२७ साउन (रासस) : लघु, घरेलु तथा साना र युवा तथा महिला उद्यमीहरुको वित्तीय पहुँच बढाउने उद्देश्यले नेपाल घरेलु तथा साना उद्योग महासङ्घ र मेगा बैंक लिमिटेडबीच सम्झौता भएको छ । लघु, घरेलु तथा साना उद्योगमा वित्तीय पहुँच अभिवृद्घिका लागि सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।
बैंकको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा महासङ्घका तर्फबाट अध्यक्ष श्यामप्रसाद गिरी र बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनुपमा खुजेलीले सहमतिपत्रमा हस्ताक्षर गर्नुभयो । सो अवसरमा महासङ्घका अध्यक्ष गिरीले सहमतिले तल्लो तहका उद्यमीहरुसम्म वित्तीय पहुँच पु¥याउन सहज हुने बताउनुभयो भने बैंककी प्रमुख कार्यकारी अधिकृत खुजेलीले सम्झौताबाट लघु, घरेलु तथा साना उद्योगी लाभान्वित हुने अपेक्षा गर्नुभयो ।
महासङ्घ र बैंकबीच भएको सम्झौताअनुसार १० किसिमका सहुलियत कर्जा र नियमित कर्जाहरू वितरण गरिनेछ ।