‘बलिप्रथा मुक्त वडा’ बनाउने अभियान



“सानो छँदा हजुरबाले राँगा, बोका र कुखुरालगायत पञ्चबलि लिएर धुमधामका साथ कोट पुगेको अहिले पनि याद आउँछ । बाबै ! रगतको खोलो बग्ने कोटमा म त एकछिन बिताउन सकिनँ, भागेर घर आएँ”, बागलुङको काठेखोला गाउँपालिका–६ बिहुँका डिलप्रसाद कँडेलले बालापन सम्झँदै भन्नुभयोे, “कोटमा हुने पू्जामा गाउँभरिकाले बलि चढाउँथे, कोटघरको वरपर रक्ताम्मे हुन्थ्यो ।” कँडेललाई जानकारी भएअनुसार बिहुँकोटमा बलि चढ्न थालेको २०० वर्ष भयो ।

बिहुँकोटे राजाले दुई श्रीमती बिहे गरेको र दुई घरबार भएकाले बिहुँमा दुईवटा कोट छन् । तल्लो र उपल्लो कोटले चिनिने दुवै कोटमा बलि चढ्छ । अन्य शिवालय र मन्दिरमा भने बलि चढ्दैन । “पहिला यस्तो थिएन रे, पछि बलि प्रथाको शुरुआत भयो, दुवै कोटमा बलि चढाउनैपर्ने नियम बनाएका भन्ने सुनेका छौँ”, बिहुँका पुराना शिक्षक शिवलाल कँडेलले भन्नुभयो, “अहिलेसम्म पनि मङ्गलबार र बिहीबार बलि चढाउन आउनेहरू धेरै हुन्छन् ।” शिवलाल र डिलप्रसादले कोटमा देखेको रगतको खोलो अबको पुस्ताले देख्नुपर्ने छैन । न त रगतको पोखरी देखेर कोटमा पुग्नेहरू बेहोस नै हुनुपरोस् । पशुबलि दिएर मानिसको महत्वकाङ्क्षा पूरा हुने अन्धविश्वास तोड्न अहिले बिहुँमा ‘बलिप्रथा’ अन्त्यको प्रयास थालिएको छ । बिहुँमा रहेका दुवै कोटमा चैतको १ गतेदेखि पशुबलि नचढाउन वडा कार्यालयले निषेध गरेको छ ।

स्थानीयवासीलाई सार्वजनिक सूचनामार्फत जानकारी गराएर वडा कार्यालयले पशुबलि नचढाउन आग्रह गरेको छ । “पशुबलि चढाएर कसैले मागेको पुग्दैन, यो अमानवीय व्यवहारको अन्त्य गर्ने प्रयास थालेका छौँ” वडाध्यक्ष युक्तप्रसाद कँडेलले भन्नुभयो, “सार्वजनिक सूचना गरेर जानकारी गराइएको छ, अब कसैले नियम तोडे कारवाही हुन्छ ।” स्थानीय बुद्धिजीवी, समाजसेवी र ५ नं वडा कार्यालयसँगको परामर्शका आधारमा ‘बलिप्रथा मुक्त वडा’ बनाउने अभियान थालिएको कँडेलले बताउनुभयो । “मासु खाने वा नखाने व्यक्तिगत रुचि र चाहनाको कुरा हो तर धर्मका नाममा निर्दोष पशुको बलि चढाएर रगतको खोला बगाउनु राम्रो होइन”, उहाँले भन्नुभयो, “हामीले दिएको बलिले भगवान् खुशी हुँदैनन्, यो त हिंसा पो हो त ।” चाडपर्वका समयमा कोटघरमा दिइने बलिले हिन्दू सभ्यतालाई नै गिज्याइरहेको कँडेल बताउनुहुन्छ । “सञ्चारमाध्यामबाट पनि सूचना गर्दैछौँ”, चेतनाको अभावमा भइरहेको कमजोरी सबैले सच्याउनुहुन्छ भन्ने लागेको छ”, कँडेलले भन्नुभयो, “हामी पशुबलि मुक्त वडाको नागरिक भएर बाच्ने छौँ ।” धार्मिक सम्पदाको संरक्षण र सभ्य समाजको निर्माणका लागि यस्तो निर्णय गर्नुपरेको उहाँको भनाइ छ ।

वडाले गरेको निर्णयमा स्थानीय खुशी छन् । “धर्म नै छोड भनेको होइन, कमीकमजोरी सच्याउभन्दा किन चित्त दुखाउनु” पूर्वशिक्षक शिवलाल भन्नुहुन्छ, “यसले हाम्रो धर्म संरक्षणमा थप सहयोग गर्छ ।” धार्मिक सम्पदाको संरक्षण र प्रचारप्रसारका लागि लगानी गरिरहेको वडाले धर्मको नाममा हुने गतिविधिमा सुधार ल्याउने प्रयास थालेको वडाध्यक्ष कँडेल बताउँछन् ।

Comments Box