जो सांसद नरहे पनि मनाङका जनताको दुखमा साथै रहे



विघटित प्रतिनिधि सभा सदस्य पोल्देन छोपाङ गुरुङ जेठ मसान्त काठमाडौं थिए । असारको पहिलो दिननै मनाङमा बाढीले वितण्डा मच्चायो । खबर बिजुली गतिमा पोल्देनसम्म पुग्यो । पोल्देनले स्थानीय, त्यहाँका नेता, प्रहरीसँग लगातार सम्पर्क गरिरहे । अवस्थाको रिपोर्टिङ लिइरहे । रिर्पोटिङ सुनेपछि पोल्देनको मन पोल्यो । गृहमन्त्री खगराज अधिकारी, प्रधानमन्त्री केपी शर्मा ओलीलाई फोन गरेर मनाङमा बाढीले बेहाल बनाएको बेलिविस्तार लगाए ।

 

मनाङको चामे, धारापानी, तालगाउँ डुबेको खबर सञ्चार माध्यममा समेत सार्वजनिक भयो । घर, पुल, बिजुली पोल भत्किएका समाचार सबै अनलाइन पोर्टलका हेडलाइन बने । मस्र्याङ्दीले घरहरु बगाएपछि स्थानीयको बिचल्ली भयो । कोही जंगल भागे त कोही नयाँ कारागार भवनको शरण लागे ।

यी समाचार थाहा पाएपछि पोल्देन एकछिन पनि काठमाडौं बस्नै मन लागेन । कतिखेर मनाङ पुगूँ भयो । हेलिकोप्टर खोज्न थाले । तर, मौसम खराब थियो । उड्न पाएनन् । छटपछटमै दिन बिते । निदाउन सकेनन् । काठमाडौंकै आकाशमा पनि बादल फाटेको थिएन । उनको मनमा पनि उस्तै बादलले ढाकिरह्यो । गाउँमा कस्तो भयो होला, मानिसहरुलाई कति आपत प¥यो होला भन्नेमात्रै भइरह्यो । ३ असारमा बिहानै पोल्देन मनाङ पुगे । हेलिकोप्टरमा बिहीबार सुरुमा सिरानताल गाउँ पुगे ।

यहाँ मस्र्याङ्दीले दुईतिर काटेर नदीको बीचमा परेकाहरुको उद्धार गरे । ४० जनालाई त्यहाँबाट उद्धार गरे तालगाउँको सुरक्षित ठाउँमा लगियो । पोल्देन भन्छन्, ‘उहाँहरुलाई चामे लगेर राख्ने विचार थियो, तर आफन्तहरु भएको ठाउँमा पु¥याइदिनु भन्नुभयो र तालडाँडाँगाउँमा लगिदियौं ।’ काठमाडौंबाट लगेको टेन्ट, खाद्यवस्तु सहयोग गरे ।

पोल्देन बिहीबार चामेमै बास बसे । गृहमन्त्री अधिकारीसँग समन्वयन गरेर लगेको हेलिकोप्टरमा तेल सकिएपछि पोखरा फर्किएको थियो । त्यसैमा गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल र २ सांसद चामे पुगे । पोल्देन भन्छन्, ‘तर उहाँहरुले केही ल्याउनुभएको थिएन, फोटो खिच्न आउनुभएको रहेछ ।’ तर पोल्देनले व्यक्तिगत खर्च गरेर निजी कम्पनी अल्टिच्युडको हेलिकोप्टर चार्टर गरेका थिए । मनाङका अरु गाउँतिर उद्धारमा त्यही हेलिकोप्टर प्रयोग भयो ।

बाढीले चामे, ताल गाउँ र सिरानगाउँमा मात्रै हैन मनाङका अरु ठाउँमा पनि बबन्डर मच्चाएको थियो । उनले त्यता पनि जानु मनासिव ठाने । पोल्देनले गाउँपालिका प्रमुखहरुलाई सम्पर्क गरे । अरु पालिकामा पनि बाढी गएपनि भौतिक क्षति धेरै पुगेको थिएन । तर नार्पाभूमि गाउँपालिकाको फू गाउँका स्थानीय भने यार्सागुम्बा संकलनका लागि लेकमा गएका बेला अलपत्र भएको खबर पोल्देनले थाहा पाए । समुद्र सतहदेखि १७ हजार २५० फिटमा पर्ने ल्होङो खर्कमा यार्सागुम्बा टिप्न गएका ७० स्थानीय अलपत्र परेका थिए । नार्पाभूमि ४ का वडाध्यक्ष छिरिङडेन्डो लामालाई सम्पर्क गरेपछि पोल्देनलाई थाहा भयो—गाउँलेहरु यार्सागुम्बा टिप्न हिँडेको २ दिनमै पानी पर्न सुरु भएको थियो । ५ दिनमै यार्सा संकलन गरेर फर्कने सोचले खर्क पुगेका उनीहरु हिउँ सोहोरेर बस्नुप¥यो । ‘गाउँले त्यहाँ पुगेलगत्तै पानी वर्षन थालेको थियो । ५ दिनमा फर्कने योजना लिएर खर्क गएका गाउँलेको पानी, खानेकुरा सबै सकिसकेको थियो,’ छिरिङ भन्छन्, ‘फर्कन पुल भत्किसकेको थियो, बाटो पनि हिउँले ढाकिएको थियो, माननीय (पोल्देन) ले समयमा खबर नपाएको भए गाउँलेको जीवन रहन्थ्यो, रहन्थेन भन्न सकिने अवस्था थिएन ।’ हेलिकोप्टर लिएर उद्धारमा गएका पाइलट आनन्द थापा भन्छन्, ‘हामी त्यहाँ पुग्दा उनीहरु बसेको ठाउँ हिउँले पुरिएको थियो । मानिसहरु डरले हामीतिर हेर्दै हात हल्लाउँदै थिए, खानेकुरा, पानी केही थिएन, हेलि लिएर नपुगेको भए सास फर्कने अवस्था थिएन ।’ शुक्रबार बिहान ७ बजेदेखि मध्यान्न १२ बजेसम्म पोल्देन आफैं उद्धारमा खटिए ।

अहिले पनि मनाङमा लगातार पानी परिरहेको छ । लगातारको झरीले मस्र्याङ्दी नदी थुनिएको छ । घट्टेखोलाले ढुंगामाटो, काठदाउरा बगाएर थुनिएको मस्र्याङ्दीले अहिले पूरै चामे बजार जोखिममा छ । माथिल्लो मनाङतर्फ जाने बेलिब्रिज पनि नदीले कटान गरिसकेको त्यहाँका स्थानीय बताउँछन् । मनाङको अवस्थाबारे पोल्देनले शनिबार बिहान गृहमन्त्री खगराज अधिकारी, भौतिक पूर्वाधार मन्त्री बसन्त नेम्वाङलगायतसँग भेट गरेका छन् ।

पोल्देनका अनुसार बाढीले अवरुद्ध गरेको बाटो, विस्थापित भएका घरहरु, स्थानीयको उद्धारका लागि बिहान भेट गरेका हुन् । पोल्देन छिटै राहत र उद्धारका लागि मनाङ जाँदैछन् । पोल्देनकै भनाइमा मनाङमा यति ठूलो बाढीपहिरो आएको उनलाई यसअघि कहिल्यै थाहा थिएन । पुस, माघमा हिउँ पर्थ्यो । मनाङका लागि त्यही हिउँद याममात्रै दुख हुन्थ्यो । बर्खाले कहिल्यै दुख दिएको थिएन । भन्छन्, ‘अतिभन्दा अति कल्पनै गर्न नसकिने गरी पानी प¥यो, बाढी आयो ।’

पोल्देन २०७४ सालको निर्वाचनबाट पहिलोपटक राजनीतिमा प्रवेश गरेका हुन् । बुवा राजनीतिमा थिए । तर पोल्देन खासै लागेका थिएनन् । पहिलोपटक आम निर्वाचन लडे र जिते पनि । प्रतिनिधि सभा विघटन भएपछि उनी सांसद त छैनन् तर मनाङप्रतिको जिम्मेवारीले उनलाई यसपालिको बाढीमा जनताको उद्धार गर्न प्रेरित गर्यो । भन्छन्, ‘आफ्नो दुखसुखमा काम लाग्छ भनेर उहाँहरुले मलाई चुनाव जिताउनुभएको हो, अहिले दुख प¥यो, मैले उहाँहरुप्रतिको कर्तव्य पूरा गर्न कोसिस गरेको हुँ ।’

Comments Box