२० समूहका १५१ आरोहीलाई आरोहण अनुमति; मार्चमा आए दश हजार विदेशी



काठमाडौँ, १९ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले वसन्त यामको आरोहणका लागि सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि २० आरोही समूहलाई आरोहण अनुमति (एक्सिपिडिशन पर्मिट) दिएको छ।

 सगरमाथाका तीनसहित २० आरोही समूहका १५१ आरोहीलाई आरोहण अनुमति दिइएको विभागले जनाएको छ। आज मात्रै सगरमाथाका तीनसहित छ आरोही समूहले आरोहण अनुमति पाएको विभागको पर्वतारोहण शाखाका अधिकृत भीष्म भट्टराईले जानकारी दिनुभयो। विभागले हालसम्म सगरमाथा, अन्नपूर्ण, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने आरोहण अनुमति दिएको छ।

 पर्वतारोहण शाखाको तथ्याङ्कमा हालसम्म सोलुखुम्बुमा पर्ने सगरमाथा (८,८४८.८६ मिटर) आरोहणका लागि सबैभन्दा बढी सात आरोही समूह छन् र सोही क्षेत्रमा पर्ने ल्होत्से (८,५१६ मिटर) मा दुई, नुप्से (७,८६४ मिटर) मा दुई आरोही समूह छन्।

 यस्तै पुमरी (७, १६१ मिटर) मा एक आरोही समूहलाई अनुमति दिइएको छ। गण्डकी क्षेत्रमा पर्ने अन्नपूर्ण हिमाल (८,०९१) आरोहणका लागि चार र धौलागिरि हिमाल (८,१६७ मिटर) मा दुई समूहलाई अनुमति दिएको छ भने गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) मा एक आरोही समूह छ।

 हिमाल आरोहणका लागि उपयुक्त मौसम वसन्तयामलाई मानिन्छ। यो अनुकूल मौसममा सगरमाथासहितका विभिन्न चर्चित हिमालमा स्वदेशी तथा विदेशी आरोहीले सर्वाधिक आरोहण गर्छन्। सगरमाथा, अन्नपूर्ण, मनास्लुलगायतका उच्च हिमशृङ्खला आरोहीको रोजाइमा पर्छन्।

 आरोहणका लागि बाटो बनाउने आइसफल चिकित्सक पनि गन्तव्यमा रहेको विभागले जनाएको छ। आइसफल चिकित्सक सगरमाथाको आधार शिविरभन्दा माथितिर पुगिसकेका छन्। वसन्तयामको आरोहणका लागि विभागले धमाधम आरोहण अनुमति जारी गरिरहेको छ।

 मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ शुरुआत भए पनि अप्रिलको दोस्रो सातासम्म विभागलाई अनुमति जारी गर्न भ्याइनभ्याइ हुन्छ। वसन्तयामको आरोहणका लागि विभागले यही चैत २ देखि आरोहण अनुमति जारी गरेको थियो। चैत १३ मा सगरमाथा आरोहणको पहिलो ‘पर्मिट’ जारी भएको थियो। बहराइनका राजकुमार शेखमोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले पहिलो आरोहण अनुमति लिएको छ। नेपालस्थित सेभेन समिट ट्रेकमार्फत आरोहणको तयारी भइरहेको छ। बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली छन्।

कोभिड–१९ महामारी जोखिमका बीच आरोहण अनुमति जारी हुनु र यसमा पनि विशिष्ठ पाहुनाको आरोहणले नेपालको साहसिक पर्यटन सुरक्षित रहेको सन्देश विश्वभर फैलाउन सहयोग पुग्ने अपेक्षा विभागले लिएको छ। कोरोनाका कारण अघिल्लो वर्ष मुख्य याममै नेपालको पर्वतारोहण र पदयात्राले असर बेहोरेको थियो।

मार्चमा दश हजार विदेशी पर्यटक नेपाल भित्रिए

सन् २०२१ को मार्च महिनामा १४ हजार ९७७ विदेशी पर्यटक नेपाल आएका छन्। यो सङ्ख्या सन् २०२१ को तीन महिनाको अवधिमा सबैभन्दा धेरै हो।

वर्षको पहिलो तीन महिनामा कूल ३२ हजार ९९७ पर्यटक नेपाल आएका छन्। जनवरीमा आठ हजार ८७४ र फेब्रुअरीमा नौ हजार १४६ पर्यटकले नेपाल भ्रमण गरेका छन्। अध्यागमन विभागले नेपाल पर्यटन बोर्डलाई उपलब्ध गराएको तथ्याङ्कअनुसार मार्चमा ११ हजार २०० पुरुष, तीन हजार ३६३ महिला र १२ अन्य लिङ्गी पर्यटक नेपाल आएका छन्।

तुलनात्मक रुपमा यो सङ्ख्या सन् २०२० को तुलनामा ५५ दशमलव ५८ प्रतिशत काम हो। सो अवधिमा ३४ हजार २५ पर्यटक नेपाल आएका थिए। यस्तै सन् २०१९ को तुलनामा ८८ दशमलव २४ प्रतिशतले कमी हो। सन् २०१९मा एक लाख २७ हजार ३१५ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका थिए।

मार्चमा भारतबाट सबैभन्दा धेरै सात हजार ६५८ पर्यटक नेपाल आएका छन्। अमेरिकाबाट एक हजार ७०३ पर्यटक आएका छन्। चीनबाट एक हजार २०७ पर्यटक आएका छन्। बेलायतबाट ६६५ र बङ्गलादेशबाट ५६८ पर्यटक नेपाल आएका छन्।

वसन्तयामको आरोहण चलिरहेकाले अहिले अधिक सङ्ख्यामा विदेशी नेपाल आउनुले कोभिडपछिको पर्यटनलाई चलायमान बनाउन सकारात्मक प्रभाव पर्ने बोर्डको अनुमान छ। बोर्डका प्रवक्ता  मणि लामिछानेले क्रमशः विदेशी पर्यटकको आगमन वृद्धिले पर्यटन क्षेत्रमा सकारात्मक संकेत देखिएको र यसले समग्र पर्यटन क्षेत्रलाई उत्साहित तुल्याएको बताउनुभयो।(रासस)

–––

Comments Box