बक्सिङ प्रतियोगिता खेल्न नेपाली टोली दुबईतर्फ



२ भदौ (रासस) :   एएसबीसी युथ तथा जुनियर बक्सिङ प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज युनाइटेड अरब इमिरेटस् (युएई) प्रस्थान गरेको छ । उक्त टोलीमा ६ खेलाडीसहित १२ जना रहनुभएको छ ।

 

 

प्रतियोगितामा पुरुषतर्फ ६० किलो तौलमा इन्द्रबहादुर सुनार, ५४ किलोमा सुलभ माली र ७१ किलोमा सुदेन गिरीले प्रतिस्पर्धा गर्ने टोलीमा रहनुभएका ओलम्पियन एवं बक्सिङ प्रशिक्षक डम्बरदत्त भट्टले जानकारी दिनुभयो । यस्तै महिला ५७ किलोमा नारिका राईले प्रतिस्पर्धा गर्नु हुनेछ ।

 

 

यस्तै पुरुष जुनियरतर्फ ५४ किलोमा छिरिङ वाङदी शेर्पा तथा महिला ५० किलोमा स्वस्तिका तिरुवाले प्रतिस्पर्धा गर्नुहुने प्रशिक्षक भट्टले बताउनुभयो । गत महिना ललितपुरको सातदोबाटोमा सम्पन्न छनोट प्रतियोगिताबाट युएईमा भाग लिने खेलाडीको छनोट गरिएको हो । टोलीमा ओलम्पियन एवं प्रशिक्षक दीपक महर्जन, सन्दिप श्रेष्ठ र दुर्गा गहतराज सहभागी हुनुहुन्छ ।

 

 

टोलीको व्यवस्थापकको रूपमा नेपाल बक्सिङ सङ्घका सदस्य मानबहादुर भण्डारी र झापा जिल्ला बक्सिङ सङ्घका सदस्य तर्कराज राई रहनुभएको छ । उक्त प्रतियोगिता असोज १५ गतेसम्म चल्नेछ । नेपाली टोलीलाई नेपाल बक्सिङ सङ्घका अध्यक्ष राम अवालेलगायतले आज बिदाइ गर्नुभयो ।

Comments Box