सैनिक प्राविधिकको टोली सडक निरिक्षणको क्रममा मनाङ निस्याङ गा.पा.को भ्राताङमा



गत जेठ १४ गतेदेखि बाढीपहिरोको जोखिममा परेको हिमाली जिल्ला मनाङको सडक सञ्जाल पूर्णरूपमा विच्छेद छ ।

 

लामो समयदेखि सडक, सञ्चार, विद्युत्बाट टुटेको मनाङको पुनःव्यवस्थापन गर्नुपर्ने अवस्था छ । बाढीपहिराले बगाएको सडकको निसानसमेत विलिन छ । मस्र्याङ्दी नदीको किनारैकिनार हुँदै मनाङका विभिन्न स्थान पुग्ने सडक सञ्जालका प्रायजसो ठाउँमा नयाँ ट्र्याक खोल्नुपर्ने भएको छ । सडकको निसान पूर्णरूपमा बाढीपहिरोले बगाएको छ ।

 

त्यस्ता स्थानमा नयाँ ट्र्याक निर्माण गर्न मिल्ने नमिल्नेबारे जानकारी लिन तथा सुरक्षित सडक सञ्जाल निर्माणका लागि अध्ययन तथा अनुगमन गर्न  सैनिक प्राविधिकको टोलीसहित मनाङ पुगेको छ । टोलिमा नेपाली सेनाका महासेनानी इञ्जिनीयर इन्दीवर गुरुङ, अन्य प्राविधिक टोली, प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने, जिल्लाका प्रमुख प्रहरी नायब उपरीक्षक सुवास खड्का आदी रहनु भएको छ ।

 

भ्रताङमा सडक निरिक्षण को टोली

 

प्राविधिकसहितको टोलीले धारापानी र ताल क्षेत्रको पनि स्थलगत अवलोकन तथा अध्ययन गरेको साथै टोलीले विभिन्न समयमा आएको बाढीपहिरोले अवरुद्ध रहेको बेँसीशहर–चामे सडकखण्ड पुनःसञ्चालन गर्नका लागि अध्ययन गर्ने प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो ।

 

प्राविधिक टोलीको नेतृत्व गर्नुभएका नेपाली सेनाका मिलिटेरी इञ्जिनीयर सेवाका प्रमुख महासेनानी गुरुङकै टोलीले बेँसीशहर–चामे सडकको नयाँ ट्र्याक खोल्ने कार्य गर्नेसमेत प्रजिअ लामिछानेले बताउनुभयो । “लामो समयदेखि लगातारको वर्षाले नयाँ ट्र्याक खोल्दा समस्या हुनसक्छ, पहिले अध्ययन र अनुगमनपश्चात् मात्रै सुरक्षित सडक सञ्जाल निर्माण गर्ने सेनाको प्राविधिक टोलीको तयारी छ”, उहाँले भन्नुभयो ।

 

माटोको अवस्था अध्ययन तथा अनुगमनपछि सेनाको प्राविधिक टोलीले बेँसीशहर–चामे सडकखण्डको नयाँ ट्र्याक खोल्न खटिने जनाइएको छ ।

 

नयाँ ट्र्याक खोल्न सकिएमा छिट्टै मनाङवासीले सहजरूपमा सडक सञ्जालमार्फत आवतजावत गर्न पाउने छन् ।

Comments Box