पोखरा म्याराथन : दौडको उपाधि तीर्थ र फूलमतिलाई



पोखरा अन्तरराष्ट्रिय म्याराथनअन्तर्गत आज पोखरामा सम्पन्न पुरुष तथा महिला १० किमी दौडको उपाधि पुरुषतर्फ तीर्थ पुन र महिलातर्फ सशस्त्र प्रहरी बल एपिएफका फूलमती रानाले जित्न सफल हुुनुभएको छ । भूतपूर्व खेलाडी मञ्च नेपालको आयोजनामा पोखरा रङ्गशालाबाट शुरु दौडमा पुनले निर्धाारित दूरी ३३ मिनेट आठ सेकेण्डमा पार गर्दै उपाधि सहित नगद रु १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो ।

नेपाली सेनाका जितेन्द्र दनुवार द्धितीय र काठमाडौँका शिववहादुर रायमाझी तृतीय हुदै क्रमश ः रु १० हजार र रु पाँच हजार पुरस्कार पाउनुभयो । महिलातर्फ रानाले ४० मिनेट ५२ सेकेण्डमा दौड पूरा गरी ८३ जना प्रतिष्पर्धीलाई पार्दै उपाधि आफ्नो पोल्टामा पार्न सफल हुनुभयो । विजता बन्नु भएका उहाँले रु १५ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गर्नुभयो । धरानकी छेन्वी राईले ४२ मिनेट एक सेकेण्डमा दूरी पार गर्दै द्वितीय बन्दै नगद रु १० हजार पुरस्कार प्राप्त गर्नुभयो भने एपिएफका आशा रावतले ४३ मिनेटमा दौड पूरा गरी तृतीय बन्नुभयो । उहाँले नगद रु पाँच हजारका साथमा मेडल र प्रमाणपत्र पाउनुभयो । विजेता खेलाडीलाई पोखरा म्याराथनको अन्तरराष्ट्रिय पार्टनर संस्था पोखरेली मञ्च यूकेका उपाध्यक्ष करम गुरुङ, मञ्चका अध्यक्ष एवम गण्डकी प्रदेश खेलकूद परिषद्का सदस्य सचिव तेजबहादु गुरुङ र मञ्चका संस्थापक अध्यक्ष खड्ग रानाभाट लगायतले पुरस्कार वितरण गर्नुभएको थियो ।

दौडको पोखरा महानगर पालिकाका प्रमुख मानबहादुर जिसीले शुभारम्भ गर्नुभएउको थियो । दौडमा सहभागी ७४ वर्षीय ज्येष्ठ नागरिक टंक बहादुर श्रेष्ठलाई उहाँको हौसलाको कदर गर्दै महानगर प्रमुखले रु १० हजार प्रदान गर्ने घोषणा गर्नुभएको थियो । प्रतियोगितामा विभिन्न १७ जिल्लाका पुरुषतर्फ ४३९ र महिलातर्फ ८३ जना धावकले सहभागिता जनाएका थिए । पोखरा म्याराथनअन्तर्गत आगामी वैशाख ४ गते पाँच किमी छात्र–छात्रा दौड हुने भएको मञ्चले जनाएको छ । यसअघि मञ्चले ४२ किमीको म्याराथन र महिलाका लागि २१ किमीको हाफ म्याराथन सम्पन्न गरिसकेको छ ।

विगतका वर्षमा सबै विधाका प्रतियोगिता एकैदिन आयोजना हुने गरेकामा यस वर्र्ष कोरोना सावधानी अपनाउन र भीडभाड नगर्न फरक फरक मितिमा आयोजना गरिएको मञ्चले जनाएको छ ।

Comments Box