आज इजरायल रोजगारीको भाषा परीक्षा



रोजगारीका लागि ९ हजार ६ सय ९९ जनाले आवेदन

 

२७ भदौ :  इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा रोजगारीका लागि हुने भाषा परीक्षा आज  (सोमबार) हुने भएको छ। ११ वटा केन्द्रमा भाषा परीक्षा हुने वैदेशिक रोजगार विभागले जनाएको छ।

 

 

विभागका अनुसार एलआरआई विद्यालय कलंकी, विश्व निकेतन उच्च मावि त्रिपुरेश्वर, दरबार हाइ स्कुल (भानु माध्यमिक विद्यालय) रानीपोखरी, मदन भण्डारी मेमोरियल कलेज नयाँ बानेश्वर, एम्बिसन एकेडेमी नयाँ बानेश्वर, नोबेल एकेडेमी नयाँ बानेश्वर, कोटेश्वर सरस्वती मावि कोटेश्वर, कोटेश्वर बहुमुखी क्याम्पस जडिबुटी, गान्धी आदर्श मावि, साउथवेस्टगेट स्टेट कलेज बसुन्धरा, गोल्डेन इन्टरनेसनल कलेज बत्तीसपुतलीमा परीक्षा केन्द्र तोकिएको छ।

 

 

इजरायलमा रोजगारीका लागि ९ हजार ६ सय ९९ जनाले आवेदन दिएका थिए। आवेदन दिएकामध्ये २ हजार ६ सय ९६ जनाको आवेदन अस्वीकृत भएको वैदेशिक रोजगार विभाग इजरायल शाखा प्रमुख डम्बर सुनुवारले जानकारी दिए।

 

 

सोमबार हुने परीक्षामा ७ हजार ३ जनाले सहभागी हुन पाउने भएका छन्। विभागले अनलाइन आवेदन परेकामध्ये कतिपयको तोकिएको मापदण्ड तथा योग्यता नपुगेकाले आवेदन अस्वीकृत गरेको जनाएको छ।

 

 

वैदेशिक रोजगारअन्तर्गत नेपाल र इजरायलबीच सम्झौता भएबमोजिम रोजगारीमा पठाउन यही भदौ २८ गते लिखित भाषा परीक्षा हुँदैछ।

 

 

आवेदन दिएकामध्ये तालिम नलिएका, सिएमए वा अनमीको योग्यता पूरा नगरेका धेरै छन्। विभागले दिएको जानकारीअनुसार ७ हजार आवेदक इजरायल रोजगारको लागि ८० अंकको भाषा परीक्षामा सहभागी हुने छन् भने त्यसको नतिजा दुई दिनमै सार्वजनिक गर्ने तयारी छ।

 

 

प्राप्तांकका आधारमा १ हजार ६ सय जना छानेर त्यसपछि अर्को चरणमा २० अंकको शारीरिक परीक्षण तथा अन्तर्वार्ता हुने छ।

 

 

तीमध्ये १ हजार ४ सय जना मात्र गोला प्रथामा छानिने भएका छन्। छानिएकाको गोला प्रथा नेपालस्थित इजरायली दूतावासले गर्नेछ। गोलाप्रथाबाट छानिने हुँदा ४ सय जनाले इजरायल रोजगारीको अवसर नपाउने विभागले जनाएको छ।

 

Comments Box