैदा भएको छ ।

Comments Box