पोखरा होमस्टेमा बसिरहेको बालयौन दुराचारी अमेरिकी पक्राउ



बाल यौन दुराचारको आरोपमा एक विदेशी नागरिकलाई प्रहरीले आज पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले उक्त कसूरमा अमेरिकन नागरिक माइकल नर्मन टेलरलाई पक्राउ गरेको आज एक सूचना जारी गरी जनाएको छ ।

निकै अघिदेखि खोजीको सूचीमा रहेका उनलाई आज कास्कीको पोखरा महानगरपालिका–१८ स्थित होमस्टेमा बसिरहेका बेला ब्यूरोको टोलीले पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाएको जनाएको छ । उनले अमेरिका रहँदादेखि नै बालयौन दुराचार गर्ने मनसायले नेपाली बालबालिकासँग सामाजिक सञ्जालमार्फत नियमित सम्पर्क गर्ने गरेको भन्ने सूचनका आधारमा ब्यूरोले उनलाई खोजी गरिरहेको थियो । उनी सन् २०१८, २०१९ र २०२१ गरी तीन पटक नेपाल आएको र सन् २०१९ मा तीन बालबालिकालाई बालयौन दुराचार गरेको भन्दै पीडितबाट जाहेरी दरखास्त परेको छ ।

उनको साथबाट प्रहरीले चार हजार ६०० अमेरीकी डलर, ल्यापटप तथा मोबाइल बरामद गरेको ब्यूरोका उपनिर्देशक प्रहरी उपरीक्षक गङ्गा पन्तले जानकारी दिनुभयो ।

Comments Box