माथिल्लो मनाङ ङिस्याङमा खाद्यान्न अभाव



अविरल वर्षासँगै आएको बाढीले गर्दा ङिस्याङमा खाद्यान्न अभाव भएको छ । बाढी पहिराले सडक अवरुद्ध भएकाले माथिल्लो मनाङ ङिस्याङमा आपूर्ति हुन नसक्दा खाद्यान्न अभाव भएको छ ।

लमजुङबाट मनाङ जाने बाटोमा बेला बेलामा जोखिम मोलेर बाँसको भर्‍याङबाट खाद्यान्न ओसारपसार गर्न पर्ने अवस्था आउँछ।

जिल्लामा होटेल व्यवसाय चल्ने हुँदा होटेलहरुले केही मात्रामा भण्डारण गरे पनि निरन्तर सामग्री आपूर्ति गर्न नसक्दा विपद्को समयमा खाद्यान्न अभाव भएको स्थानीयवासी विनोद गुरुङले जानकारी दिनुभयो । पर्यटकीय क्षेत्र भएकाले जिल्लामा भण्डारण कम र दैनिक ढुवानी हुने हुँदा होटेल व्यवसायीले खाद्यान्न भण्डारण गर्ने गरेकाले अहिले समस्या परेको गुरुङले बताउनुभयो ।

 

बाढीपहिराले जिल्लाका एक गाउँबाट अर्को गाउँमा जान सक्ने अवस्था छैन । त्यसैले खाद्य सामग्री अभाव हुँदै गएको बताइएको छ । मस्र्याङ्दी नदीमा बाढीको सतह कम हुने अवस्था छैन । वर्षा हालसम्म पनि निरन्तर रहेकाले माथिल्लो मनाङमा बाढीको प्रभाव देखिन थालेको स्थानीयवासी बताउँछन् । बाढीपहिरो जिल्लाका प्रायः सडक अवरुद्ध छन् । अवरुद्ध सडक खुलाउने प्रयास गरिए पनि सफल हुन नसकेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिनुभयो । जिल्लामा केही मात्रामा खाद्यवस्तु भण्डारण रहेको उहाँले बताउनुभयो । “सडक अवरुद्ध हुँदा केही भण्डारमा रहेको खाद्यसामग्री अभाव भएको स्थानमा पु¥याउन सकिएको छैन”, उहाँले भन्नुभयो । विगतमा दैनिक रुपमा खाद्यसामग्री ल्याउन सहज हुँदा र भण्डारण नगरिँदा अहिले समस्या सिर्जना भएको हो ।

 

कोरोना कहरले गर्दा खाद्यान्न ढुवानीसमेत कम भएकाले हाल अभाव भएको स्थानीयवासीको भनाइ छ । भविष्यमा हुन सक्ने सम्भाव्यतालाई दृष्टिगत गर्दै भण्डारण नगर्दा विपद्मा समस्या भएको उनीहरुको भनाइ छ । एक ठाउँबाट अर्को ठाउँमा पुग्नका लागि पैदल यात्राबाट पुग्ने अवस्था नभएर हेलिकप्टरको सहारामा मात्रै सामग्री आदानप्रदान र पुग्न सक्ने अवस्था रहेको बताइएको छ ।

Comments Box