पनौतीमा १२ वर्षे ‘मकर मेला



ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा हरेक बाह्र वर्षमा लाग्ने ‘मकर मेला’ को तयारीस्वरुप धमाधम भौतिक पूर्वाधार निर्माणका काम भइरहेका छन् ।हासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा हरेक बाह्र वर्षमा लाग्ने ‘मकर मेला’ को तयारीस्वरुप धमाधम भौतिक पूर्वाधार निर्माणका काम भइरहेका छन् ।हासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौतीमा हरेक बाह्र वर्षमा लाग्ने ‘मकर मेला’ को तयारीस्वरुप धमाधम भौतिक पूर्वाधार निर्माणका काम भइरहेका छन् । नगरले वर्ष दिनअघिदेखि नै मेलाको तयारीस्वरुप पनौतीस्थित सचीतीर्थ–त्रिवेणीघाटलगायत नगरका विभिन्न क्षेत्रभित्र भौतिक पूर्वाधारको काम थालेको हो ।

मकर मेला यसै वर्षको माघ महिनाभर सञ्चालन हुनेछ । बाह्र वर्षे मकर सङ्क्रान्तिमा पनौतीमा मकर मेला लाग्ने गर्दछ । मेलामा नेपालमा मात्र नभई उत्तर भारत प्रयागबाट समेत तीर्थालु आउने गरेका छन् । मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो । उक्त स्थानमा थप भौतिक संरचनासहित मेला व्यवस्थित बनाउन नगरले थुप्रै योजना अघि सारेको छ । उक्त स्थानमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरिमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पूण्य मिल्ने धार्मिक आस्था छ । एक महिनासम्म लाग्ने उक्त मेलालाई थप व्यवस्थित बनाउन ढाँडाचौर–सूर्यविनायक–मानेदोभान तथा रानीकोट–सूर्यविनायक–जाकीडोल र पनौतीबाट बिपी राजमार्ग जोड्ने सडक पूर्णरुपले सञ्चालनमा ल्याउन निर्माण एवं स्तरोन्नति भइरहेको छ ।

नगरले निर्माणाधीन पनौती–बाँसडोल, पनौती–खोपासी, पनौती–कुशादेवी, पनौती–बनेपा र पनौती आशापुरी सडकलाई स्तरोन्नति (पक्की) गरी यथाशक्य सञ्चालनमा ल्याइने नगरप्रमुख भीम न्यौपानेले बताउनुभयो । न्यौपानेका अनुसार स्तरोन्नति भइरहेको बनेपा–पनौती सडकमा मेला अवधिभर ट्राफिक जाम कम गर्न निर्माणाधीन पनौती–बनेपा (पुण्यमाता करिडोर) ले निकै राहत दिलाउनेछ । “पनौती आउने विभिन्न सडकलाई मर्मतसम्भार एवं स्तरोन्नति गर्दा धर्मावलम्बीलाई सजिलो हुने अपेक्षा गरेका छौँ”, न्यौपानेले भन्नुभयो । पनौती सङ्घीय राजधानी काठमाडौँबाट पूर्वतर्फ २५ किलोमिटरको बनेपाबाट छ किलोमिटर दक्षिणमा पर्दछ । मेला सम्पन्न गर्न नगरप्रमुखको उपस्थितिमा हालै एक दर्जन उपभोक्ता समिति गठन गरिएका छन् । ती समितिले यसै वर्ष आगामी पुसको अन्त्यसम्ममा त्रिवेणीघाट मात्र नभई सिङ्गो पनौतीलाई ‘दुलही’झैँ सिङ्गार्नुपर्ने जिम्मेवारी दिइएको छ ।

यसमध्ये पनौतीभित्रका मठमन्दिर तथा पाटीमा रङ्गरोगन तथा झल्लर–तोरणले झिलीमिली बनाइने मुख्य काम हो । साथै पनौती प्रवेश गर्ने मुख्य नाकामा स्वागतद्वार निर्माण गर्नुपर्नेछ । यीसहित भौतिक निर्माणका लागि चालू आर्थिक वर्षदेखि नै नगरले रु तीन करोडभन्दा माथि बजेट छुट्याइएको नगरप्रमुख न्यौपानेले बताउनुभयो । मेलालाई व्यवस्थित गर्न हाल श्रद्धालुलाई स्नानको लागि त्रिवेणीघाट वरिपरि बेलीब्रिज र मानेश्वरी बसपार्कदेखि त्रिवेणीघाटसम्म पूण्यमाता खोलाको दायाँबायाँ पैदलमार्ग, विश्रामस्थललगायतका भौतिक संरचना द्रुत गतिमा अघि बढिरहेको न्यौपानेले बताउनुभयो । उहाँका अनुसार नगरले ढुङ्गेधारा मर्मत, थप धाराहरुको व्यवस्था, फुटपाट मर्मत, ऐतिहासिक पाटीका जस्तापाता निकालेर झिङ्गटीले छाउने, रथहरुको आवश्यक मर्मत गरी तयारी अवस्थामा राख्ने, सडक बत्तीको पर्याप्त व्यवस्था गर्ने नगरको योजनामा उल्लेख गरिएको छ, साथै पनौतीबाट चल्ने सबै प्रकारका सवारीसाधनमा ‘भिजिट मकर मेला–२०७८, पनौती’ लेखिएको स्टिकर तथा फ्लेक्सहरु टाँगिनेछ ।

नगरको योजनाअनुसार त्रिवेणीघाटस्थित क्षेत्रमा रोशी खोलातर्फ सिँढी तथा रोशी खोलामा चारवटा ड्याम तथा सोही क्षेत्रमा शौचालय मर्मत–सुधार, मानेश्वरी बसपार्क क्षेत्रमा शौचालय निर्माण तथा आवश्यक क्षेत्रमा अस्थायी शौचालय बनाइने छ । मेला अवधिभर मल्पी ड्यामबाट नियमितरुपले रोशी खोला तथा मल्पी–लिलावती बाँसडोल खोलामा स्वच्छ पानी बहाइनेछ । यसका लागि मकर मेला शुरु हुनु हप्ता पहिले खानी तथा खानीजन्य उत्खनन, पैठारी बन्द गर्ने योजना बनाइएको छ । राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन् । तीन नदीको सङ्गमस्थल त्रिवेणीघाटमा पूण्यमाता र रोशी खोलाबाहेक पद्यमावती नदी गुप्तरुपमा बगिरहेको मान्यता रहेको छ ।

भारतको प्रयागमा गङ्गा र यमुना नदीको सङ्गममा गुप्तरुपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पून्यणमाता नदीलाई लिलावती र गुप्तरुपले बहेकी ब्रह्मायणी मन्दिरमुनिबाट दूध बग्ने नदी पद्यमावती मानिँदै आइएको छ । स्कन्दपूराणअन्तर्गत हिमवत् खण्ड (नेपाल महात्म्य) मा वर्णन गरिएअनुसार परापूर्वकालमा श्रृष्टिकर्ता परब्रम्हाले ‘अहिल्या’ सुन्दरुी सिर्जना गरी दश इन्द्रीया बसमा राख्न सक्ने गौतम ऋषिलाई नासोको रुपमा सुम्पिएपछि यो कुरा थाहा पाएका देवराज इन्द्र अहिल्याको रुपबाट कामातुर भई ऋषिको भेषमा अहिल्याको सतित्वहरण गरेका थिए । स्नान गरी फर्कंदा इन्द्रबाट अहिल्याको सतित्वहरण भएको थाहा पाएपछि रिसले चुर भएका ऋषिले उनलाई जुन वस्तुमा बढी लालसा राख्यो, त्यही वस्तु शरीरमा उत्पन्न होस् भनी श्राप दिएपछि इन्द्रको शरीरमा हजारौँ योनी पाप चिह्नका रुपमा देखिएको थियो ।

सतित्वहरणपछि पत्थरझैँ विवेकहीन अवस्थामा रहेपछि ऋषिले अहिल्यालाई शिला हुने श्राप दिएका र त्रेतायुगमा मर्यादा पुरुष रामचन्द्रको जन्म हुने र उनकै पाउ स्पर्सपछि अहिल्याको श्राप मोचन हुने भनिएको छ । पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिरको उत्तरपूर्व कुनामा अवस्थित अहिल्या (शिला) लाई काठमाडौँको काष्ठमण्डपपछि पुरानो कलाकौशलयुक्त मन्दिरको रुपमा गनिएको छ । शरीरभरि योनी भएका देवराज इन्द्र पनौतीमा आई १२ वर्षसम्म ‘श्री महादेव’को तपस्या÷भक्ति गर्दा पापमुक्त भएपछि सोही बेलादेखि मकर मेला निरन्तररुपमा चल्दै आएको जनविश्वास रहेको छ । अर्को किंवदन्तीअनुसार पाटन र पनौतीमा ठूलो खडेरीपछि अनिकाल हुँदा दुवै ठाउँका तान्त्रिक फुल्चोकी माईकहाँ पूजापाठ गरी पानी माग्थे ।

दुई क्षेत्रबीच पानी लैजाने होडबाजी चलिरहे पछि फुल्चोकी माताले जसले पहिलो चाँदी र सुनको फूल चढाउँछ उसलाई वरदान दिने भन्नुभएको थियो । यसपछि सुन र चाँदीवाला पाटनका तान्त्रिकले ती फूल बनाउन दिए, यता पनौतीका तान्त्रिकले आफूसँग जान्ने कालीगढ नभएको जनाउँदै तोरी र मूलाको फूल (सुन र चाँदीजस्तो देखिने) चढाएपछि सुन–चाँदीका निम्ति प्रख्यात पाटनलाई भन्दा मूला, तोरी र साग खेती गर्नेलाई पानीको अभाव छ भन्दै खुशी हुँदै फुल्चोकी माताले पनौतीतर्फ पानी पठाइदिनुभएको थियो । छ वर्षपछि सुन र चाँदीको फूल बनाएर फुल्चोकी मातालाई चढाएर आफूहरुलाई पनि वरदान मिल्नुपर्ने बताएपछि माताले उक्त पानी आधा गोदावरी पठाएकी थिइन् ।

यसपछि छ÷छ वर्षको अन्तरमा गोदावरी मेला र १२÷१२ वर्षमा मकर मेला लाग्ने गरेको जनविश्वास छ । जन्मदेखि मृत्युसम्मका धार्मिक क्रियाकलाप हुने पनौतीको उक्त त्रिवेणी सङ्गममा हरेक वर्षको माघ महिनामा साँखु र भक्तपुरमा माधवनारायण देवतालाई यहाँ ल्याएर दुई दिनसम्म राखिने पनि गरिन्छ ।

पच्चीस वर्षपछि ‘विश्व सम्पदा’मा सूचीकृत हुँदै पनौती

ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुने भएको छ । संयुक्त राष्ट्र सङ्घीय निकाय (युनेस्को)द्वारा २५ वर्षअघि प्रस्तावित काभ्रेपलाञ्चोकको पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्ने कामले यो वर्ष तीव्रता पाएको समेत नगरले जनाएको छ । सूचीकृतको अन्तिम प्रक्रियाका लागि मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइमा छ । पनौती नगरलाई विश्व सम्पदामा सूचीकृत गर्ने कार्य गत साल नै अघि बढाइएपछि युनेस्कोको नेपाल प्रमुख क्रिष्टियन मनहर्टले हालै पनौतीका ऐतिहासिक, धार्मिक तथा पुरातात्विक सम्पदाको अवलोकन गर्नुभएको थियो ।

अवलोकनका क्रममा मनहर्टले विशेष रुचिपूर्वक मठमन्दिर तथा पुराना नेपाली मौलिकता बोकेका घरलाई विश्व सम्पदामा सूचीकृत गर्न युनेस्को तयार भएको स्थानीय जनप्रतिनिधिलाई जानकारी गराएपछि नगरले प्रक्रियाका लागि बजेटसमेत विनियोजन गरेको थियो । “हामी बाह्रवर्षे मकर मेला (२०७८ माघ) अगावै विश्व सम्पदा सूचीमा सूचीकृत हुने तयारीमा छौँ, चालू आर्थिक वर्षमा यसका लागि बजेटसमेत विनियोजन गरेर काम अघि बढाइएको छ”, नगरप्रमुख भीम न्यौपानेले भन्नुभयो । उहाँका अनुसार नगरले चालू आर्थिक वर्षमा विश्व सम्पदामा सूचीकृत गराउन रु एक करोड बजेट छुट्याएको छ । सूचीकृतको मन्त्रालयगत प्रक्रिया अन्तिम चरणमा पु¥याइएपछि मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको न्यौपानेले जानकारी दिनुभयो । उहाँले “मन्त्रिपरिषद्को बैठकले निर्णय गरेपछि सो निर्णयको आधारमा यूनेस्कोले पनौतीलाई विश्व सम्पदामा सूचीकृत गर्नेछ ।” सूचीकृतको यस प्रक्रियामा आफूद्वारा पुनःनिर्माण गर्ने ७२ वटा मौलिक नेपाली घरको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) समेत स्थानीय आरपी फाउण्डेशनले नगरलाई हस्तान्तरण गरिसकेको छ । उहाँका अनुसार नगर कार्यालयद्वारा सांस्कृतिक पर्यटन विकासका लागि कलात्मक काठ बनाउने तालीम, होमस्टे (घरबास) सञ्चालन र पुरातात्विक सम्पदाको संरक्षण कार्यक्रम सञ्चालन गरेको छ ।

काभ्रेपलाञ्चोकको पनौती विश्व सम्पदामा सूचीकृत भएपछि ‘पनौती यूनेस्को विश्व सम्पदा क्षेत्र’ भनिनेछ । युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तै ः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर) धरोहरलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचीकृत गर्न प्रस्ताव गरेको थियो । त्यसयता सरोकारवालाको बेवास्ताले सूचीकृतको काम अन्यौलमा रहँदै आएको नगरप्रमुख न्यौपानले बताउनुभयो । पुरातत्व विभागद्वारा हाल पनौती नगरका ऐतिहासिक मठमन्दिर तथा पूराना कलात्मक शैलीका घरको पुनःनिर्माण भइरहेको छ ।

पनौती नपाको वडा नं ५, ६ र ७ नंवरमा एक सयभन्दा बढी ऐतिहासिक मठमन्दिर, पाटी, पौवा रहेका छन् । फ्रान्स सरकारको सहयोगमा २०४८ सालदेखि २०५५ सालसम्ममा ती मठमन्दिर, पाटी, पौवाको मर्मत एवं जीर्णोद्वार गरिएको थियो । पुरातत्व विभागका अनुसार नेपालका चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । जसमा काठमाडौँ उपत्यका (उपत्यका सात क्षेत्र ः काठमाडौँ दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज रहेका छन् ।

नेपालले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीयस्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ । यसमध्ये सूचीकृतमा पनौती पहिलो हुने देखिएको छ ।