क्षयरोग दिवस: अब बिरामीलाई घरमै गएर औषधि खुवाइने



एक लाख ५५ हजार ३७१ मा परीक्षण गर्दा २७ हजार ७४५ क्षयरोगका बिरामी भेटिएको छ भने ४१ हजार नयाँ बिरामी उपचारदेखि बाहिर रहेका छन् ।

शरद शर्मा

 काठमाडौँ, १० चैत (रासस)- सरकारले आगामी आर्थिक वर्षदेखि क्षयरोगमुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्ने भएको छ । राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले क्षयरोगका कार्यक्रमको सूक्ष्म योजना तर्जुमा गरी क्षयरोगमुक्त स्थानीय तह घोषणा कार्यक्रम सञ्चालन गर्न थालेको हो ।

केन्द्रका निर्देशक डा अनुज भट्टचनले क्षयरोगलाई नियन्त्रण र निर्मूलीकरण गरी सबै स्थानीय तह क्षयरोगमुक्त गरिने बताउनुुभयो । यसका लागि सरकारले सुक्ष्म ढङ्गले कार्यक्रम सञ्चालन गरिने उहाँको भनाइ रहेको छ । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले सरकारले सञ्चालन गरेको ‘समृद्ध नेपाल र सुुखी नेपाली अभियान’ अन्तर्गत पहिलो प्राथमिकता स्वास्थ्य क्षेत्र बनाउनुपर्ने बताउनुभयो । उहाँले स्थानीय तहलाई पूर्ण स्वास्थ्ययुक्त बनाउनुपर्ने बताउनुभयो ।

केन्द्रका निर्देशक डा भट्टचनले गत आव २०७६/७७ मा एक लाख ५५ हजार ३७१ मा परीक्षण गर्दा २७ हजार ७४५ क्षयरोगका बिरामी भेटिएकाले उपचार गरिएको जानकारी दिनुभयो । केन्द्रका अनुसार क्षयरोग पत्ता लगाएका अझै ४१ हजार नयाँ बिरामी उपचारदेखि बाहिर रहेका छन् । “ती बिरामीलाई पत्ता लगाई उपचारमा ल्याउन चुनौती रहेको छ”, उहाँले भन्नुभयो ।

प्रत्येक वर्ष मुलुकमा ६९ हजार नयाँ क्षयरोगी थपिने गरेका छन् । प्रति एक लाखमा ९३ क्षयरोगका बिरामी र अहिले एक लाख १७ हजार क्षयरोगका बिरामी रहको छन् । क्षयरोग प्रिभ्यालेन्स सर्वेक्षणअनुसार हाल नेपालमा निजी स्वास्थ्य संस्थामा क्षयरोगको निदान नौ प्रतिशत र उपचार गराउने १५ प्रतिशत रहेको अनुमान गरिएको छ । अहिले चार हजार ९५५ उपचार केन्द्रबाट डट्स उपचार सेवा, ७६५ प्रयोगशाला र ७२ जिनएक्पर्ट केन्द्र एवं दुई वटा राष्ट्रिय प्रेषण प्रयोगशालाबाट क्षयरोगको रोग निदान सेवा प्रदान गरिँदै आइरहेको छ ।

यसैगरी प्रतिरोधी औषधिबाट उपचार गर्ने २२ उपचार केन्द्र, ८१ उपचार उपकेन्द्र, छ डिआर होस्टेल, एक वटा डिआर होम रहेको विश्व क्षयरोग दिवसको अवसरमा आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

औषधि प्रतिरोधी बिरामी बढ्दो

केन्द्रले औषधि प्रतिरोधी क्षयरोग बिरामीको सङ्ख्या बढ्दो क्रममा रहेको जनाएको छ । नेपालमा अहिले वार्षिक दुई हजार २०० औषधि प्रतिरोधी बिरामी थपिने गरेको केन्द्रका निर्देशक डा भट्टचनले जानकारी दिनुभयो । गत आव २०७६÷७७ मा औषधि प्रतिरोेधी क्षयरोगका बिरामी ३८४ नियमित उपचार गराइएको थियो । उहाँले अझै ८३ प्रतिशत औषधि प्रतिरोधी क्षयरोगका बिरामीको उपचारको दायरामा ल्याउन चुनौती रहेको बताउनुभयो ।

सरकारले क्षयरोग स्वास्थ्य समस्या मात्र नभएर सामाजिक समस्या भएकाले यसको रोकथाम र नियन्त्रणका लागि प्रयास गरिरहेको छ । सरकारले क्षयरोगका बिरामीलाई उपचार गर्नका लागि मासिक रु तीन हजारसमेत प्रदान गरिरहेको छ ।

केन्द्रका निर्देशक डा भट्टचनले अब क्षयरोगका बिरामीलाई घरमै औषधि खुवाउने व्यवस्था गरिन थालेको जानकारी दिनुभयो । बिरामीलाई लामो अवधिसम्म उपचार केन्द्रमा आई दैनिक औषधि सेवन गर्नुपर्ने भएकाले बिरामीको सहजताका लागि बिरामीको घरमै औषधि खुवाउने व्यवस्था गरिन थालिएको बताउनुभयो । पाँच वर्षभित्र सबै जिल्ला बिरामीको घरमा गई औषधि खुवाइने योजना रहेको छ ।

क्षयरोग उपचारका लागि अस्पताल

यस्तै सरकारले क्षयरोगका बिरामीलाई उपचार गर्नका लागि केन्द्रीयस्तरको अस्पताल निर्माण गरिरहेको छ । सबै प्रकारका क्षयरोगका बिरामीको उपचारका लागि भक्तपुरको ठिमीमा छाती रोग अस्पताल निर्माण भइरहेको छ । केन्द्रका निर्देशक डा भट्टचनले आव वर्षदेखि अस्पताल सञ्चालनमा आउने जानकारी दिनुभयो । विश्वभर बुधबार क्षयरोग दिवस मनाइँदै छ । नेपालमा पनि ‘सङ्केत समयको क्षयरोग अन्त्यको’ भन्ने मूल नाराका साथ दिवस मनाउन थालिएको हो ।

–––

Comments Box