दिगो समाजद्वारा वडालाई एम्बुलेन्स हस्तान्तरण



२ भदौ (रासस) :  व्यास नगरपालिका–९ स्थित राजापानी कलेस्ती दिगो समाजको सक्रियतामा खरिद गरी वडा कार्यालयलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । समाजद्वारा आज आयोजित कार्यक्रममा समाजका अध्यक्ष भक्तबहादुर गोदार क्षेत्रीले व्यास नगरप्रमुख वैकुण्ठ न्यौपानेमार्फत वडा कार्यालयलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभएको हो ।

 

सो अवसरमा नगरप्रमुख न्यौपानेले सेवामूलक कार्य सञ्चालन गर्न लाग्नुभएकामा स्थानीयवासीलाई धन्यवाद व्यक्त गर्नुभयो । सामाजिक कार्यमा स्थानीयवासीले देखाएको कार्य प्रसंशानीय र अन्य वडाले अनुकरण गर्न योग्य रहेको उहाँको भनाइ थियो । स्थानीयवासी तथा देश विदेशमा रहनुभएका वडावासीले गर्नुभएको सङ्कलित रकमबाट रु १७ लाख खर्चेर एम्बुलेन्स सेवा सञ्चालन गर्ने तयारीमा स्थानीयवासी लागेका हुन् ।

 

वडामा कार्तिके, सतिस्वाँरा र गजुरे गरी तीन वटा स्वास्थ्य केन्द्र रहे पनि एउटा पनि एम्बुलेन्स नहुँदा सास्ती भोग्नुपरेकाले एम्बुलेन्स खरिद गरी वडालाई हस्तान्तरण गरिएको समाजका कोषाध्यक्ष रोशन रेग्मीले जानकारी दिनुभयो । वडालाई प्राप्त एम्बुलेन्स के कसरी सञ्चालन गर्ने भन्ने विषयमा पुनः स्थानीयवासीसँग बसेर छलफल गरी व्यवस्थापन गरिने वडाध्यक्ष सुरेश थापाले बताउनुभयो । सेवाग्राहीलाई महँगो भार नपर्ने गरी चालक र तेलको खर्च उठ्ने गरी सुलभ दरमा एम्बुलेन्स उपलब्ध गराउने योजना रहेको वडाध्यक्ष थापाले बताउनुभयो ।

Comments Box