कस्तो छ तिलिचो ताल जाने बाटो ?



गत फागुन २० देखी बन्द रहँदै आएको बेसीशहर–चामे सडक खण्ड जिल्ला प्रशासन कार्यलय मनाङले आर्को सुचना जारी गर्दै पुनः थप १० दिन बन्द गरिएको जनाएको छ । यो सुचना आएसँगै हामीलाई पाठक वर्गले , के अहिले माथिल्लो मनाङ पुग्नै नसकिने हो? भनेर प्रश्न गर्नु भएको छ ।

 

डुम्रे- बेसिशहर – चामे सडक खण्डको तिमाङ छहरामा सवारी आवत जावत बन्द गरिएको सुचनामा जनाईएको छ । सडक पुन: निर्माणका क्रममा कल्भर्ट पुलको ठलान सेट हुन लाग्ने समयका लागी पुल बन्द गरिएको हो ।

 

यसको मतलव बेसिशहर देखी दनाक्युसम्म मोटर बाटो सुचारु छ भने तिमाङ देखी खाङ्सार सम्म पनि बाटो सुचारु छ । ढलान गरिएको स्थानमा मात्र वैकल्पिक मार्ग नभएकाले सवारी बन्द गरिएको हो ।
आफ्नै सवारी पास हुन नसकेपनि, त्यहाँ उपलब्ध सवारी प्रयोग गरेर तिमाङ बाट खाङ्सार सम्म नै पुग्न सकिन्छ । यसबाहेक पदयात्राको निम्ती त सबै बाटो सुचारु नै रहेको छ । अहिले पनि दिनहुँ दर्जनौं पर्यटकहरु यस क्षेत्रमा यात्रामा हिडिरहेका छन ।


९ भाद्र २०७८, बुधबार

 

मनाङमा बाढी पहिरो: कस्तो छ तिलिचो ताल जाने बाटो ?

मनाङमा यसै वर्खायाममा परेको अविरल वर्षा र बाढी पहिरोपछि धेरैको चासोको विषय बन्यो तिलिचो ताल जाने बाटो ।

 

यसभन्दा पहिले बेसीशहरबाट चामेहुँदै खाङ्सार सम्म मोटरबाटो उपलब्ध थियो भने, खाङ्सारबाट तिलिचो तालसम्म गोरेटो, घोडेटो बाटो उपलब्ध थियो ।

 

२०७८ साल असालको पहिलो सातानै आएको बाढी र पहिरोले बेसीशहर, चामे, खाङ्सार सडक खण्ड अवरुद्ध भयो । कतै सडकमा पहिरो आएर थुप्रीयो, कतै सडक भाँसियो, कतै पुल पुलेसा बगायो ।

 

हाल बेसीशहर चामे सडक खण्डको अधिकांश स्थानमा मोटरबाटो सुचारु भैइ सकेको छ भने चामे खाङ्सार सडक खण्डको चुनौतिपूर्ण मानिएको तलेखु र भ्राताङ भिरमा बाटो निर्माण भइरहेको छ ।

 

युद्ध स्तरमा सडक पुनःनिर्माण भएकाले नै अकल्पनीय क्षति भए पनि मनाङ ङिस्याङ गाउँपालिकाको भ्राताङ खाङ्सार सडक खण्डमा यसअघि नै मोटर बाटो संचालन भइसकेको जानकारी मनाङका सांसद पोल्देन छोपाङ गुरुङले दिनुभयो ।

 

स्थानीय तासी गुरुङमा अनुसार खाङ्सारबाट तिलिचो जाने बाटो ठाउँ–ठाउँमा भाँसिएको थियो भने, कतिपय ठाउँमा पहिरो आएर बाटो पुरिएको थियो ।

 

यसरी क्षतिग्रस्त बाटोमा वनलसुन टिप्न जाने मान्छेहरु अलि–अलि हिडेपछि मान्छे जाँन सहज भएको र बाटो बनाउने योजना बनाएको स्थानीय समिर घलेले जानकारी दिनुभयो ।

 

पदमार्गमा पर्ने अपर श्रीखर्कको झोलुङ्गे पुल देखि भने पुरानै ट्रेल ब्युताइएको छ । यसरी बाटो बनाइएकाले अब तिलिचो पदमार्गमा यात्रा गर्न सकिने भएको छ ।

 

तिलिचो तालमा अन्नपूर्ण र थोरोङ हिमालको उत्तरी सतहबाट हिमनदीहरु आउँछन् । यो ताल संसारको सबैभन्दा उचाईमा रहेको तालको रुपमा परिचित पनि छ ।

 

जल तथा मौसम विभागका आनुसार यो ताल समुद्री सतहबाट ४९४९ मिटर उचाईमा रहेको छ । तिलिचो तालमा कुनै जलचरहरु पाइँदैन ।

 

साँस्कृतिक र धार्मिक हिसावले समेत महत्वपूर्ण यो ताल हाल अन्नपूर्ण पदमार्ग कै trendy trip route को रुपमा समेत परिचित छ ।

 

स्थानीय प्रशासनले कोभिड–१९ को महामारीलाई लक्षित गरी यात्राहरुमा प्रतिवन्ध नलगाएको अवस्थामा अब तिलिचो ताल पुग्न सकिने गरी गोरेटो घोडटो बाटो तयार भएको छ ।

Comments Box