पर्यटकको बसाइँ लम्ब्याउने, दैनिक खर्च बढाउने रणनीति



– जमुना वर्षा शर्मा/पोखरा, १४ चैत (रासस)

पोखराको पर्यटनलाई ब्राण्डिङसहित प्रवर्ध्दन गर्न आवश्यक तत्कालीन एवं अल्पकालीन रणनीतिका बारेमा तयार गरिएको मस्यौदामाथि सरोकारवालाबीच बृहत छलफल गरिएको छ। पोखरा महानगरपालिका शहरी योजना आयोग र सृदृढ परियोजनाको सहकार्यमा पर्यटन पुनरुत्थान रणनीतिक योजनासम्बन्धी कार्यशाला गोष्ठीमा कोभिड–१९ को असरसँगै पर्यटन क्षेत्रमा देखिएका चुनौतीलाई चिर्दै आर्थिक–सामाजिक रुपान्तरणका लागि पर्यटनको दिगो विकासबारेमा सरोकारवालाबीच छलफल गरिएको हो।

पर्यटनविज्ञ एवं वन क्याम्पस पोखराका उपप्राध्यापक श्रीकान्त खतिवडाले लामो समयको अध्ययनपश्चात तयार गरेको पर्यटन पुनरुत्थान रणनीतिक योजना मस्यौदा प्रस्तुत गर्नुभएको थियो। मस्यौदाका कोभिड–१९ को अवस्थामा चारवटा उद्देश्य २३ रणनीति र ७६ रणनीतिक कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। प्रस्तुत  मस्यौदामा स्वदेशी तथा विदेशी पर्यटक आगमनमा वृद्धि  गर्ने, पर्यटकको पोखरा बसाइँ अवधि लम्बयाउने, पर्यटकको दैनिक खर्चमा वृद्धि गराई स्थानीय अर्थतन्त्रमा पर्यटनको योगदान बढाउने, पर्यटन प्रवर्ध्दनका लागि पोखराको ब्राण्डिङ र बजारीकरण गर्ने उद्देश्य समेटिएका छन्। मस्यौदामा रणनीतिक योजनाका निर्देशक सिद्धान्तसहित अवसर चुनौतीलाई केलाउने प्रयास गरिएको छ। प्रस्तुत मस्यौदामाथि पर्यटनसम्बद्ध सङ्घसंस्थाले समूहगत छलफल गरेर क्षेत्रगत सुझाव राखेका थिए।

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी । तस्बिर: जमुना वर्षा शर्मा,रासस

महानगरपालिका प्रमुख मानबहादुर जिसीले पर्यटन क्षेत्रको प्रवर्ध्दनका लागि पर्यटन विज्ञको सल्लाह सुझावलाई ग्रहण गरेर पर्यटनमैत्री पूर्वाधार विकासमा महानगरले जोड दिने बताउनुभयो। उहाँले पर्यटकलाई आकर्षित गर्न सांस्कृतिक र प्राकृतिक सम्पदा जोगाउन चुनौती देखिएको जनाउँदै पर्यटनमा सामूहिक प्रयासको खाँचो औँल्याउनुभयो। प्रमुख जिसीले आधुनिक विकासका नाममा परम्परागत संस्कृति र मौलिकता गुम्दै गएकामा चिन्ता व्यक्त गर्दै घुमाउने घरहरूजस्ता धेरै मौलिक संरचना पोखराबाट लोप हुँदै गएको उहाँको भनाइ थियो। पर्यटन विश्वविद्यालयका विषयमा पनि महानगरले तयारी गरेको र पोखरालाई पर्यटकीय नगर बनाएर जानका लागि योजना तर्जुमा भइरहेको समेत उहाँले जानकारी दिनुभयो।

महानगरका प्रमुख प्रशासकीय अधिकृत महेश बरालले विश्वव्यापी महामारीले पर्यटन उठ्न नपाउँदै फेरि सुस्ताउने हो कि भन्ने चिन्ता  देखिएको जनाउँदै समस्याको समाधानसहित निकास खोज्नुपर्ने बेला आएको बताउनुभयो। उहाँले पर्यटनको दिगो विकासका लागि अहिलेको अवस्थामा आएका रणनीतिक योजनाले दीर्घकालीन विकासको मार्ग कोर्न सफल हुने भएकाले सबैले अपनत्व ग्रहण गर्न सक्ने गरी गोष्ठीलाई सार्थक बनाउनुपर्ने धारणा राख्नुभयो। प्रतिकूलतालाई कसरी अनुकूलतामा परिणत गर्न सकिन्छ भन्ने विषयमा उहाँले विज्ञता, परामर्शसहित मस्यौदा तयार भएको र यसमा देखिएका कमिकमजोरीलाई सुक्ष्मरूपमा केलाउन सके यसले पोखराको पर्यटनमा एउटा स्पष्ट मार्गचित्र तयार गर्न सक्ने बताउनुभयो।

महानगरका शहरी विकास आयोजना उपाध्यक्ष रामचन्द्र लामिछाने कोभिड–१९ का कारणले पर्यटन क्षेत्रले प्रतिकूलता व्यहोरिरहेको अवस्थालाई दर्शाउँदै अब आउने दिनमा कस्तो रणनीति अपनाउने भन्ने विषयमा रणनीति मस्यौदा तयार भएको बताउनुभयो। उहाँले पर्यटन महानगरको अर्थतन्त्रको ढुकढुकी भएकाले कोभिड–१९ मा पर्यटनले गुमाएको पक्षलाई महानगरले आफ्नो नीतिमार्फत सम्बोधन गर्ने प्रयास गरेको र त्यसको लागि संस्थागत संरचना तयार गरेर जाने सोच रहेको जानकारी दिनुभयो।

अहिले पर्यटन पोखरा राष्ट्रिय दस्तावेजले पर्यटन तीनदेखि पाँच प्रतिशत मात्र कूल ग्राहस्थ उत्पादनमा योगदन गरेको देखिन्छ भने पोखराको महानगरमा पर्यटन क्षेत्रबाट प्रत्यक्ष र प्रत्यक्ष २५ देखि ३० प्रतिशत अर्थतन्त्रमा योगदान दिएको उहाँको भनाइ छ। पोखराका ७५ हजारलाई रोजगारका लागि पर्यटन क्षेत्रलाई स्रोत मानिएको छ।

उहाँले महानगपालिकाले नगरसभाबाट ‘पोखरा पूर्वाधार विकास निगम’ नामको लगानी संरचना तयार गरेको र सो संरचना मार्फत महानगरपालिका र नीजि क्षेत्रको संयुक्त लगानीमा के कस्ता उद्योग व्यवसाय सञ्चालन गर्न सकिन्छ भन्ने नीतिगत व्यवस्थाको तयारीमा रहेको समेत जानकारी दिनुभयो।

पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष टिकाराम सापकोटा, नेपाल पर्यटन बोर्ड पूर्वकार्यसमिति सदस्य बासु त्रिपाठी, पोखरा पर्यटन परिषद्का महासचिव रामचन्द्र शर्मा, नेपाल माउण्टेनियरिङ एशोसिएशनका अध्यक्ष शेषकान्त शर्मा, बड्स सोसाइटीका अध्यक्ष मनशान्त घिमिरे, लेखनाथ उद्योग वाणिज्य सङ्घका सदस्य दामोदरभक्त थापालगायतले क्षेत्रगत सुझाव राख्नुभएको थियो।

ट्रेकिङ एजेन्सिस एशोसियशन अफ नेपाल (टान) पश्चिमाञ्चल, पश्चिमाञ्चल होटल एशोसिएशन (हान), नेपाल एशोसिएशन अफ ट्राभल्स एण्ड टुर एजेन्टस (नाट्टा) रेष्टुरेन्ट एण्ड बार एशोसियसन (रेवान), ट्रेकिङ इक्युपमेन्ट सप एशोसियशन (टेसा) नेपाल हवाइ खेलकुद सङ्घ (ना), इम्ब्रोइडरी एण्ड गार्मेन्ट एशोसियशन (ऐगा), होमस्टे एशोसियशन अफ नेपाल (होसान) गाँउ पर्यटन विकास मञ्च (भिटोफ),  महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ), पर्यटन व्यवसायी महिला सङ्घ (टेवान), पोखरा उद्योग वाणिज्य सङ्घलगायतका सलगायतका संस्थाको संस्थागत प्रतिनिधित्व रहेको थियो।