मनाङको सडकमा ठेकेदारको लापरवाहि; ५५% कममा ठेक्का, वडाध्यक्ष भन्छन “काम नै भएन”



अवरुद्ध भएको तीन महिना पुग्दा पनि मनाङ जोड्ने सडकखण्ड पुनःनिर्माण तथा मर्मतमा ढिलाइ भएको छ । गत जेठ १४ र असार १ मा आएको बाढीपहिराले उक्त सडकखण्डको धेरै ठाउँमा क्षति पुगेकोे छ ।

 

सदरमुकाम चामे बजार नै बाढीको जोखिम छ । अत्यधिक वर्षा हुँदा यसवर्ष बाढीबाट धेरै क्षति भएको छ । बाढीका कारण स्थानीयवासीको उठिबास भएको छ भने विभिन्न पूर्वाधार बगाएको छ । बाढीबाट पु¥याएको क्षति हेरेर सरकारले विपद् सङ्कटग्रस्त जिल्ला घोषणा गरेको छ ।

 

स्थानीयवासीलाई राहत उपलब्ध गराउन तथा पूर्वाधार निर्माण गर्न समस्या भएको छ । चामे सडक मर्मतका लागि डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयले सूचना जारी गर्दै बोलपत्र आह्वान गरेको छ । सडक मर्मत गर्न रु एक करोड ९२ लाख खर्च हुने कार्यालयका इन्जिनियर सुमन अधिकारीले जानकारी दिनुभयो । साउन अन्तिममा सूचना जारी गरेपछि उत्तरगया कन्स्ट्रक्सनले ५५ प्रतिशत घटेर भ्याटसहित रु ९१ लाखमा काम गर्ने जिम्मा लिएको छ ।

 

असोजसम्म मर्मतको काम सक्नेगरी ठेकेदारसँग सम्झौता भएको हो । अहिलेसम्म कामको प्रगति हुन सकेको छैन । नासों गाउँपालिका–३ खोत्रोदेखि तिमाङसम्मको सडक खण्डमा सबैभन्दा बढी क्षति भएको छ । उक्त सडकखण्डमा ठेकेदार काम नगरेको वडाध्यक्ष मीनबहादुर गुरुङ बताउनुहुन्छ ।

 

“मर्मतको काम केही भएको छैन,” उहाँले भन्नुभयो । सडक पूर्णरुपमा अवरुद्ध भएकाले बेँसीशहर–मनाङम्म खण्डमा सवारीसाधन चल्न सकेका छैनन् । यातायात ठप्प भएपछि खाद्यान्नलगायत अत्यावश्यक सामग्री ढुवानी गर्न सकिएको छैन् । “खच्चड र भरियाको भरमा सामान ढुवानी गर्नुपरिरहेको छ । त्यही पनि सहज छैन । बाढी पहिरोको जोखिम छ,” नासों गाउँपालिकाका अध्यक्ष चन्द्र घलेले भन्नुभयो, “सकड ममर्तको काममा ढिला हुँदा जनजीवन प्रभावित बनेको छ ।”

 

समयमै सडक मर्मत नुहँदा खाद्यान्न सङ्कट हुने अवस्था छ । सडक मर्मतका लागि ठेक्का लगाएपनि काम भए÷नभएको हेर्ने कुनै निकाय छैन । बाढीपहिराबाट पुगेको क्षतिको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले हालै निरीक्षण गर्नुभएको थियो । स्थानीयवासी राम गुरुङ भन्नुहुन्छ, “सडक छिटो बनाउनुपर्छ भन्नेतर्फ कसैको चासो छैन । सडक सञ्जाल नहुँदा आवतजावत मात्रै होइन विकास निर्माण र भौतिक संरचना निर्माणका सामग्री ल्याउन सकिएको छैन । कसले बुझिदिने होला खै ?”

 

कम मूल्यमा ठेक्का लगाउने र काम नगर्ने प्रवृत्तिले सडक मर्मतमा ढिलाइ भएको स्थानीयवासीको गुनासो छ । तर सडक मर्मतको काम भइरहेको डुम्रे–बेँसीशहर–चामे सडक योजना कार्यालयका प्रमुख इन्जिनियर अच्युत विलास पन्तले दाबी गर्नुभयो । “वर्खाका कारण समयमै काम पूरा गर्न कठिन भएको छ । एक ठाउँमा बनायो अर्को ठाउँमा भत्किने समस्या छ ।” उहाँले भन्नुभयो, “दशैं अगावै मनाङ सदरमुकामसम्म सवारीसाधन सञ्चालन गर्ने योजनासहित काम भइरहेको छ ।”

 

माथिल्लो र तल्लो मनाङलाई जोडनका लागि करिब साढे दुई महिनापछि तलेखु–भ्राताङ भिरमा चट्टान काटेर सडक निर्माण गर्न थालिएपछि भने स्थानीयवासी खुशी छन् । उक्त सडक निर्माण मा मनाङका सांसद पोल्देन छोपाङ गुरुङ आफै खटिएका छन ।

 

(रा स स)

Comments Box