व्यावसायिक योजना बनाएर आयआर्जन गर्नेको सङ्ख्यामा वृद्धि



वैदेशिक रोजगारमा संलग्न खोटाङका ७६ प्रतिशत परिवारका सदस्यले व्यावसायिक योजना बनाएर आयआर्जन शुरु गरेका छन् । बालसेवा समाज नेपाल नेर्पा खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी)ले गरेको सर्वेक्षणअनुसार वैदेशिक रोजगारीमा गएका परिवारका सदस्यले आफ्नो घरमा योजना बनाएर विभिन्न व्यवसायबाट आयआर्जन शुरु गरेका हुन् ।

परियोजनाले सञ्चालन गरेको वित्तीय साक्षरता कक्षामा सहभागीमध्ये ८७ प्रतिशतले वित्तीय लक्ष्य तथा पारिवारिक बजेट बनाउने गरेको, ९७ प्रतिशतले आम्दानी र खर्चको हिसाब राख्न थालेको र ९१ प्रतिशतले बचत वृद्धि गरेको सामीका कार्यक्रम संयोजक सन्तोष राईले जानकारी दिनुभयो । वित्तीय साक्षरता कक्षाकै सिकाइका कारण ९२ प्रतिशत (३५७ जना)ले विदेशमा रहेका आफन्तबाट महत्वपूर्ण कागजातको फोटोकपी घरमा मगाएको सामीले जनाएको छ । वैदेशिक रोजगारसम्बन्धी आवश्यक सूचना तथा परामर्श सेवा पाएका एक हजार ४८८ जनामध्ये १२ प्रतिशत विदेश गएको, त्यसमध्ये ५३ प्रतिशतले सीप सिकेर विदेश गएको, ८७ प्रतिशतले परिवारमा कागजपत्र छाडेको र ३६ प्रतिशतले आफूले एजेण्टलाई पैसा तिरेबराबरको भर्पाइ लिएको पाइएको कार्यक्रम संयोजक राईले जानकारी दिनुभयो । यस्तै आर्थिक वर्ष २०७६÷७७ र आव २०७७÷७८ मा वैदेशिक रोजगारको सिलसिलामा भएका ठगी, खोजी, उद्दार, जेल, मृत्युदाबी भुक्तानी तथा अङ्गभङ्गलगायत आएका ५८ मुद्दामध्ये २९ सफल भएको, २२ प्रक्रियामा रहेको र सातवटा असफल भएको परियोजनाले जनाएको छ ।

पछिल्लो समय वैदेशिक रोजगारीका क्रममा ठगीका नयाँ–नयाँ शैली अपनाइएको पाइएको सामीका जिल्ला कार्यक्रम अधिकृत उमा पौडेलले जानकारी दिनुभयो । परियोजनाले सोमबार दिक्तेलस्थित बालसेवा समाजको कार्यालयमा आयोजना गरेको पत्रकारसँगको अन्तक्र्रिया कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपपनारायण रिजाल र उपप्रमुख विणादेवी राईसमेत सहभागी हुनुभएको थियो । सो अवसरमा वरिष्ठ पत्रकार कृष्ण आचार्यले वैदेशिक रोजगारीमा जाने जिल्लाका युवापुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार हुने वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो । “सामी परियोजनाले युवापुस्तालाई विभिन्न बहानमा विदेश पठाउने काम गरेको छ”, उहाँले भन्नुभयो, “वर्षेनी विदेशिने युवापुस्तालाई आफ्नै ठाउँमा स्वरोजगार हुने वातावरण स्थानीय सरकारले बनाउनुप¥यो । अनि मात्र सरकारले ल्याएको ‘समृद्ध नेपाल, सुखी नेपाली’ भन्ने नारा साकार हुन्छ ।” नगरप्रमुख रिजालले नगरपालिकाको तर्फबाट युवापुस्तालाई आफ्नै गाउँठाउँमा स्वरोजगार बनाउन विभिन्न कार्यक्रम अघि सारिएको बताउनुभयो । “वैदेशिक रोजगारीमा जान चाहने युवापुस्तालाई तत्काल रोक्ने स्थिति त छैन”, उहाँले भन्नुभयो, “क्रमिकरुपमा स्वरोजगारमूलक कार्यक्रमहरु लागू गरेर विदेश जाने युवालाई आफ्नै क्षेत्रमा स्वरोजगार बनाउने योजनामा छौँ ।” नेपाल सरकार र स्वीस सरकारबीच भएको सम्झौताअनुसार हेल्भेटास नेपालको प्राविधिक सहयोगमा बालसेवा समाजद्धारा जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी र हलेसी तुवाचुङ नगरपालिका तथा केपिलासगढी र खोटेहाङ गाउँपालिकामा सुरक्षित आप्रवासन परियोजना सञ्चालन भइरहेको छ ।

वैदेशिक रोजगारलाई सुरक्षित र उपलब्धिमूलक बनाउने लक्ष्यका साथ परियोजनाले सूचना तथा परामर्श सेवा, निःशुल्क सीप तथा तालीम, निःशुल्क कानूनी सेवा, मनोसामाजिक परामर्श सेवा, वित्तीय साक्षरता कक्षा सञ्चालन, सामाजिक परिचालनलगायतका काम गर्दै आएको छ ।

Comments Box