तनहुँ, २४ चैत – जिल्लाको भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका जोड्ने सेतीनदीमाथिको ऐतिहासिक झोलुङ्गे पुल ओझेलमा परेको छ। राणाकालीन समयमा निर्माण गरिएको उक्त पुल जीर्ण अवस्थामा पुग्दा दक्ष कालीगढ नपाउँदा संरक्षण हुन नसकेको हो।
पुरातात्विक महत्वको झोलुङ्गे पुलको संरक्षणको लागि नगरपालिकाले बजेटसमेत विनियोजन गर्दै आएको नगरपालिकाकाप्रमुख मेखबहादुर थापाले बताउनुभयो। पुलको संरक्षणको लागि विज्ञ टोलीको खोजीकार्य भइरहेको छ। उहाँले भन्नुभयो, “पुल निर्माण गर्ने कालीगढको अभावका कारण बजेट विनियोजन गरिए पनि कार्यान्वयन गर्न सकिएको छैन।” पुलको संरक्षणको लागि स्थानीय र गण्डकी प्रदेश सरकारले चासो देखाउँदै आएका छन्। उहाँले भन्नुभयो, “नगरपालिकाले ऐतिहासिक झोलुङ्गे पुल मर्मतसम्भार तथा संरक्षण योजना शीर्षकमा पटकपटक बजेट विनियोजन गरे पनि ‘फ्रिज’ हुन पुगेको छ।” हामी पुल संरक्षणका लागि विभिन्न ठाउँसम्म पुगेका थियौँ। उहाँले भन्नुभयो, “यस किसिमको पुलसम्बन्धी सीप भएका व्यक्ति भेट्टाउन नसकिएकाले त्यस्ता व्यक्ति भए नगरपालिकाले समन्वय गरेर काम गर्न तयार छ।”
पुरातात्विक र ऐतिहासिक क्षेत्रको अनुसन्धान, पुनःनिर्माण गर्नुपर्ने भएकाले डोजर लगाएर नष्ट गर्न नसकिएको नगरप्रमुख थापाले बताउनुभयो। ढोर क्षेत्रको मिनामखानीमा रहेको फलाम खानीबाट स्थानीय विश्वकर्मा समुदायले फलाम निकालेर यो पुल निर्माण गरेको बताइएको छ। उक्त पुलमा प्रयोग भएका काठका फल्याक कुहिएका छन् भने फलामको लठ्ठा अहिले पनि जस्ताको त्येस्तै अवस्थामा देख्न सकिन्छ। निर्माण भएको सयौँ वर्ष बित्दा पनि फलामको गुणस्तर र कालीगढको चर्चा अहिले पनि उत्तिकै रहेको पाइन्छ। प्रदेश सरकारले ऐतिहासिक पुलको मर्मतसम्भार तथा संरक्षणका लागि गत वर्ष रु ११ लाख र यस आवमा रु बीस लाख विनियोजन गरेको नगरपालिकाले जनाएको छ। पुलको लागि भनेर छुट्टाएको बजेट काम गर्न नसकेपछि फ्रिज भएको नगरपालिकाका सूचना अधिकारी ऋषिभक्त वाग्लेले जानकारी दिनुभयो।
आधुनिक पुलको विषयमा धेरै विज्ञ रहे पनि पुरानो पुलको सन्दर्भमा ज्ञान भएका व्यक्ति नहुँदा समस्या भएको हो। उहाँले भन्नुभयो, “ऐतिहासिक पुलको संरक्षणको लागि पुरातात्विक विभागमा गएर विवरण पेश गर्दा मर्मतसम्भार र संरक्षण गर्नुपर्ने इस्टिमेट ल्याउन भने पनि त्यो तयार गर्न नसक्दा संरक्षणको प्रक्रिया रोकिन पुगेको छ।” उक्त झोलुङ्गे पुल नजिकै मोटरेबल पुल निर्माण गरिएको छ। सोही पक्की पुल हुँदै तनहुँ, स्याङ्जा, पाल्पा र नवलपुरलगायतका सयौँ सर्वसाधारण दैनिक आवतजावत गर्ने गर्दछन्। ऐतिहासिक महत्व बोकेको झोलुङ्गे पुलको दयनीय अवस्था देखेपछि सर्वसाधारणले समेत खोलो तर्यो , लौरो बिस्र्यो भन्ने गरेको स्थानीयवासी बताउँछन्।
–सानेबहादुर नेपाली(रासस)
–––