१३ साउन (रासस) : म्याग्दीको बेनी नगरपालिका–१ मा कालीगण्डकी नदीको अवैध दोहन र बालुवा चोरी भएको छ । आनन्दबगर, सारेमारे र ढोडेनीखोलामा स्थानीय तहसँग ठेक्का सम्झौताबिनै एक्साभेटर प्रयोग गरेर बालुवा उत्खनन भएको हो । सर्वोच्च अदालतले हालै गरेको फैसला र सरकारको निर्णयविपरीत अवैधरूपमा कालीगण्डकीबाट बालुवा उत्खनन भएको प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले बताउनुभयो ।
![](https://tilichonews.com/wp-content/uploads/2023/01/FarmHouse_Ad.png)
प्रजिअ अधिकारीको नेतृत्वमा प्रहरी नायब उपरीक्षक श्यामकुमार राई, सशस्त्र प्रहरी नायब उपरीक्षक हरिबहादुर गुरुङ र राष्ट्रिय अनुसन्धानका प्रमुख अधिकृत महेश गुरुङको टोलीले मङ्गलबार उत्खनन भइरहेको बगरको अनुगमन गरेको थियो । अवैध नदी दोहनले नगरपालिकाको लाखौँ आयस्रोत गुमेको छ । तटीय क्षेत्रमा कटानको जोखिम बढेको छ ।
सरकारले असारदेखि भदौसम्म नदी उत्खनन गर्न रोक लगाएको छ । हालै सर्वोच्च अदालतले कालीगण्डकीमा डोजर प्रयोग गरेर उत्खनन गर्न नपाउने फैसला गरेको छ । “ठेक्का सम्झौताबिनै डोजर लगाई खोलामा स्पर बनाएर बालुवा उत्खनन गरेको भेटियो”, प्रजिअ अधिकारीले भन्नुभयो, “कारवाहीका लागि सिफारिस गर्छौँ ।”
![](https://tilichonews.com/wp-content/uploads/2021/02/Tilicho-Home.png)
प्रहरी नायब उपरीक्षक राईले बगरबाट बालुवा उत्खननमा प्रयोग भएका चारवटा एक्साभेटरका धनी र उत्खननमा संलग्नलाई प्रहरी कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको बताउनुभयो । “एक्साभेटर र थुपारेको बालुवा जफत गरेर कारवाहीका लागि जिल्ला समन्वय समितिमार्फत नगरपालिकामा पठाउँछौँ”, उहाँले भन्नुभयो ।
ढोडेनीखोला र कालीगण्डकीको दोभानस्थित म्याग्दीको भूगोलमा पर्ने ढोडेनीखोला भन्ने ठाउँमा बागलुङतर्फबाट डोजर ल्याएर करिब १०० टिपर बालुवा निकालिएको छ । ढाडेनीखोलाभन्दा करिब ८०० मिटरमाथि सारेमारेको झोलुङ नजिकै पनि करिब १० दिनदेखि डोजर प्रयोग गरेर बालुवा निकालिरहेका छन् । त्यहाँ करिब ३० टिपर बालुवा थुपारिएको छ । दिउँसो नजिकैको जङ्गलभित्र लुकाएर राख्ने डोजर बिहान र साँझमा बगरमा लगेर बालुवा निकाल्ने गरेका स्थानीयवासीले बताएका छन् । आनन्दबगरमा दुईवटा डोजर प्रयोग गरेर २०० टिपरभन्दा बढी बालुवा निकालेर थुपारेका छन् ।
ठेक्का प्रतिस्पर्धा र नगरपालिकाले तोकेको ठाउँभन्दा अन्यत्र मेसिन प्रयोग गरेर बगर उत्खनन गर्न नपाउने कानूनी व्यवस्था छ । आनन्दबगरका हर्कबहादुर क्षेत्रीले सडक र खेलमैदान निर्माण गर्न व्यक्तिगत जग्गाभित्र पर्ने बगरमा कालीगण्डकीले बगाएर ल्याएको बालुवा निकालेको बताउनुभयो । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले असार १ गतेदेखि नै बगर उत्खनन गर्न रोकिएको बताउनुभयो । प्रहरीले नियन्त्रणमा लिएर बुझाएमा कारवाही प्रक्रिया अघि बढाउने उहाँले बताउनुभयो ।
ढाडेनीखोलामा कालीगण्डकीले सयाँै रोपनी खेतीयोग्य जमिन कटान गरेको छ । कालीगण्डकीमा भएको अनियन्त्रित र अव्यवस्थित नदी दोहनका कारण सारेमारे र ढोडेनीको बीचमा रहेको जङ्गल पहिरो चलेर सखाप भएको छ । ढोडेनीखोलामा एक्साभेटर प्रयोग गरेर गरिएको उत्खननले कालीगण्डकीपारि पर्वतको जलजला गाउँपालिकाको फर्सेमा कटानको जोखिम बढाएको नाग्लीबाङका वडाध्यक्ष हरिविकास जिसीले बताउनुभयो ।