‘अधिकार र पहिचानका लागि जसपाको सङ्घर्ष’



 

३० साउन (रासस) :  जनता समाजवादी पार्टी (जसपा) नेपाल महन्थ ठाकुर पक्षले उत्पीडन र बहिर्गमनमा परेका तमाम जनसमुदायको अधिकार र पहिचानका लागि सङ्घर्ष प्रभावकारी बनाउने घोषणा गरेको छ । जसपा ठाकुर पक्षको वाग्मतीस्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शीर्षथ नेताहरूले पार्टीलाई सुदृढ र सङ्गठित गर्दै उत्पीडित समुदायको मुक्तिका लागि क्रियाशील हुने बताएका हुन् । जसपा आफूहरूले दुःख गरेर बनाएको पार्टी भएकाले कार्यकर्ता र सङ्गठन बलियो भएको उहाँहरूको दाबी छ ।

 

जसपाका अध्यक्ष ठाकुरले समावेशी लोकतन्त्रका लागि लामो समयदेखि सङ्घर्षरत जसपा पिछडिएका र बहिस्करणमा परेका समुदायको अधिकार र पहिचानका लागि थप सक्रिय भएर अगाडि बढ्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्रियता जनतामा हुन्छ, भूगोलमा हैन, त्यसैले हाम्रो विविधतालाई सम्बोधन गर्न समावेशी लोकतन्त्रका लागि हामी सङ्घर्षरत छौँ ।”

जातजाति, भाषा, धर्मआदि विषयमा बहिर्गमनमा परेको समुदायको उत्थानका लागि राज्यको पुनःसंरचना गरी पहिचानको आधारमा विभेदरहित सुशासनका लागि पार्टी प्रयत्नरत रहेको उहाँको भनाइ छ । अध्यक्ष ठाकुरले अहिलेको सङ्घीय प्रणाली पहिचानको आधारमा नरहेको भन्दै वर्तमान संविधानमा रहेका कमजोरीलाई संशोधन गरेर पहिचानको अधिकारलाई सुनिश्चित गरिनुपर्ने बताउनुभएको छ ।

 

जसपा ठाकुर पक्षका वरिष्ठ नेता राजेन्द्र महतोले ठाकुर अध्यक्ष रहेको पार्टी नै आधिकारिक जसपा रहेको दाबी गर्दै प्रलोभनमा परेर गएकाले पार्टी आधिकारिक हो भन्नुको कुनै अर्थ नरहेको तर्क गर्नुभयो । उहाँले केही सदस्य सङ्ख्या देखाउँदैमा पार्टी नहुने र पार्टीका लागि कार्यकर्ता र सङ्गठन चाहिने भन्दै यस्तो शक्ति आफूहरूको पक्षमा रहेको जिकिर गर्नुभयो ।

 

जसपाका अर्का नेता सरतसिंह भण्डारीले जसपा आफूहरूले बनाएको पार्टी भएको भन्दै यसले उत्पीडनमा परेका समुदायको हक अधिकारका लागि सङ्घर्षरत रहेको बताउनुभयो । जसपाको मुद्दाका लागि कुनै पनि सरकारले सम्बोधन गर्न नसकेको भन्दै उहाँले मधेशका माग र मुद्दालाई सम्बोधन गरेको खण्डमा वर्तमान सरकारसँग सहकार्य हुने बताउनुभयो । जसपा वाग्मती प्रदेश अध्यक्ष निलकण्ठ महर्जनले पार्टी सङ्गठनलाई बलियो बनाउन सक्रियतापूर्वक लाग्ने बताउनुभयो ।

Comments Box