थकाली समुदायमा तोरन ल्हको रौनक



म्याग्दी, १५ चैत (रासस): म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा तोरन ल्ह (फागु पूर्णिमा) पर्वको रौनक छाएको छ। नेपालका विभिन्न क्षेत्रमा करिब १० हजार जनाको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले फागु पूर्णिमाको अवसरमा हरेक वर्ष तीन दिनसम्म परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन्।

 तोरन ल्ह मनाउन घर बाहिर र विदेशमा रहेका थकालीहरू आफ्नो जन्मथलो फर्किएका छन्। तोरन ल्हमा थकाली समुदायले घर सिँगारपटार गरेका छन्। फागु पूर्णिमाको अघिल्लो दिन शुरु हुने तोरन ल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका उपाध्यक्ष कृष्णकुमार शेरचनले बताउनुभयो।

सेल्फी लिँदै ठिनी गाउँका महिला हिउँमा । तस्वीर: सौजन्य नरेन्द्र थकाली/रासस

 तीन दिन सबैरे उठेर चोखो निष्ठ भएर पितृलाई सम्झिएर पूजाआजा गर्ने र फूलप्रसाद चढाउनुपर्छ”, शेरचनले भन्नुभयो, “आफन्तलाई बोलाएर मिठामिठा परिकार खुवाउने र आर्चरी (तारो हान्ने) खेल्ने चलन छ।” मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ। घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य छ। म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ। परम्परागत तारो हान्ने खेलको संरक्षणका लागि थकाली सेवा समिति दरवाङ क्षेत्रले रातोढुङ्गा र दाना क्षेत्रको आयोजनामा तिप्ल्याङ तारो खेल (आर्चरी) शुरु गरेको छ।

 तारो खेल (धनुषवाण)लाई थकाली समुदायले आफ्नो जातीय पहिचानसँग जोडेका छन्। धार्मिकग्रन्थहरूमा विभिन्न युद्धमा धनुषवाणको प्रयोग भएको भेटिएकाले यसको विकास मानव समाजको उत्पत्तिकालदेखि नै भएको अनुमान गरिन्छ। कुनै समय युद्धको महत्वपूर्ण हतियार, जङ्गली जनावरको शिकार गर्ने माध्यम धनुषवाणले अहिले खेलकूदको एउटा विधाका रूपमा मान्यता पाएको छ।

 आर्चरी खेलमा प्रयोग हुने नियम र त्यसका शब्दहरू अल्पसङ्ख्यक थकाली समुदायको भाषासँग मिल्ने हुनाले यसलाई थकाली समुदायले आफ्नो जातीय पहिचान मानेको थकाली सेवा समिति दरवाङ क्षेत्रका अध्यक्ष विनोद भट्टचनले बताउनुभयो। एउटा समूहमा छ जनासम्म खेलाडी सहभागी भएर खेल्ने आर्चरीमा तिखो वाण र विशेष गरेर बाँसको धनुष प्रयोग हुन्छ। पछिल्लो समय अन्य धातुका समेत धनुष बनाउने गरिएको छ।

 एक सयदेखि डेढ सय मिटरको दूरीमा दुईतर्फ काठका फल्याक राखेर एकबाट अर्को ठाउँतर्फ वाण प्रहार गर्ने र वाण फल्याकभित्र कोपिएको आधारमा खेलको मूल्याङकन हुन्छ। फल्याकभित्र सानो गोलो आकारको घेराभित्र वाण कोपिएमा खोल पसेको भनिन्छ। खोल आर्चरी खेलमा महत्वपूर्ण उपलब्धि हो।

 मालिका महोत्सव स्थगित

 मालिका गाउँपालिकाको केन्द्र दरबाङमा चैत २७ गतेदेखि आयोजना गरिएको प्रथम मालिका महोत्सव स्थगन भएको छ। कोरोना भाइरसको दोस्रो लहरको जोखिम बढेकाले नयाँ वर्षको अवसरमा आयोजना गरिएको महोत्सव स्थगन गरिएको मूल आयोजक म्याग्दी उद्योग वाणिज्य सङ्घको मालिका बजार एकाइ समितिले जनाएको छ।

 एकाइ अध्यक्ष लेकबहादुर पुनले आयोजक समिति र सरोकारवालाको शनिबार दरवाङमा बसेको बैठकले अर्को निर्णय नहुँदासम्मका लागि महोत्सव स्थगन गरिएको जानकारी दिनुभयो। चैत २७ देखि वैशाख ३ गतेसम्म महोत्सवको आयोजना गरिएको थियो। अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधीन नीलगिरिखोला जलविद्युत् आयोजनामा भारतबाट काम गर्न आएका चार मजदुर र जिल्ला कारागारका एक कैदीलाई गत मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो। पछिल्लोपटक मालिका गाउँपालिकाकै एक शिक्षकलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

 कोरोना जोखिम कम भएपछि महोत्सव गर्न नयाँ कार्यतालिकाको अर्को मिति तय गरिने अध्यक्ष पुनले बताउनुभयो। पर्यटन प्रर्वद्धन, कला र संस्कृतिको संरक्षण, ओझेलमा परेका पर्यटकीयस्थलको प्रचारप्रसार र खेल प्रतिभाको प्रोत्साहनका लागि महोत्सव आयोजना गर्ने तय भएको थियो। महोत्सवमा पुरुष/महिला भलिबल, लोकदोहोरी, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, घरेलु उत्पादन, कृषि उपजको प्रदर्शनी, पञ्चेबाजा, ख्याली, सोरठी नृत्य र कलाकारको गायन प्रस्तुति तय भएको थियो।

 दोस्रो लहरको कोरोनाको जोखिम बढेपछि गत बुधबार जिल्ला प्रशासन कार्यालयमा बसेको सरोकारवालाको बैठकले भीडभाडमा कडाइ गर्दै भारतबाट आउनेलाई १० दिन अनिवार्य एकान्तबास बस्नुपर्नेलगायतका निर्णय गरेको थियो।

–––

Comments Box