भगवान् राधाकृष्ण खटयात्रा सम्पन्न



 

१५ भदौ (रासस) : भगवान् श्री राधाकृष्णको खटयात्रा आज विराटनगरमा भव्यताका साथ निकालिएको छ ।

 

श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने भगवान् श्री राधाकृष्णको खटयात्राका क्रममा गाडीलाई विशेष सजावट गरी आज नगरपरिक्रमा गराएको छ । श्रीराधाकृष्ण रथयात्रा समारोह समितिले विशेष पूजापाठ गरी विराटनगर–१ पानीट्याङ्कीस्थित राधाकृष्ण मन्दिर परिसरबाट खटयात्रा निकालिएको हो ।

 

 

पानीट्याङकीबाट सुरु भएको खटयात्रा गोल्छा चोक, जलजला चोक, ट्राफिक चोक, रोडशेष चोक, महेन्द्र चोक, भृकुटी चोक, वरगाछी, कञ्चनबारी, राजवंशी चोक, पुष्पलाल चोकको १६ किलोमिटर परिक्रमापछि पुनःमन्दिर परिसरमा आएर विसर्जन भएको छ । यसअघि ट्राफिक चोकबाट वरगाछी हुँदै आठ किलोमिटर मात्र खटयात्रा निकालिने गरिएको थियो ।

 

 

समारोह समितिका अध्यक्ष बाबुराजा ओझाले कोराना महामारीको कारण खटयात्रा गर्नुपरेको बाध्यता औँल्याउनुभयो । उहाँले विगतदेखि नै नागरिकको कल्याण होस् भन्ने ध्येयले भगवान्को नगरपरिक्रमा गर्ने कार्यलाई अहिले पनि निरन्तरता दिएको जानकारी दिँदै सर्वसाधारणको सडकमा भीड नहोस् भन्नका लागि खटयात्रा निकालिने समय सार्वजनिक नगरेको बताउनुभयो ।

 

 

यो ९०औँ संंस्करणको भगवान् राधाकृष्णलाई खटयात्रा रहेको छ भने विगतमा भक्तजनले डोरीले रथ तान्ने व्यवस्था गरिएको हुन्थ्यो । सवारी साधनमा राखी निकालिएको खटयात्रा बीचमा कतै नरोकिने भएकाले भक्तजनले टाढैबाट दर्शन गरेका छन् ।

 

 

विसं १९८८ बाट खट ९युगल मूर्तिलाई खाटमा राखेर० यात्राका रूपमा सुरु भएको यात्रा विसं २०२५ देखि रथयात्राका रूपमा परिणत भएको हो । प्रदेश सरकारले आज मोरङ, सुनसरी र झापाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ ।

 

भव्यताका साथ रथयात्रा सम्पन्न

यसैगरी सुनसरीको सदरमुकाम इनरुवामा पनि आज भव्यताका साथ रथयात्रा सम्पन्न भएको छ ।

 

 

कृष्णा जन्माष्टमीको अवसरमा वार्षिकरुपमा निकालिने रथ यात्रा इनरुवामा भव्यताका साथ निकालिएको हो । इनरुवा–३ महेन्द्रचोकस्थित राधाकृष्ण मन्दिरबाट निकालिएको रथ यात्रा इनरुवा बजारको विभिन्न भागको परिक्रमा गर्दै पुनः मन्दिरमा गएर सम्पन्न भएको मन्दिर समितिका अध्यक्ष केशरीराज अधिकारीले जानकारी दिनुभयो ।

 

 

कोरोना महामारीका कारणले सबै क्षेत्र प्रभावित भएका बेलामा नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गर्दै रथयात्रामा सहभागिताका लागि आग्रह गरेको भए पनि भक्तजनको उल्लेख्य मात्रामा सहभागिता रहेको पाइएको थियो ।

 

 

घोडाको प्रतिमासहित निर्माण गरिएको रथलाई बेहुलीझँै सिङ्गारिएको थियो । रथ निर्माणका लागि इनरुवा नगरपालिकाले गत आर्थिक वर्षको बजेटबाट मन्दिरसँगको २० प्रतिशत सहकार्यमा रु १६ लाखको कार्यक्रम स्वीकृति भएकोमा सोहीभित्र रहेर घोडाको प्रतिमासहितको भव्य रथ निर्माण कार्य सम्पन्न भएको थियो । यात्राका क्रममा विभिन्न जातजातिले आ–आफ्नो कला झल्किने झाँकी तथा नृत्यसमेत प्रस्तुत गरेका थिए ।

Comments Box