संरक्षण गरिँदै बागमती किनारका गुर्जो



१६ भदौ (रासस) :  काठमाडौँ उपत्यकाका बागमती नदी किनारमा रोपिएका औषधीय गुणले युक्त वनस्पति गुर्जोका बिरुवा चोरी भएपछि तारजालीले संरक्षण गर्ने अभियान सुरु भएको छ ।

 

 

अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिसँगको सहकार्यमा देशव्यापी गुर्जोरोपण अभियानकर्मी कमलबहादुर राजलवटले ज्वागलस्थित संयुक्त राष्ट्र सङ्घीय उद्यान ९युएन पार्क० क्षेत्रमा रोपिएका गुर्जोमा तारजालीले चोर्न नसकिने गरी संरक्षण गर्नुभएको हो ।

 

 

अन्य किनारमा रोपिएका बिरुवालाई पनि तारजालीले संरक्षण गरिने जनाइएको छ । अधिकार सम्पन्न बागमती समितिले समेत गुर्जोलाई तारजालीले संरक्षण गर्न सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । गुर्जो रोपणसहित तारजालीले संरक्षण गर्न आयोजित कार्यक्रममा समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनाले गुर्जोजस्ता बहुउपयोगी वनस्पतिलाई नदी किनारमा रोपेर भावी पुस्ताका लागि संरक्षण गरिने प्रतिबद्धता जनाउनुभयो ।

 

अभियानकर्मी राजलवटले काभ्रेपलाञ्चोकको पनौती, भक्तपुरको नलिन्चोकलगायत स्थलमा पनि गुर्जोरोपण गर्नुभएको छ । गुर्जोरोपणसँगै ती स्थलमा गुर्जोबाट बनेको चिया र औषधिको धुलो पनि वितरण गरिएको छ । गुर्जोसँगै पारिजात, लप्सी, पत्थरचट्टा, करीपातलगायत वनस्पतिसमेत रोपिएको जनाइएको छ ।

Comments Box