खेलकूदमैत्री कानून बन्छ : मन्त्री थापा



३० साउन (रासस) :  गण्डकी प्रदेशका कानून, सञ्चार तथा प्रदेशसभा मामिला मन्त्री बिन्दुकुमार थापाले खेलकूदमैत्री कानून बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

नेपाल लोकतान्त्रिक खेलकूद सङ्घ गण्डकीद्वारा पोखरा रङ्गशालामा आयोजित वृक्षरोपण कार्यक्रममा उहाँले खेल क्षेत्रमा व्याप्त विकृति न्यूनीकरणका लागि कानून आवश्यक रहेको बताउनुभयो ।

 

जापानमा सम्पन्न ओलम्पिक खेलकूद प्रतियोगितामा पाँच खेलाडीका पछाडि २५ जना प्रशिक्षक बनेर जाँदा खेलाडीको सम्मान नभएको टिप्पणी गर्दै उहाँले छिट्टै गण्डकीमा मुख्यमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना गर्ने लक्ष्य रहेकोसमेत जानकारी गराउनुभयो ।

 

नेपाल लोकतान्त्रिक खेलकूद सङ्घका केन्द्रीय अध्यक्ष देवेन्द्रकुमार शेरचनले खेल क्षेत्रभित्रको विकृति विसङ्गतिको अन्त्यका लागि लोकतान्त्रिक खेलकूद सङ्घ निरन्तर लागि रहने बताउनुभयो ।

 

लोकतान्त्रिक खेलकूद सङ्घ गण्डकी अध्यक्ष हरिश्चन्द्र पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा काँग्रेसका नेता सोभियतबहादुर अधिकारी, काँग्रेस क्षेत्र नं १ का सभापति बृजमान गुरुङ, पोखरा– ९ का वडाध्यक्ष रामराज लामिछाने, सङ्घका उपाध्यक्ष विद्या मरासिनी, प्रदेशका सहसचिव हरि खनाललगायतले खेलकूदको महत्वमाथि प्रकाश पर्नुभएको थियो ।

पोखरा रङ्गशालालाई हरियालीमैत्री बनाउने लक्ष्यका साथ आयोजित कार्यक्रममा विभिन्न जातका ७५ बिरुवा रोपिएको थियो ।

Comments Box